कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १३ गते)
माघ १३ गते ५ हजार ८ सय १६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ३९ हजार २ सय ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ १३ गते परीक्षण गरिएकामध्ये ३७ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १५ हजार ७ सय ३६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ३७ हजार ४ जना निको भएका छन् । माघ १३ गते ५ हजार २ सय ९२ जना निको भएका छन् भने निको हुनेको दर ८९.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १३ गतेसम्म ११ हजार ६ सय ८७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ १३ गते १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ५ सय ७६ रहेको छ ।
मन्त्रालयका अनुसार माघ १३ गते ६ हजार ७२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ हजार २ सय १ जनालाई कोभिड पुष्टि भएको छ । माघ १३ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख २२ हजार ८ सय ३८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ १३ गतेसम्म १ करोड ३७ लाख ३४ हजार ३ सय ९० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालयका केही कर्मचारीमा कोभिड–१९ सङ्क्रमण भई होम आईसोलेसनमा बसेको र अन्य कर्मचारीमा समेत कोभिडको लक्षण देखिएकोले एक सूचना प्रकाशित गरी शान्ति सुरक्षा र अन्य अत्यावश्यक काम बाहेक माघ १२ गतेदेखि माघ १६ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरेको जनाएको छ ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार गोसाइकुण्ड गाउँपालिका स्याफ्रुबेशीमा कार्यरत अधिकांश कर्मचारीमा कोभिड–१९ पोजेटिभ भेटिएपछि गाउँपालिकाले प्रदान गर्दै आएको स्वास्थ्य शाखा लगायतका सबै सेवा माघ १२ गतेदेखि एक साताका लागि बन्द गरिएको जनाएको छ । कोभिड परीक्षण गरिएका कर्मचारी, जनप्रतिनिधि अधिकांशमा कोरोना भाइरस पोजेटिभ देखियो । चेकजाँच गर्न बाँकी सार्थीहरूको पनि लक्षण मिलेपछि कार्यालयको सबै खाले सेवा बन्द गरिएको गोसाइकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले बताउनुभयो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार लिखु गाउँपालिकामा कार्यरत १० जना कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएको र बाँकी कर्मचारीहरू पनि ज्वरो, खोकीबाट पीडित भएपछि माघ १३ गतेबाट १९ गतेसम्म गाउँपालिकाले कार्यालय नै बन्द गराएको सूचना अधिकारी उपेन्द्र प्याकुरेलले जानकारी दिनुभयो । साथै जिल्ला प्रशासन कार्यालयले पनि कोरोना सङ्क्रमणको कारण राहदानी फाँट बन्द गरेको जनाएको छ । एक जना मात्र न्यायाधीश रहेको जिल्ला अदालतमा न्यायाधीश नै सङ्क्रमित भएछि सेवा ठप्प भएको छ । अदालत नै बन्द नभए पनि न्यायाधीशबाट हुनु पर्ने फैसला, फैसला बदर, रोक्का लगायतका कामहरू ठप्प भएको र कहिलेबाट सुचारु हुने एकिन नभएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ नगरपालिकाका अधिकांश कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले माघ १३ गते देखि माघ २१ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार दुई न्यायाधीश सहित ११ जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि तनहुँ जिल्ला अदालतको सेवा १५ दिनको लागि बन्द गरिएको छ । सङ्क्रमण भएका न्यायाधीशको अनुपस्थितीमा न्याय सम्पादन हुन नसक्ने र अन्य धेरै कर्मचारी पनि सङ्क्रमित भएको हुँदा अदालतको सेवा माघ १४ देखी माघ २८ गते सम्मेकालगि बन्द गरिएको अदालतका शाखा अधिकृत हरिश्चन्द्र गौतमले बताउनुभयो । त्यस्तै ऋषिङ गाउँपालिकाका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गाउँपालिका कार्यालय र सम्पुर्ण वडा कार्यालयहरू माघ १३ देखि माघ १८ गतेसम्म बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदारले जानकारी दिनुभयो ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वत जिल्ला अदालतका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि अदालतबाट प्रवाह हुँदै आएका सेवाहरू संकोचन गरिएको छ । अदालतले माघ १२ गते एक विज्ञप्ति जारी गर्दै माघ १२ देखि माघ १५ गते सम्मका लागि सेवा संकोचन गरेको पर्वत जिल्ला अदालतका श्रेष्तेदार रामबहादुर थापाले जानकारी दिनुभयो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीको मालपोत तथा नापी कार्यालयले प्रदान गर्ने सेवाहरू बन्द गरिएको छ । कार्यालयले माघ १२ गते सूचना जारी गर्दै दुवै कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि माघ माघ १२ गते देखि माघ १७ गतेसम्म सेवा बन्द गरेको जनाएको छ ।
सुर्खेत प्रतिनिधि पूर्णबहादुर खड्काका अनुसार कर्णाली प्रदेशमा कूल जनसङ्ख्याको आधाभन्दा बढी जनसङ्ख्याले कोभिड बिरूद्धको खोप अझै पाउन सकेका छैनन् । कर्णालीमा हालसम्म ४४ दशमलव ३ प्रतिशतले दुई डोज खोप लगाएका र ५५ दशमलव ९७ प्रतिशत जनसङ्ख्याले अझै खोप पाउन नसकेको पाइएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कुल १४ लाख ५९ हजार दुई सय १३ डोज खोप लगाइएको छ । लक्षित समूहका ५९ दशमलव २ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने बाँकी ४४ दशमलव ३ प्रतिशतले दुवै डोज खोप लगाएका हुन् । स्वास्थ्य सेवा निर्देशनालयले खोपको मात्रा बढाउँदै लिएको दावि गरेको छ । प्राप्त खोप नियमित रूपमा लगाइरहेको भन्दै निर्देशक डा. रविन खड्काले कर्णाली प्रदेशका नागरिक सबैलाई खोप लगाइने बताउनुभयो । ‘खोप अब सबैलाई अनिवार्य जस्तै नै हो’ उहाँले भन्नुभयो, ‘ढिलो चाँडो कर्णालीका सबै नागरिकले खोप लगाउन पाउनुहुन्छ ।’
जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको भन्दै भेरी नगरपालिकाले सूचना जारी गर्दै ५ दिनका लागि गत माघ १० र १२ गते भेरी नगरपालिकाका ५३ जना कर्मचारीहरूमा एन्टीजेन परीक्षण गर्दा २१ जना कर्मचारीमा कोभिड पोजेटिभ देखिएको थियो । कर्मचारीमा कोभिड देखिएपछि नगरपालिकाले सूचनाजारी गर्दै माघ १४ गते देखी माघ १८ गते ५ दिनसम्म अत्यावश्यक स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा र शव वाहन सेवा बाहेक अन्य सम्पूर्ण दैनिक, प्रशासनिक सेवा बन्द हुने जानकारी गराएको छ । त्यस्तै आयूर्वेद स्वास्थ्य केन्द्र जाजरकोटमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोभिड पुष्टी भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिनुभयो । केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोभिड सङ्क्रमण हुन सक्ने भएकोले माघ १२ गते देखि अर्काे सूचना नआउन्जेलसम्म सेवा प्रवाह बन्द गरिएको कठायतको भनाइ छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट, एक जनाको मृत्यु, आरोपित गिरफ्तार
जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय रेशमबहादुर खड्काको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यू भएको…
वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप
राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४०…
हत्या घटनाका आरोपित गिरफ्तार
खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई गिरफ्तार गरेको छ । हत्याको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका–५ धिम्लेका २७ वर्षीय टङ्कराज राई(रिदम) लाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ ८ गते बलात्कार गरी…
पतिको खुकुरी प्रहारबाट पत्नी घाइते
धनकुटा नगरपालिका–१ हिलेकी ३५ वर्षीया सरस्वतीदेवी पण्डितलाई ३८ वर्षीय पति रञ्जित पण्डितले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । पीडितलाई मादक पदार्थ सेवन गरेका आरोपितले जेठ ८ बिहान…