कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १० गते)
माघ १० गते ८ हजार ५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख १८ हजार ४ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ १० गते परीक्षण गरिएकामध्ये ४८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १६ हजार ६ सय ५४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख २४ हजार २ सय ३९ जना निको भएका छन् । माघ १० गते २ हजार ५ सय ४० जना निको भएका छन् भने निको हुनेको दर ८९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १० गतेसम्म ११ हजार ६ सय ५९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ १० गते चार जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार ५ सय ५० रहेको छ ।
मन्त्रालयका अनुसार माघ १० गते ४ हजार ५ सय ४७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ हजार २ सय ६५ जनालाई कोभिड पुष्टि भएको छ । माघ १० गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख १५ हजार १ सय ७८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ १० गतेसम्म १ करोड २९ लाख ६६ हजार ३ सय ६२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्ला अस्पताल सङ्खुवासभामा कार्यरत आठ जना स्वास्थ्यकर्मीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि माघ १० गतेदेखि १५ गते सम्म अस्पतालको इमरजेन्सी बाहेकका अन्य स्वास्थ्य सेवाहरू बन्द गरिएको छ । कोभिड सङ्क्रमित बढ्दै गएपछि आइसोलेशनमा राख्नु पर्ने बिरामीहरूलाई मध्यनजर गर्दै इमरजेन्सीबाहेकका स्वास्थ्य सेवा बन्द गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो । जिल्ला कारागार खाँदबारीले कोभिड सङ्क्रमण जोखिम बढ्दै गएपछि कैदीबन्दी भेटघाटलाई माघ १५ गते सम्म बन्द गरेको जिल्ला कारागारका जेलर विनोद अधिकारीले बताउनु भएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार अर्जुनधारा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ १० गतेदेखि १४ गतेसम्म बन्द गरिएको छ । नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी गराएको छ । नगर प्रमुख हरिकुमार रानाले हस्ताक्षर गरेको सूचनामा शनिश्चरे अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गत नियमित औषधि सेवन गर्ने तथा पाँच वर्ष मुनिका बालबालिकाका लागि मात्र बहिरङ्ग सेवा नियमित रूपमा सञ्चालन गर्ने उल्लेख छ ।नगरपालिका, वडा कार्यालय र विषयगत सेवा केन्द्रहरूमा न्यूनतम सेवा प्रदायक उपस्थित भइ सेवा प्रवाह गर्ने, अत्यावश्यकबाहेकका अन्य सेवाहरू माघ १४ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले माघ १० गतेदेखि अत्यावश्यकीय बाहेकको सेवा बन्द गरेको छ । प्रशासन कार्यालयले माघ १५ गतेसम्म सेवा प्रवाह बन्द गरिएको सूचना जारी गरेको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार धार्चे गाउँपालिकामा कार्यरत तीन जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले माघ १० गतेबाट माघ १४ गतेसम्म अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ सङक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले माघ १० गते सूचना जारी गर्दै माघ ११ गतेदेखि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जानकारी दिनुभएको छ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार व्यास नगरपालिकाका मेयर र उपमेयर सहित केही कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले माघ १० गते विज्ञप्ती प्रकाशत गरी नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा माघ ११ गतेदेखि माघ १४ गतेसम्म बन्द गरिएको जानकारी दिनुभएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतको राष्ट्रिय परिचय पत्र वितरण तथा दर्ता सेवा शाखामा कार्यरत कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले सूचना जारी गर्दै उक्त शाखाका कार्यहरू माघ ११ गतेदेखि माघ १५ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।
गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार तीन जना कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत माघ ११ गतेबाट कार्यालयका अत्यावश्यक बाहेका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार मल्लरानी गाँउपालिका–४ मा रहेको खलङ्गा प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने आकस्मिकबाहेकका सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यारत ६ जना स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि माघ १० गते सूचना जारी गरी अर्को सूचना नआउँदासम्म प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गर्ने आकस्मिकबाहेकका सेवा स्थगित गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख सि.अहेव केशवप्रसाद श्रेष्ठले बताउनु भयो ।
रुपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कोभिड सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारलाई चुस्त बनाउन आग्रह गर्नु भएको छ । उहाँले मुख्यमन्त्री कुलप्रसाद केसीसहित सभामुख, प्रदेश सरकारका मन्त्रीहरू, स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालय बुटवलमा बोलाएर अहिलेको अवस्थाको बारेमा जानकारी लिनुभएको छ । प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि लुम्बिनी प्रदेशले अभियान नै सञ्चालन गरेर अरु प्रदेशले पनि सिक्ने गरी काम गर्न सुझाव दिँदै पर्याप्त मात्रामा पिसिआर परीक्षण नभएको, सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेण्टाइन सञ्चालन हुन नसकेको मिडियाबाट जानकारी पाएको बताउँदै तत्काल तीनै तहका सरकार मिलेर कोभिड नियन्त्रण तथा बिरामीको उपचारमा कमी हुन नदिन सुझाव दिनु भयो ।
सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको बताउँदै प्रदेश प्रमुख शेरचनले विकास निर्माणका कामहरु स्थगित गरेर भएपनि नागरिकको जीवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गर्नु भयो । सो अवसरका मुख्यमन्त्री कूलप्रसाद केसीले कोभिड सङ्क्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीहरूको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिइएको बताउनु भयो ।
लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकाश देवकोटाले अहिले प्रदेशमा कोभिड परीक्षण भएकामध्ये ६० प्रतिशतमा सङ्क्रमण देखिने गरेको जानकारी गराउँदै नँया भेरियन्ट आएपछि प्रदेशमा ११ जना सङ्क्रमितको मृत्यु भएको बताउनु भयो । अहिलेसम्म प्रदेशमा लक्षित जनसङ्ख्यामध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको डा. देवकोटाले बताउनु भयो ।
सुर्खेत प्रतिनिधि पूर्णबहादुर खड्काका अनुसार कर्णाली प्रदेश अस्पतालका ६१ जना स्वास्थ्यकर्मी सङ्क्रमित बनेपछि सेवा प्रवाहमा कठिनाइ भएको छ । जनशक्ति कम भएको अस्पतालमा एक सय ३९ बेडको अस्पताल र कोभिड विशेष अस्पताल सञ्चालन गरिरहेको भन्दै अस्पतालका निर्देशक डा.डम्बर खड्काले अस्पतालका विशेषज्ञ चिकित्सक, स्टाफ नर्स, अन्य स्वास्थ्यकर्मी र कार्यालय सहयोगी गरी माघ ९ गतेसम्म ६१ जना कर्मचारीमा सङ्क्रमण देखिएपछि सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । दैनिक ७० देखि एक सयजना बिरामी आइरहेको अवस्थामा भएको जनशक्ति पनि सङ्क्रमित बन्दा सेवा प्रवाहमा थप बाधा नपुगोस् भनेर प्रदेश सरकारसँग कर्मचारी माग गरिएको डा.खड्काको भनाइ छ । हाल अस्पतालमा कोभिडका बिरामीको लागि एक सय ३९ ओटा अक्सिजन सहितको बेड, २० वटा आइसीयू बेड र सातवटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको निर्देशक खड्काले जानकारी दिनुभयो ।
हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार जिल्ला अस्पतालका स्वाथ्यकर्मीलाई कोभिड सङ्क्रण भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द हुँदा सेवाग्राही प्रभावित भएका छन् । माघ ७ गते आठ जना स्वास्थ्यकर्मीलाई कोभिड पोजेटिभ देखिएपछि माघ ९ गतेदेखि जिल्ला अस्पताल हुम्लाको इमरजेन्सी वार्ड बाहेक अन्य ओपिडि, ल्याप, भिडियो एक्सरे लगायतका सम्पूर्ण सेवा बन्द गर्दा विरामीले समस्या भोग्नु परेको छ । स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिन थालेपछि जिल्लामा सङ्क्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर माघ ९ गतेदेखि अर्को सूचना नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालका प्रमुख प्रेम सिंहले बताउनु भयो ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कारागार प्रशासनले कोभिड सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट गर्न बन्द गरेको छ । कारागार जुम्लाका जेलर विष्णुबहादुर महतले कारागार व्यवस्थापन विभागको परिपत्र अनुसार कारागारदेखि बाहिर कम्तीमा १५ मिटर टाढाबाट मात्रै कैदीवन्दी र उनीहरूको आफन्तसँग भेटघाटसहित कुराकानी गर्ने व्यवस्था गरिएको छ । १६ जना कैदीवन्दीलाई ज्वरो आउने, टाउको, जीउ दुख्ने लक्षण देखिएकोले उनीहरूलाई अहिले औषधि चलाइरहेको कारागारका अहेव महेश महतले बताउनु भयो । ‘अहिले जुम्लामा साईन्याक्स र राइन्याक्स अभाव भएकोले बाहिरबाट माग गरेका छौँ, लक्षण देखिएका कैदीवन्दीलाई औषधि चलाएकोले कोभिड सङ्क्रमण परीक्षण गर्नु परेको छैन ’ उहाँले भन्नुभयो । पहिलो र दोस्रो कोभिड सङ्मणको लहरमा जुम्ला कारागारका कैदीवन्दी प्रभावित भएका थिए । दोस्रो कोरोना सङ्क्रमणको लहरमा १४ जना सङ्क्रमित भएका मध्ये एक जनाको मृत्यु भएको थियो ।
कैलाली प्रतिनिधि मैनामोति चौधरीका अनुसार गोदावरी नगरपालिकामा कार्यरत कर्मचारीमा कोभिड—१९ सङ्क्रमण देखिएपछि माघ ९ गतेदेखि माघ १५ गतेसम्मका लागि नगरपलिकाबाट प्रवाह गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनु भयो । यसैगरी जिल्ला प्रशासन कार्यालयमा कार्यरत १५ जना कर्मचारीहरुमा कोभिड सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ ९ गतेदेखि अर्को सूचना नआउँदासम्म शान्तिसुरक्षा र मुद्दा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको र अत्यावश्यक सेवा लिन आउनेहरुको हकमा स्वास्थ्य मापदण्डको पूर्णपालना गरिएको हुनु पर्ने र कोभिड—१९ विरुद्धको खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्ला अस्पताल, दार्चुलामा कार्यरत तीन जना स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेदेखि अस्पतालको इमरजेन्सी बाहेकका अन्य स्वास्थ्य सेवाहरु बन्द गरिएको छ । जिल्ला अस्पताल, दार्चुलाका डाक्टर आर्दश लिम्बुका अनुसार कोभिड सङ्क्रमित बढ्दै गएपछि आइसोलेसनमा राख्नु पर्ने बिरामीहरुलाई मध्यनजर गर्दै इमरजेन्सी बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ । अहिले दुई जना कोभिड सङ्क्रमित बिरामीको जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र कोभिड सङ्क्रमितहरुको आइसोलेसन र ओपीडी सेवा परिसर नजिकै राखेर उपचार भइरहेकोले कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा बन्द गरिएको डाक्टर लिम्बुले बताउनु भयो । जिल्लामा कोभिडका सक्रिय सङ्क्रमित ७३ जना रहेका छन् । कोभिडको तेस्रो लहर आएयता जिल्लामा ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १४ जनालाई निको भएका छ । यसैगरी ओमिक्रोनको जोखिम बढ्दै गएपछि उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको जिल्ला कारागारका जेलर विरेन्द्रसिह धामीले जानकारी दिनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय
२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बरहथवा नगरपालिका–३ का ३४ वर्षीय नरेश महतो नुनीयालाई जिल्ला अदालत सर्लाहीले जेठ १८ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत…
पत्नी हत्या कसुरमा १५ वर्ष कैदको फैसला
बबई गाउँपालिका–१ की ३४ वर्षीया खुमी बोटेको हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मृतकका पति ४० वर्षीय लालबहादुर बोटेलाई १५ वर्ष कैद सजायको फैसला गरेको छ । बोटेले पत्नीलाई…
बलात्कार घटनाको कसुरमा दश वर्ष कैद सजाय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साहलाई जेठ १९ गते १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले…
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…