कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)

माघ ८ गते ८ हजार २ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ४ हजार ७ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ ८ गते परीक्षण गरिएकामध्ये ५७ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १४ हजार ४ सय ६२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख २० हजार २ सय ८३ जना निको भएका छन् । माघ ८ गते ७ सय ८ जना निको भएका छन् भने निको हुनेको दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ८ गतेसम्म ११ हजार ६ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ ८ गते १६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८ सय ६२ रहेको छ ।

Corona Infographics 2078-10-08
मन्त्रालयका अनुसार माघ ८ गते ५ हजार ७ सय २५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ हजार ४२ जनालाई कोभिड पुष्टि भएको छ । माघ ८ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख १२ हजार ४९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ ८ गतेसम्म १ करोड २८ लाख ७० हजार ८ सय ६७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नियमित सेवा स्थगन गरेको छ भने मालफोत कार्यालयले आलोपालो प्रणाली सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयले माघ ८ गते सूचना प्रकाशित गर्दै माघ ९ गतेदेखी अर्को सूचना जारी नभएसम्मको लागि कार्यालयबाट सम्पादन हुने शान्ति सुरक्षा लगायतका अत्यावश्यक कार्य बाहेक अन्य सेवाहरू स्थगन गरिएको जानकारी दिएको हो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण तीब्र रूपमा फैलिएको, प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरूमा पनि सङ्क्रमणसँग मिल्दाजुदा लक्षणहरू देखा पर्नुका साथै कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड भई कार्यालयबाटै कोभिण सङ्क्रमण फैलिन सक्ने जोखिमका कारण अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको जारी गरिएको सूचनामा उल्लेख छ ।

यसैगरी जिल्ला मालपोत कार्यालयले सेवाग्राहीका लागि स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गर्दै विभिन्न पालिकाको काम गर्न माघ ९ गतेदेखि लागुहुने गरी आलोपालो प्रणाली लागु गरेको छ । कोभिड–१९ ओमिक्रोनको महामारी फैलिएको र कर्मचारी तथा सेवाग्राहीलाई समेत सुरक्षित राख्नका लागि आलोपालो प्रणाली लागु गरेका जिल्ला मालफोत कार्यालयबाट जारी सूचनान जनाइएको छ । जसमा आइतबार निलकण्ठ नगरपालिका, सोमबार धुनिबेसी नगरपालिका, मङ्गलबार ज्वालामूखी र सिद्धलेक गाउँपालिका, बुधबार बेनिघाटरोराङ र गजुरी गाउँपालिका, बिहिबार गल्छी र थाक्रे गाउँपालिका, शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिका तथा रुबीभ्याली, खनियाबास, गंगाजमुना र नेत्रावती डबजोङ गाउँपालिकाको लागि हरेक दिन सेवाग्राहीको काम सञ्चालन हुने उल्लेख छ । कार्यालयमा भिडभाड भएकोले भूसेवा कार्यालयबाट काम गरिएका सेवाग्राहीलाई मात्र कार्यालय प्रवेश गर्न दिइने जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछिे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले सूचना प्रकाशन गरी माघ ९ गतेदेखि माघ १२ गतेसम्म गाउँपालिकाले प्रदान गर्ने अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरू बन्द गरिएको जानकारी दिनुभएको छ ।

सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार अदालतका न्यायाधीशसहित अन्य कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अदालतलका अति आवश्यक मुद्दा बाहेक अन्य सेवा बन्द भएको छ । अदालतले माघ ५ गते एक सूचना जारी गर्दै हदम्याद सकिने फिराद पत्र, उजुरीपत्र, प्रतिउत्तर पत्र तथा अभियोग दर्ता, प्रतिवादीको बयान तथा थुनछेक आदेश, पक्राउ पुर्जी जारी तथा जरूरी पक्राउ पुर्जी स्वीकृति, हिरासत निगरानी कक्षमा राख्ने अनुमतिको आदेश दिने लगायतका सेवामात्र प्रवाह हुने कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।  अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीका अनुसार अवस्था नियन्त्रणमा नआएसम्म अर्को निर्णय गरी थप सेवा सञ्चालन, विस्तार वा अवधि थप गर्नसमेत सकिने उल्लेख गरिएको छ ।

जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार सदरमुकाम खलङ्गामा सञ्चालित चारओटा मेडिकलको माघ ७ गते अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीको संयोजकत्वमा चारओटा मेडिकलको अनुगमन गरिएको हो । कोभिड–१९को तेस्रो लहर फैलिने क्रम व्यापक रूपमा बढीरहेको अस्थामा जिल्लामा अत्यावश्यक औषधि अभाव तथा औषधिमा कालाबजारी नहोस् भन्ने उद्देश्यले गरिएको अनुगमनका क्रममा मेडिकलहरूमा सिटामोलको अभाव देखिएको केसीले बताउनुभयो । उहाँका अनुसार चारओटा मेडिकलमा अनुगमन गर्दा तीन हजार तीन सय सिटामोल स्टक रहेको पाइएको छ । ‘यो स्टक ज्यादै कम भएकोले मेडिकल सञ्चालकहरूलाई औषधि अभाव हुन नदिन सुझाव दिएका छौं, र औषधी ढुवानीमा समस्या भए आफूहरूले पनि सहजिकरण गर्ने पनि सहायक प्रजिअ केसीले बताउनुभयो ।


अनलाइन डेस्क