कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ८ हजार ८ सय १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ९६ हजार ५ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ ७ गते परीक्षण गरिएकामध्ये ४७ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १८ हजार ६ सय १८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १९ हजार ५ सय ७५ जना निको भएका छन् । माघ ७ गते ७ सय ६६ जना निको भएका छन् भने निको हुनेको दर ९१.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ७ गतेसम्म ११ हजार ६ सय ३५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ ७ गते तीन जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३ सय ७४ रहेको छ ।
मन्त्रालयका अनुसार माघ ७ गते ४ हजार ४ सय ७४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ हजार ८ सय ८८ जनालाई कोभिड पुष्टि भएको छ । माघ ७ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख १० हजार ७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ ७ गतेसम्म १ करोड २७ लाख ४६ हजार ५ सय ८० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राष्ट्रिय वाणिज्य बैङ्क राजविराज शाखामा कार्यरत १४ जना कर्मचारीमा माघ ६ गते कोभिड सङ्क्रमण पुष्टि भएपछि शाखाबाट उपलब्ध सबै सेवा बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षण गराएका १६ जना कर्मचारीमध्ये १४ जनामा सङ्क्रमण देखिएपछि बैङ्क बन्द गरिएको हो । कर्मचारीहरूमा सङ्क्रमण देखिएपछि शाखाले माघ ६ गते आकस्मिक रूपमा सूचना टाँस गरी माघ १० गतेसम्मका लागि सम्पूर्ण कारोबार बन्द गरेको जनाएको हो ।
रामेछाप प्रतिनिधि नबराज पथिकका अनुासर उमाकुण्ड गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले ०७८ माघ ७ गते एक सूचना जारी गरी सो गाउँपालिकामा कोभिड सङ्क्रमण तीव्र रूपमा फैलिएकोले सेवा बन्द गरिएको जनाएको छ । गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र मातहतको कार्यालयमा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण पुष्टि भएकाले गाउँ कार्यपालिकाको कार्यालय र मातहतको कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार खत्रीले जारी गर्नुभएको सूचना उल्लेख छ । गाउँपालिकाले सर्वसाधारणलाई दिने सेवा माघ १४ गतेसम्मको लागि बन्द गरिएको कार्यालयले जनाउको छ । जसका कारण जन्मदर्ता, मृत्यु दर्ता, नागरिकताको सिफारिस लिने, जग्गा किनेबेचको सिफारिस लिने लगायतका सेवाग्राही प्रभावित भएका छन् । पालिकाले प्रवाह गर्ने स्वास्थ्य लगायतका सेवा भने सुचारु हुने कार्यालयले जनाएको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार भिमाद नगरपालिका–६ मा रहेको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २१ जना स्वास्थ्यकर्मीमध्ये डाक्टर सहित १५ जना भन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना नआउँदासम्म स्वास्थ्य केन्द्रबाट प्रदान गरिने आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरिएको भिमाद नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनुराज बरालले जानकारी दिनुभयो ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वत अस्पतालमा कार्यरत चार जना चिकित्सक सहित १६ जना स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अस्पतालले माघ ७ गते सूचना प्रकाशन गर्दै अस्पतालको आकस्मिक सेवा र फिभर क्लिनिक बाहेक सबै सेवा माघ ९ गतेदेखि माघ १४ गतेसम्म बन्द गरिएको पर्वत अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डिबी क्षेत्रीले जानकारी दिनुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार बेनी अस्पतालमा कार्यरत १७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेदेखि माघ १४ गतेसम्म अस्पतालको ओपिडि सेवा बन्द हुने बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जितेन्द्र कँडेलले बताउनुभयो । ओपिडि सेवा बन्द गरे पनि फिभर क्लिनिकबाट बिरामीलाई सेवा दिन प्रयास गरिने उहाँले जानकारी दिनुभयो ।
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लाका कोभड सङ्क्रमण दर दिन प्रतिदिन बढ्दै गइरहेको भएपनि कोभिड सङ्क्रमितहरुले सुरक्षाका मापदण्डहरु पालन नगरी खुला रुपमा बजारमा घुम्ने गरेका कारण कोभिड सङ्क्रमणको जोखिम थप उच्च रहेको छ । कोभिड पोजेटिभ भएका धेरै जसो सङ्क्रमितहरु बजारमा घुम्ने गरेका कारण जिल्ला प्रशासनले कडाई गर्नु पर्ने देखिएको नागरिक समाजका अगुवा लक्ष्मीराज पाध्यायले बताउनु भयो । उहाँले बजारमा कोभिड सङ्क्रमित भएका व्यक्तिहरु घुमिरहेको भएपनि प्रशासनले त्यसको कुनै वास्ता नगरेका कारण सङ्क्रमणको जोखिम थप जटिल हुने बताउनु भयो । प्रमुख जिल्ला अधिकार उपेन्द्र पौडेलले कोभिड सङ्क्रमति व्यक्तिहरु बजारमा घुम्ने गरेको खबर प्राप्त नभएको तर सङ्क्रमितहरुले सुरक्षाको मापदण्ड पालन नगरेको पाइएमा कार्वाही गरिने बताउनु भयोे । जिल्ला अस्पताल, बाजुराको तथ्याङ्कअनुसार एक हप्तामा १ सय ४९ जनाको पीसिआर परीक्षण गर्दा ३६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल, बाजुराका कोभिड सूचना अधिकारी चुडामणी पन्तले बताउनु भयो । जिल्लाका मुख्य नाकाहरुमा चेकजाँचमा कडाई नहुँदा जिल्लामा सङ्क्रमण दर बढ्दै गएको हुन सक्ने जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म जिल्लाभरी ६३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
डडेल्धुरा जिल्ला प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार जिल्लामा कोभिड सङ्क्रमण बढ्दै गइरहेका र जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा पनि कोभिड सङ्क्रमण पुष्टि भएकोले कार्यालयबाट प्रवाह गरिदै आइएका सेवाहरु अर्को सूचना जारी नहुँन्जेलसम्मका लागि माघ ७ गतेदेखि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरीकता, नागरीकता प्रतिलीपी, संघसस्था दर्ता, नाबालक परीचय–पत्र, राष्ट्रिय परीचय–पत्र र राहादानीलगायतका सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…
बलात्कार अभियोगीलाई १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।…
बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको…