कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ६ गते)
माघ ६ गते १० हजार ५२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ८७ हजार ७ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ ६ गते परीक्षण गरिएकामध्ये ४८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २१ हजार ७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १८ हजार ८ सय ९ जना निको भएका छन् । माघ ६ गते ६ सय ४९ जना निको भएका छन् भने निको हुनेको दर ९२.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ६ गतेसम्म ११ हजार ६ सय ३२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ ६ गते चार जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३ सय २८ रहेको छ ।
मन्त्रालयका अनुसार माघ ६ गते ६ हजार ४ सय ९० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ हजार २ सय ८६ जनालाई कोभिड पुष्टि भएको छ । माघ ६ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ८ हजार १ सय १९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ ६ गतेसम्म १ करोड २५ लाख ७९ हजार २ सय ४२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
इन्सेक प्रदेश १‚ कार्यालय विराटनगरका अनुसार प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३ सय ९७ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ४५ र ५ सय ६७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३ सय ७७ जना‚ सुनसरीमा २ सय ५४ जना‚ झापामा १ सय ३८ जना‚ धनकुटामा १३ जना‚ उदयपुरमा पाँच जना‚ तेहृथुम र इलाममा दुई–दुई जना‚ ओखलढुङ्गा‚ पाँचथर‚ भोजपुर र खोटाङमा एक–एक जना र प्रदेश १ बाहिरका ५० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेश १ मा माघ ६ गते ४८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण एक जना महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय १५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार चिचिला गाउँपालिकाले विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि विद्यालय सञ्चालनमा रोक लगाइएको छ । गाउँपालिकाले माघ १२ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सूचना सार्वजनिक गरेको छ । चिचिला गाउँपालिका–३ स्थित जालपा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीमा सङ्क्रमण पुष्टी भएपछि गाउँपालिकाका भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताउनु भयो । जालपा माध्यमिक विद्यालयका १३ जना शिक्षक तथा विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएको अध्यक्ष शेर्पाले बताउनु भयो । चैनपुर नगरपालिकाले कोभिड सङ्क्रमण बढेको भन्दै नगरका सबै विद्यालय पुस ३० गते देखि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार प्रशासन कार्यालयले माघ ६ गते राति १२ बजेदेखि लागू हुने गरी कोभिड–१९ सँग सम्बन्धीत ३० बुँदे आदेश जारी गरेको छ । आदेशमा माघ मसान्तसम्मका लागि आमसभा‚ जुलुस‚ भेला जस्ता क्रियाकलापमा रोक लगाएको छ । माघ १६ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खाप कार्ड अनिवार्य गरिएको आदेशमा उल्लेख छ । भुमि सुधार तथा मालपोत कार्यालयले कोभिड–१९ को जोखिम बढेकाले माघ ६ गतेदेखि माघ १२ गतेसम्म सेवा स्थगन गरिएको सूचना सार्वजनिक गरेको छ । भद्रपुर नगरपालिका–९ ले कार्यालयमा माघ ६ गतेदेखि माघ ८ गतेसम्म सेवा स्थगन गरिएको जानकारी गराएको छ ।
सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार जिल्लामा माघ ६ गतेदेखि ‘तपाईको मास्क खै’ अभियानको सुरूआत गरिएको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालयले ‘तपाईको मास्क खै’ अभियान सुरू गरेको हो ।
भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार जिल्ला प्रशासन कार्यालयले माघ ६ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ । कार्यालयको शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा वाहेक सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनु भयो । कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेसनमा बस्नु परेपछि प्रशासनले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको उहाँले बताउनु भयो । अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिर्वाय रूपमा मास्क लगाएर, स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी साथमा खोप कार्ड वा मोवाइलमा कार्डको फोटो लिएर आउन पनि जिल्ला प्रशासन कार्यालयद्वारा माघ ५ गते जारी सूचनामा आग्रह गरिएको छ ।
“जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दै आएको शान्ति सुरक्षा, मुद्दासम्बन्धी अत्यावश्यक सेवा बाहेक अन्य सेवा अहिलेलाई स्थगित गरेका छौँ,” प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो, “कर्मचारी तथा सेवाग्राहीको नियमित र प्रत्यक्ष सम्पर्क हुने नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटका सेवा अर्को सूचना जारी नभएसम्म स्थगित गरेका छौँ ।” उहाँले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गर्न, अनावश्यक रुपमा घरबाहिर ननिस्कन, अनिवार्य मास्कको प्रयोगगर्न भिडभाड नगर्न सबैमा आह्वान गर्नु भएको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि पालुङटार नगरपालिका–२ को वडा कार्यालयको सेवा बन्द गरिएको छ । वडा कार्यालयका एक कर्मचारीमा कोभिड–१९ सङ्क्रमण भएपछि माघ ७ गतेबाट माघ १२ गतेसम्म अति आवश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको वडा अध्यक्ष लोकनाथ वाग्लेले जानकार दिनुभयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार नगरपालिकाका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि शुक्लागण्डकी नगरपालिकाको सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ । नगरपालिकाले माघ ६ गते सूचना प्रकाशन गरी नगरपालिकाका १६ जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हुँदा नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु अर्को निर्णय नहुँदासम्म बन्द गरिने प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले बताउनुभयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्ला प्रशासन कार्यालय बागलुङले कोभिड–१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारको लागि अन्तरजिल्ला, जिल्ला प्रवेश गर्ने नाकाहरुमा सहायता कक्षलाई थप कडाईका साथ सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालले माघ ५ गते विज्ञप्ती जारी गर्दै जिल्लाको प्रवेशद्वार मालढुङ्गा, जैमिनी नगरपालिका–८ छिस्ती, निसीखोला गाउँपालिका–८ भलकोट, बडिगाड गाउँपालिका–२ खर्वाङ र बरेङ गाउँपालिका–२ स्थित सहायता कक्षलाई थप व्यवस्थित गरी कडाईका साथ सञ्चालनमा ल्याउने बताउनुभएको हो ।
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी, चिकित्सक र स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयले आकस्मिक बाहेकका नियमित सेवाहरु माघ ४ गतेदेखि एक हप्ताका लागि बन्द गरेका छन् । ती कार्यालयमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीबाट अन्य व्यक्तिमा सङ्क्रमण फैलनबाट रोक्नका लागि अस्पताल र कार्यालयका अत्यावश्यक सेवा बाहेक सबै सेवा माघ १० गतेसम्मका लागि बन्द गरिएका हुन् । जिल्ला अस्पतालमा दुई जना डाक्टर, ६ जना स्वास्थ्यकर्मी र एक कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि अस्पतालका आकस्मिक, सुत्केरी नियमित सेवा एक हप्ताका लागि बन्द गरिएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर प्रेमप्रसाद ढुङ्गानाले बताउनु भयो । यसैगरी प्रमुख जिल्ला अधिकारीसहित प्रशासन कार्यालयमा कार्यरत पाँच जनामा कोभिड सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र शान्तिसुरक्षा बाहेकका काम माघ १० गतेसम्मका लागि बन्द गरिएको कार्यालयका नायब सुब्बा महादन्नद जोशीले बताउनु भयो । जिल्ला निर्वाचन कार्यालयका कर्मचारीमा समेत कोभिड सङ्क्रमण पुष्टि भएकोले सूचना जारी गरेर अत्यावश्यक बाहेकका सेवा १० गतेसम्मका लागि बन्द गरिएको कार्यालयका सूचना अधिकारी गजेन्द्रप्रकास थारुले जानकारी दिनुभयो । कोभिड सङ्क्रमण पुष्टि भएका जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीहरुलाई होम आइसोलेसनमा राखेर उपचार भइरहेको छ । जिल्लामा हालसम्म ४ हजार ४ सय ५२ जनामा कोभिड सङ्क्रमण पुष्टि भइसकेको, २६ जनाको मृत्यु भएको र २६ जना कोभिडका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन मिनबहादुर कुँवरले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार अभियोगीलाई १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।…
बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको…
बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१८ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा नरहा गाउपालिका–४ का २९ वर्षीय देवरंजन सदा, २६ वर्षीय रामगेन सदा र २१ वर्षीय रामकिसुन सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १६ गते…