कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ५ गते)
माघ ५ गते ९ हजार ५ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ७७ हजार ७ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ ५ गते परीक्षण गरिएकामध्ये ५३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १८ हजार ७८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १८ हजार १ सय ६० जना निको भएका छन् । माघ ५ गते ६ सय १३ जना निको भएका छन् भने निको हुनेको दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ५ गतेसम्म ११ हजार ६ सय २८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ ५ गते चार जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ हजार ९ सय २९ रहेको छ ।
मन्त्रालयका अनुसार माघ ५ गते ५ हजार ३ सय ३१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ हजार ८ सय ५० जनालाई कोभिड पुष्टि भएको छ । माघ ५ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ५ हजार ८ सय ३३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ ५ गतेसम्म १ करोड २४ लाख ६६ हजार ९२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
इन्सेक प्रदेश १‚ कार्यालय विराटनगरका अनुसार कोरोना भाइरसको सङ्क्रमण बढेसँगै प्रदेश १‚ मा उपचारका लागि अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो पाँचदिनमा उपचारका लागि अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या दोब्दर भन्दा बढीले वृद्धि भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस ३० गते अस्पतालमा भएको सङ्ख्याको तुलनामा माघ ५ गते अस्पतालमा भर्ना भएर उपचार गराउनेको सङ्ख्या दोब्बर बढीले वृद्धि भएको छ । पुस ३० गते प्रदेश १ का विभिन्न अस्पताहरूमा २३ जना सङ्क्रमितहरू उपचारका लागि भर्ना भएकामा माघ ५ गते त्यो सङ्ख्या बढेर ५६ जना पुगेको छ । अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढेसँगै आइसीयू‚ एचडीयू र भेण्टिलेटरमा राखेर उपचार गराउने सङ्क्रमितहरूको सङ्ख्यापनि बढेको पाइएको छ । पुस ३० गते सार्वजनिक भएको विवरणमा उपचाररत २३ जनामध्ये भेण्टिलेटरमा चार जना थिए । माघ ५ गते आठ जनालाई भेण्टिलेटरमा राखेर उपचार गरिरहेको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । पाँच दिनको अवधिमा भेण्टिलेरमा राखेर उपचार गर्नुपर्ने बिरामी दोब्बरले बढेको पाइएको हो ।
प्रदेश १ का विभिन्न १० ओटा अस्पतालहरूमा कोभिडका बिरामी भर्ना भएर उपचार गराइरहेको पाइएको छ । सबैभन्दा धेरै विराटनगरस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा १९ जना उपचाररत छन् । विराट नर्सिङमा १८ जनाको उपचार एचडीयूमा राखेर भइरहेको छ । एक जनालाई आइसीयूमा राखिएको छ । प्रदेश सरकारले स्थापना गरेको कोसी कोभिड अस्पतालमा १३ जनाको उपचार भइरहेको छ । उपचाररत १३ जनामध्ये १२ जना आइसीयूमा र एक जना भेण्टिलेटरमा छन् । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनाको उपचार भइरहेको छ । उपचाररत ११ जनामध्ये आठ जना भेण्टिलेरमा छन् । चार जना एचडीयूमा छन् । झापाको मेची अस्पताल‚ बिर्तामोडको बि एण्ड सी अस्पताल‚ बिर्तासिटी अस्पताल र आम्दा अस्पतालमा दुई/दुई जनाका दरले सङ्क्रमणमा परेका बिरामी उपचारका लागि भर्ना भएका छन् । सोलुखुम्बुमा तीन जना‚ ओखलढुङ्गा अस्पतालमा एक जना र उदयपुर अस्पतालमा एक जना गरी माघ ५ गतेसम्म प्रदेश १ मा ५६ जना बिरामी अस्पताल भर्ना भएर उपचार गराइरहेको पाइएको छ ।
पछिल्लो पाँच दिनमा प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ । पुस ३० गते प्रदेश १ मा ३ सय ७९ जना थप व्यक्तिहरूमा सङ्क्रमण पुष्टि भएकोमा माघ ५ गते १ हजार ७१ जनामा थप सङ्क्रमण पुष्टि भएको छ । प्रदेश सरकारले कोरोना सङ्क्रमण दर बढ्दै गएको अवस्थामा उपचारका लागि प्रदेशभरका अस्पतालहरूमा ९ सय ६९ श्ययाहरू तयारी अवस्थामा राखेको छ । जसमा १ सय ७ श्यया भेण्टिलेटर‚ १ सय १८ श्यया आइसीयू‚ ३ सय ९ एचडीयू र २ सय ४४ आइसोलेशन श्ययाको प्रवन्ध गरिएको छ । सामाजिक विकास मन्त्रालयका कोभिड–१९ तथ्याङ्क शाखाका संयोजक डाक्टर रवीन्द्र निरौलाले दैनिक रूपमा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुने दरपनि बढी रहेको जानकारी दिनु भएको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ जना कर्मचारी कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत चिकित्सक‚ नर्स र कर्मचारी सङ्क्रमित भएपछि अस्पतालबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले अस्पतालमा कार्यरत ११ जना डाक्टरसहित नर्स‚ प्यारामेडिक्स र कर्मचारीहरू एकसाथ सङ्क्रमित भएको बताउनु भयो । चिकित्सकसहितका कर्मचारी सङ्क्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको डाक्टर चुमनलाल दासले बताउनु भयो ।
आठ जना कर्मचारीमा एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय विराटनगरको सम्पूर्ण सेवा बन्द गरिएको छ । कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको कार्यालयले जनाएको छ । माघ ३ गते छ जना कर्मचारी‚ माघ ४ गते थप दुई जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि माघ ५ गतेदेखि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा अर्को सूचना जारी नहुञ्जेल सम्मका लागि बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताउनु भएको छ ।
विराटनगरस्थित प्रदेश १‚ यातायात सेवा कार्यालयका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ । यातायात कार्यालयले माघ ४ गते सूचना जारी गरी सेवा प्रवाह बन्द गरिएको जानकारी गराएको छ । माघ ४ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि कार्यालयको आन्तरिक कामकाज तथा जरिवाना लाग्ने सेवाबाहेक अन्य सेवा बन्द गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार कोभिड–१९ को तेस्रो लहर न्यूनीकरणका लागि कोशी गाउँपालिकाले हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । कोशी गाउँपालिका–८ भाण्टाबारीमा हेल्थ डेस्क माघ ५ गतेदेखि सञ्चालनमा ल्याइएको छ । भारतसँगको सीमा क्षेत्र भएकाले सीमा क्षेत्रमा कडाइसहित हेल्थ डेस्क सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नेपाल भित्रिन सक्ने अवस्थालाई ध्यानमा राखी भारतसँगको भाण्टबारी मुख्य नाकामा कोरोना भाइरस सङ्क्रमण जाँचमा कडाइ गरिएको छ । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेपछि सीक्षा क्षेत्रमा कडाइका साथै हेल्थ डेस्क सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी इन्द्रवेद यादवले जानकारी दिनु भएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार इलाका प्रशानस कार्यालय खोटाङबजारका कार्यालय प्रमुखमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि माघ ५ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इलाका प्रशासनले प्रवाह गर्ने सेवामा रोक लगाइएको छ । इलाका प्रशासन कार्यालयले माघ ५ गते सूचना जारी गर्दै सेवा प्रवाहमा रोक लगाएको जानकारी गराएको छ ।
सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार जिल्लामा माघ ६ गतेदेखि कोभिड–१९ विरूद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिसिल्ड र भेरोसेल खोपको दोश्रो मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामनारायण शाहले बताउनु भयो । जिल्लाका लागि ३ हजार बुस्टर डोज आएकाले पालो मिलाएर खोप लगाउने तयारी भएको कार्यालयले जनाएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी‚ दोस्रो चरणमा कर्मचारी जनप्रतिनिधि‚ पत्रकार तथा त्यसपछि मापदण्ड पूरा भएका क्षेत्रमा क्रमश: बुस्टर डोज मात्रा लगाइने तयारी छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार महालक्ष्मी नगरपालिकाले कोभिड–१९ रोकथामका लागि नगर क्षेत्रका विद्यालयहरूमा भौतिक उपस्थितीमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको माघ ५ गते बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि नगर क्षेत्रका विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको छ । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न गरेको निर्णय अस्वीकार गर्दै विद्यालय सञ्चालनमा ल्याएको थियो । नगर क्षेत्रका सरकारी कार्यालयका कर्मचारीहरू तथा सेवाग्राहीमा समेत कोभिड–१९ को सङ्क्रमण देखिएपछि विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताउनु भएको छ । राष्ट्रिय वाणिज्य बैङ्क धनकुटामा कार्यरत पाँच जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि बैङ्कले माघ ५ गतेदेखि अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।
ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यक वाहेकका सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायद्वारा माघ ५ गते अत्यन्त जरुरी सूचना प्रकाशित गरी जनाइएको छ । सूचनामा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको सङ्क्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गरी माघ ६ गतेदेखि लागू हुने गरी सेवा स्थगित गरिएको जनाइएको छ । शान्ति सुरक्षा र मुद्दा सम्बन्धी सेवा सञ्चालन गरी नागरिकता, प्रतिलिपी, राहदानी र सङ्घ÷संस्था, राष्ट्रिय परिचयपत्र र नाबालक परिचयपत्र बनाउने सेवा समेत स्थगित गरिएको सूचनामा उल्लेख छ । प्रमुख जिल्ला अधिकारीले माघ ४ गते मात्र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गर्नु भएको हो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार त्रिशूली अस्पतालका कार्यरत चिकित्सक सहित ३० जना स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि अस्पतालले दिने सेवामा असर परेको छ । अस्पताल प्रसाशनले माघ ५ गते एक सूचना निकालेर अत्यावश्यक काम नभई अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी गरी एकसाथ ३० जना सङ्क्रमित भएको त्रिशूली अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट डाक्टर दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । स्त्री तथा प्रसुति विभागमा कार्यरत तीन चिकित्सक नै कोभिड–१९ बाट सङ्क्रमित भएकोले हाल उक्त विभागबाट हुने प्रसुति गराउने, शल्याक्रिया गराउनु पर्ने जस्ता सेवा बन्द गरिएको डा. पाण्डेले जानकारी दिनुभयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु गरिएको छ । संघीय सरकारको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट जडान गरी उक्त अस्पतालबाट गत पुष २७ गतेदेखि अक्सिजन उत्पादन सुरु गरिएको अस्पतालका कार्यकारी प्रमुख डाक्टर रामकुमार श्रेष्ठले बताउनुभयो । उक्त प्लान्टको दैनिक उत्पादन क्षमता १ सय सिलिन्डर रहे पनि हाल अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेको बताउदै उहाँले अस्पतालमै अक्सिजन उत्पादन हुन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यता अन्त्य भएको जानकारी दिनुभयो । पछिल्लो समय कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि अक्सिजन उत्पादनलाई विशेष ध्यान दिएको उहाँले बताउनुभयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले जिल्लामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेपछि माघ ५ गते राति १२ बजेबाट लागु हुने गरी माघ मसान्तसम्म निषेध आदेश जारी गर्नुभएको छ । निषेध आदेशको अवधिभर सबै प्रकारका आमसभा जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप सञ्चालनमा रोक लगाइएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले राहदानी शाखा, तथा राष्ट्रिय परिचयपत्र विवरण दर्ता ईकाइमा कार्यरत कर्मचारीमा नयाँ भेरियन्ट सहितको कोभिड सङक्रमण देखिएपछि माघ ६ गते देखि सेवा स्थगित गर्ने जनाएको छ । कार्यालयले माघ ५ गते विज्ञप्ति जारी गर्दै केही कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखिएको भन्दै राहदानी शाखा एवम राष्ट्रिय परिचयपत्र विवरण दर्ता ईकाइबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले माघ ५ गते सूचना प्रकाशन गर्दै शैक्षिक संस्था, तातोपानी कुण्ड र धार्मिक क्षेत्र माघ ५ गते राति देखि माघ १५ गतेसम्म बन्द गर्ने जानकारी दिनुभएको छ ।
अर्घाखाँची प्रतिनिधि कुलबहादुर नेपालीका अनुसार सन्धिखर्क नगरपालिकामा कार्यरत १७ जना कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा माघ ४ गतेदेखि बन्द गरिएको छ । नगरपालिकाका उपप्रमुख ठाकुरकुमार बिकका अनुसार माघ ७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…