कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते ८ हजार ७ सय ३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ६८ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ ४ गते परीक्षण गरिएकामध्ये ४९ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १७ हजार ८ सय ७२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १७ हजार ५ सय ४७ जना निको भएका छन् । माघ ४ गते ५ सय ६२ जना निको भएका छन् भने निको हुनेको दर ९४.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ४ गतेसम्म ११ हजार ६ सय २४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ ४ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ रहेको छ ।
मन्त्रालयका अनुसार माघ ४ गते ४ हजार ९ सय ५६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ हजार ५ सय २८ जनालाई कोभिड पुष्टि भएको छ । माघ ४ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३ हजार ९ सय ८३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ ४ गतेसम्म १ करोड २३ लाख ४७ हजार ३ सय ४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार भरतपुर अस्पतालमा कार्यरत ३७ जना स्वास्थ्यकर्मीहरूमा कोभिड १९ सङ्क्रमण देखिएपछि त्यसको प्रत्यक्ष असर अस्पतालले उपलब्ध गराउने सेवामा परेको छ । अस्पतालका मेडिकल सुपरिटेनडेन्ट प्रोफेसर डाक्टर कृष्णप्रसाद पौडेलले कोभिड सङ्ंक्रमित हुने स्वास्थ्यकर्मीको सङ्ख्या अझै बढ्न सक्ने बताउनुभयो । उहाँका अनुसार अस्पतालको नियमित सेवाहरू प्रभावित भएका छन् । सर्जिकल विभागका चार जना डाक्टर नै कोरोना सङ्क्रमित भएपछि अस्पतालले आकस्मिक बाहेकको अप्रेशन सेवा तत्कालका लागि रोकेको उनले बताए । अप्रेशन पालोमा रहेकाहरूलाई प्राथमिकता र आकस्मिकताका आधारमा अलिअलि गर्दै जाने भइयो, मेसु डा. पौडेलले भने,‘उपचार गर्नेहरू नै बिरामी भएपछि अस्पतालले सार्वजनिक सूचना नै जारी गरेर गम्भीर समस्या नभइ अस्पताल नआउन भनिएको छ ।’ सेवा दिने नै सङ्क्रमित हुँदा थोरै जनशक्तिले सेवा दिन बाध्य भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताउनु भयो ।
यसैगरी, क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले ४१ जना स्वास्थ्यकर्मी कोभिडका सङ्क्रमित भइसकेको बताउनुभयो । कोभिड फैलिँदो क्रममा रहेकोले अवस्था झनै विग्रेमा सेवाप्रवाहबारे सोच्न पर्ने डा. गौतमको भनाइ छ । चितवन मेडिकल कलेजका अनुसार यस अस्पतालका पनि ४० जना जति स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । उपलब्ध स्वास्थ्यकर्मीहरूबाट ड्यूटी समय र काम व्यवस्थापन गरीएको र हालका लागि कुनै असहज नभएको मेडिकल कलेजका सहायक प्राध्यापक पारस अधिकारीले बताउनुभयो ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ देखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि निषेध आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी आदेशमा जिल्लाको शैक्षिक क्रियाकलाप देखि होटल, सेवा प्रदायक निकाय, डिपार्टमेन्टल स्टोर्स, धार्मिक स्थल, यातयात लगायतका फरक फरक क्षेत्रका लागि समयावधि तोकेर आदेश जारी गरेको छ भने सेवाप्रदायक निकायहरूमा सेवाग्राहीको अनिवार्य दुवै डोजयुक्त खोपकार्ड देखाएर सेवा दिन आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकीय अधिकृत नविन सुवेदीले बताउनुभयो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखराका प्रमुख अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि धमाधम सङ्क्रमित भइरहेका छन् । माघ ५ गतेसम्म गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका आठ जना कर्मचारी एवं स्वास्थ्यकर्मीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशक डाक्टर खिम खड्काका अनुसार सेवामा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् । सङ्क्रामक तथा सरूवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचन अनुसार कोभिडका १० जना बिरामी उपचार गराइरहेको अस्पतालका तीन जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । त्यस्तै गण्डकी शिक्षण अस्पताल पृथ्वीचोकका आठ स्वास्थ्यकर्मी सङ्क्रमित भएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर टुमाया घलेले बताउनुभयो । दैनिक १ हजारको हाराहारी सेवाग्राही पुग्ने पश्चिमाञ्चल क्षेत्रीय अस्तालपमा पनि चिकित्सक एवं स्वास्थ्यकर्मी गरी १५ जना सङ्क्रमित भएको अस्पतालका निर्देशक डाक्टर भरतबहादुर खत्रीले जानकारी दिनुभयो । चिकित्सक र स्वास्थ्यकर्मी नै सङ्क्रमित बनेपनि सेवाग्राहीहरू त्रसित बनेपछि अस्पतालले दिने सेवा प्रभावित भएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर खिम खड्काले जानकारी दिनुभयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार आबुँखैरेनी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण भएपछि गाउँपालिकाको सम्पूर्ण सेवा बन्द हुने भएको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले माघ ४ गते सूचना प्रकाशन गरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी १३ जनालाई कोभिड–१९ सङ्क्रमण देखिएपछि माघ ५ देखि ९ गतेसम्म गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिने जानकारी दिनुभएको छ ।
स्याङ्जा प्रतिनिधि तिलकुमारी थापाका अनुसार गल्याङ कार्यपालिकाको कार्यलयले माघ ३ गते सूचना जारी गर्दै गल्याङ नगरपालिकाको सबै विद्यालयमा भौतिक उपस्थितीको साथ माघ ४ गते देखि माघ १० गते सम्म पठनपाठन बन्द गर्ने आदेश जारी गरेको छ ।
नवलपरासी बर्दाघाट सूस्ता पूर्व प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार नवलपरासी पूर्वको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसिआर परीक्षण ल्याब जनशक्ति अभावमा बन्द भएको छ । ल्याबमा कार्यरत दुई जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि माघ २ गते देखि जिल्लामा पिसिआर परीक्षण हुन सकेको छैन । ल्याबमा कार्यरत कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि पोखराबाट आउनुपर्ने थप जनशक्ति नआउदा सेवा बन्द भएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
४८ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४० वर्षीय एक देवरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ २३ गतेको इजलासले…