कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २९ गते)

  ०७८ पुस २९ गते

पुस २९ गते २ हजार ९ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ४१ हजार २ सय ९७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २९ गते परीक्षण गरिएकामध्ये २८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ४ सय ९८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १५ हजार ३ सय ४७ जना निको भएका छन् । पुस २९ गते २ सय ७१ जना निको भएका छन् भने निको हुनेको दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २९ गतेसम्म ११ हजार ६ सय १० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस २९ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३ सय ४० रहेको छ ।

मन्त्रालयका अनुसार पुस २९ गते ४ हजार ५ सय ८३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ सय ३१ जनालाई कोभिड पुष्टि भएको छ । पुस २९ गतेसम्म एण्टिजेन परीक्षणबाट ९९ हजार २ सय २५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस २९ गतेसम्म १ करोड १६ लाख ९१ हजार ३ सय ९३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-09-29

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न पुस २८ गते प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले विशेष आदेश जारी गर्नु भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिको पुस २८ गते को निणर्य अनुसार प्रजिअ कटुवालले सो जादेश जारी भएको हो । आदेशको पालना नगरे सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्ने उहाँले बताउनुभएको छ । आदेशमा माघ ७ गते देखि सार्वजनिक स्थानमा कोभिड–१९ विरुद्ध खोप लगाएको कार्ड अनिवार्य देखाउनु पर्ने तथा स्वास्थ्य शतर्कताबारे उल्लेख गरिएको छ ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोभिड सङ्क्रमण बढ्दै आएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले पुस २८ गतेदेखि जिल्लामा २५ भन्दा बढी व्यक्तिलाई एक ठाउँमा उपस्थित नहुन आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसि)को सिफारिश र गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले कोभिडको सङ्क्रमण फैलिन नदिनका लागि सोलगायत विभिन्न निर्णय गरेको छ । आदेशमा घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन भनिएको छ ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा पुस २८ गते बसेको स्थानीय प्रशासनको बैठकले अर्को सूचना जारी नभएसम्म पुस २९ गतेदेखि जिल्लामा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले आदेश जारी गर्दै २५ जनाभन्दा बढी भेला हुने महोत्सव, मेला, भेलालगायतका सामाजिक गतिविधि नगर्न भनिएको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसारको व्यास नगरपालिकाले महामारीको अवधिभर कोभिड परीक्षण निःशुल्क गर्ने भएको छ । यसअघि परीक्षण शुल्क १ हजार रुपियाँ लिँदै आएको नगरपालिकाले कोभिड सङ्क्रमितको दर बढ्न थालेपछि महामारीको अवधिभर परीक्षण निःशुल्क गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनु भयो । नगरपालिकाले वडा नम्बर १० को दुम्सी स्थित पिसिआर परीक्षण प्रयोगशालाबाट माघ १ गतेदेखि पिसिआर परीक्षण निःशुल्क गर्ने भएको हो ।

यसैगरी कोभिड सङ्क्रमणको जोखिम बढेपछि तनहुँको देवघाट जाने मुख्य नाका सील गरिने भएको छ । माघे सक्रान्तिको दिन देवघाटस्थित त्रिशुली र कालीगण्डकीको सङ्गममा स्नान गर्न भक्तजन आउने भएपछि तनहुँ र चितवन प्रशासनको सहयोगमा पुस ३० गते साँझदेखि माघ १ गते साँझसम्म देवघाट जाने मुख्य नाकाहरू सील गरिने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनु भयो । कोभिड सङ्क्रमण फैलिएपछि चितवन प्रशासनको निर्देशनमा देवघाटमा लाग्ने माघे सक्रान्ति मेला स्थगित गरिएको घिमिरेले बताउनु भयो ।

कैैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ को सङ्क्रमण बढेसँगै कैलाली जिल्लाको कोभिड—१९ सङ्कट व्यवस्थापन समितिको पुस २८ गते बसेको बैठकले पुस २८ गते राति १२ बजेदेखि लागु हुने गरी १२ बुँदे आदेश जारी गरेको छ । कोभिडको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवम् गृहमन्त्रालयको निर्णय, सङक्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको हो । आदेश लागु भएपछि एकै स्थानमा २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न नपाइने, २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य हुनु पर्ने, विद्यालयमा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्ने, १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आदेशमा उल्लेख गरिएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।


अनलाइन डेस्क