कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २७ गते)

  ०७८ पुस २७ गते

पुस २७ गते १ हजार ९ सय ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३५ हजार ९ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २७ गते परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ६ सय ४८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७ सय ९८ जना निको भएका छन् । पुस २७ गते ३ सय १३ जना निको भएका छन् भने निको हुनेको दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २७ गतेसम्म ११ हजार ६ सय ७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस २७ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५ सय २२ रहेको छ ।

मन्त्रालयका अनुसार पुस २७ गते ४ हजार ३ सय ८५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय ६३ जनालाई कोभिड पुष्टि भएको छ । पुस २७ गतेसम्म एण्टिजेन परीक्षणबाट ९७ हजार ९ सय ६७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस २७ गतेसम्म १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-09-27

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार तिव्र गतिमा कोभिड फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गतेसम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले पुस २७ गते सूचना जारी गर्दे नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयलाई बन्द गर्न अनुरोध गर्नुभएको हो । पूर्व निर्धारित परीक्षा भने पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सूचनामा भनिएको छ ।


अनलाइन डेस्क