कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २४ गते)

  ०७८ पुस २४ गते

पुस २४ गते ६ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३१ हजार ७ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २४ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ७ सय ६२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १४ हजार ६ जना निको भएका छन् । पुस २४ गते २ सय ९७ जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २२ गतेसम्म ११ हजार ६ सय २ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस २३ र २४ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार १ सय ४० रहेको छ ।
मन्त्रालयका अनुसार पुस २४ गते ३ हजार ५ सय २ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ४८ जनालाई कोभिड पुष्टि भएको छ । पुस २४ गतेसम्म एण्टिजेन परीक्षणबाट ९७ हजार ८९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस २४ गतेसम्म १ करोड ११ लाख ११ हजार ४ सय ६८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क