कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २१ गते)

पुस २१ गते ३ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३० हजार २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २१ गते परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ७ सय १५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १३ हजार १ सय ७६ जना निको भएका छन् । पुस २१ गते २ सय ३९ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २० गतेसम्म ११ हजार ६ सय १ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस २१ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनायो । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय २५ रहेको छ ।

मन्त्रालयका अनुसार पुस २१ गते ३ हजार ५ सय ५२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६५ जनालाई कोभिड पुष्टि भएको छ । पुस २१ गतेसम्म एण्टिजेन परीक्षणबाट ९६ हजार ३ सय ८३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस २१ गतेसम्म १ करोड ८ लाख ४ हजार ४ सय १३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार पाल्पा अस्पतालका डाक्टरसहित नौ जनामा कोभिड सङ्क्रमण पुष्टि भएपछि पुस २० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक बाहेक अन्य सेवा बन्द गरिएको छ ।अस्पतालमा कार्यरत डाक्टरसहित कर्मचारीहरूको पीसीआर परीक्षण गर्दा पुस २० गते रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. जगदीश कुँवरले बताउनु भयो ।


अनलाइन डेस्क