कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २० गते)

पुस २० गते ३ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २९ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २० गते परीक्षण गरिएकामध्ये पाँच प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ७ सय ९४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १२ हजार ९ सय ३७ जना निको भएका छन् । पुस २० गते २ सय ६३ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २० गतेसम्म ११ हजार ६ सय १ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस २० गते तीन जना कोभिड सङ्क्रमितको मृत्यु भयो । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ९४ रहेको छ ।

मन्त्रालयका अनुसार पुस २० गते १ हजार ५ सय ३५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३८ जनालाई कोभिड पुष्टि भएको छ । पुस २० गतेसम्म एण्टिजेन परीक्षणबाट ९६ हजार ३ सय १८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस २० गतेसम्म १ करोड ७ लाख १० हजार ७ सय २१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क