कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १७ गते)

पुस १७ गते ३ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २८ हजार ७ सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस १७ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १२ हजार २ सय १० जना निको भएका छन् । पुस १७ गते २ सय ५२ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १६ गतेसम्म ११ हजार ५ सय ९४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस १७ गते कोभिड सङ्क्रमितको मृत्यु भएन । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९ सय ६९ रहेको छ ।

मन्त्रालयका अनुसार पुस १६ र १७ गते १५ हजार ९ सय ५२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४० जनालाई कोभिड पुष्टि भएको छ । पुस १६ गतेसम्म एण्टिजेन परीक्षणबाट ९६ हजार २ सय ४२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस १६ गतेसम्म १ करोड ३ लाख ८४ हजार ८ सय ५१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पुस १७ गते पनि अघिल्लो दिनकै तथ्याङ्क सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क