कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ३ गते)

पुस ३ गते १ सय ५८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २५ हजार ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस ३ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ४ सय ८३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ८ हजार ६ सय ३ जना निको भएका छन् । पुस ३ गते २ सय ५० जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ३ गतेसम्म ११ हजार ५ सय ७२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस ३ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय २८ रहेको छ ।

मन्त्रालयका अनुसार पुस ३ गते २ हजार ५ सय १४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३१ जनालाई कोभिड पुष्टि भएको छ । पुस ३ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ९ सय ३३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस ३ गते सम्म ९५ लाख ८२ हजार ४ सय ९६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-09-03

धनकुटा प्रतिनिधि इश्वर थापाका अनुसार पाख्रिबास नगरपालिका-५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड १९ को सङ्क्रमण पुष्टि भएपछि विद्यालय एक साताका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत ति शिक्षकलाई कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको र ति शिक्षकको कोभिड १९ परिक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताउनु भयो । कोभिड १९ पोजेटिभ देखिएका शिक्षक घरैमा होम आइसोलेशनमा रहेका छन् । पुस १० गतेपछि सङ्क्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहेमा पुनः बैठक बसेर निर्णय गर्ने प्रधानाध्यापक रिमालले जानकारी दिनुभयो । पाख्रिबास नगरपालिकाले भने कोभिड १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ । नगर प्रमुख वृषबहादुर राईले कोभिडको आशङ्का लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिनु भयो।


अनलाइन डेस्क