कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १ गते)

पुस १ गते १ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २५ हजार १ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस १ गते परीक्षण गरिएकामध्ये दुई प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार २ सय ३० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ८ हजार ८३ जना निको भएका छन् । पुस १ गते ३ सय जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १ गतेसम्म ११ हजार ५ सय ६७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस १ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय २६ रहेको छ ।

मन्त्रालयका अनुसार पुस १ गते ३ हजार ७ सय ८८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २४ जनालाई कोभिड पुष्टि भएको छ । पुस १ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ८ सय ९७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस १ गते सम्म ९४ लाख ६८ हजार ४ सय ८९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार बन्दिपुर गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । विद्यालयमा कार्यरत दुई शिक्षक र सात जना विद्यार्थीको एण्टीजेन परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले विद्यालयको पठनपाठन बन्द गराएको हो । कोभिड–१९ को जोखिम थप बढ्न सक्ने हुँदा पुस ७ गतेसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिहं थापाले जानकारी दिनुभयो । साथै अन्य विद्यालयलाई समेत पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गर्न, शैक्षिक भ्रमण, वार्षिकोत्सव लगायतका उच्च सङ्ख्यामा भौतिक उपस्थिति हुने कार्यक्रम नगर्न गाउँपालिकाले अनुरोध गरेको थापाले बताउनु भयो ।


अनलाइन डेस्क