कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २९ गते)

मङ्सिर २९ गते २ सय ५२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २५ हजार १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर २९ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार २ सय १२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ७ हजार ८ सय १६ जना निको भएका छन् । मङ्सिर २९ गते ३ सय जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २९ गतेसम्म ११ हजार ५ सय ६५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर २९ गते ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ३५ रहेको छ ।

Corona Infographics 2078-08-29

मन्त्रालयका अनुसार मङ्सिर २९ गते २ हजार ७ सय ८२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २८ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर २९ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ८ सय ७३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लामा ९२ प्रतिशतले कोभिड १९ विरुद्धको पुर्णखोप पाएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख अमर दवाडीले बताउनुभयो । १ लाख ६० हजार ७ सय ८१ कुल जनसख्या रहेको जिल्लामा कुल ८८ हजार ६ सय ८४ जनाले ले पुर्णखोप लगाएका छन् जसमध्ये १८ वर्ष माथिका ९६ हजार ५ सय ३७ जना रहेका छन् भने १८ वर्ष मुनिका ८० हजार ४ सय ६६ जना रहेको उहाँले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार बेसीशहर नगरपालिकामा २१ हजार ८ सय ७, सुन्दरबजार नगरपालिकामा १५ हजार ३ सय ६९, मध्यनेपाल नगरपालिकामा १२ हजार ५ सय २६, ,राइनास नगरपालिकामा ९ हजार ७ सय ५, क्वालोसोथर गाउँपालिकामा ५ हजार ५ सय ५६, मर्स्याङ्दी गाउँपालिकामा ९ हजार ६ सय ७३, दोर्दी गाउँपालिकामा ७ हजार ९ सय ६० र दुधपोखरी गाउँपालिकामा ६ हजार ८८ जनाले कोभिड १९ विरुद्धको पुर्णखोप लगाएका छन् । जिल्लामा आठ प्रतिशतले मात्र खोप लगाउन बाँकी रहेकोले अब अर्को चरणको लागि कोभिड १९ विरुद्धको खोप शतप्रतिशतलाई लगाउन सकिने प्रमुख दवाडीको भनाइ छ ।

अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोभिड–१९ को तेश्रो भेरियण्ट “ओमिक्रोन” रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जिल्लाका दुई ओटा प्रवेश नाका बेलखेत र चौखुट्टेमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताउनु भयो । यसअघि स्थानीय तहमा निर्माण तथा स्थापना गरिएका सबै क्वारेण्टाइन र आइसोलेशनहरुलाई तयारी अवस्थामा राख्न, जिल्ला अस्पताल र सामुदायिक अस्पताल र वयलपाटा अस्पतालालाई समेत तेश्रो चरणको कोभिडको उपचारमा स्वास्थ्यकर्मीसँगै अक्सिजनलगायतका सेवा र उपकरणको व्यवस्थापन गर्न समेत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी मरासेनीले जानकारी गराउनु भयो ।  जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय अनुसार तेस्रो चरणको कोभिड भाइरसबाट बालबालिका लागि स्थानीय आमसञ्चारका माध्यमबाट जनचेतनामूलक सूचना तथा सन्देशका कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको मरासेनीको भनाइ छ । जिल्लामा हालसम्म ४ हजार ४ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भइसकेको छ ।


अनलाइन डेस्क