कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २० गते)

मङ्सिर २० गते २ सय ३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ८ सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर २० गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार १ सय १४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ४ हजार ९ सय १ जना निको भएका छन् । मङ्सिर २० गते ३ सय ५७ जना निको भएका छन् भने निको हुनेको दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २० गतेसम्म ११ हजार ५ सय ४३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर २० गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३ सय ८६ रहेको छ ।

Corona Infographics 2078-08-20

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर २० गते १ हजार ५ सय ३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २७ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर २० गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ६ सय १९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर २० गतेसम्म ८७ लाख २५ हजार ७ सय ८५ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

16 days campaignNepali

बैतडी प्रतिनिधि नरी बडुका अनुसार पाटन नगरपालिका–४ स्थित भुमेश्वर माध्यमिक विद्यालयकी एक छात्रामा कोभिड सङ्क्रमण पुष्टि भएपछि सो विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । विद्यार्थीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि मङ्सिर २१ गतेसम्मका लागि विद्यालय बन्द गरी अन्य विद्यार्थी र शिक्षकहरूको कोभिड परीक्षण गरिने शिक्षक सुशीला भण्डारीले बताउनु भयो । जिल्लामा चार जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितहरू पाटन नगरपालिकाकै रहेको र कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रेन’ छिमेकी देश भारतमा समेत देखा परेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । जिल्लामा हालसम्म १८ जना कोभिड सङ्क्रमितको मृत्यु भइसकेको छ ।


अनलाइन डेस्क