कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २७ गते)

कात्तिक २७ गते १ हजार ९ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १० हजार २२ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ६४ हजार ५ सय ९२ जना निको भएका छन् । कात्तिक २७ गते २ हजार ३ सय ४९ जना निको भएका छन् भने निको हुनेको दर ८०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २७ गतेसम्म १ हजार १ सय ८९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३८ हजार ४ सय ६१ जनाको उपचार भइरहेको छ । २९ हजार ३ सय ८४ जना होम आइसोलेशनमा छन् भने ३ सय ७३ जनाको उपचार आइसीयूमा र ८७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।

बागमती प्रदेश
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार विदुर नगरपालिकाले कात्तिक २७ गते बिहान सूचना प्रकाशन गरी कात्तिक २७ र २८ गते नगरपालिका र १३ ओटै वडा कार्यालयको सेवा बन्द गरेको छ । सबै कर्मचारी कन्ट्याक्ट टे«ेसिङमा परेकोले क्वारेण्टिनमा बस्नु पर्ने भएकाले कार्यालय बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर चापागाईँले बताउनुभयो । वडा कार्यलय बन्द भएकाले तिहारअघि सामाजिक सुरक्षा भत्ता, जन्म तथा मृत्यु दर्तालगायतका सिफारिसका काम नहुँदा सेवाग्राही मार्कामा परेका छन् ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्लामा रगतको अभाव भएको छ । कोभिड सङ्क्रमणका कारण यसअघि बिरामी अस्पतालसम्म नआए पनि अहिले अस्पतालमा बिरामीको चाप र रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताउनुभयो । केन्द्रमा दैनिक १ सय युनिट रगतको माग भए पनि ४० युनिट पुरा गर्नसमेत कठिन भएको उहाँको भनाइ छ । कोभिडका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातिको समय हुनु लगायतकाकारणले रगतको अभाव भएको पौडेलले जानकारी दिनुभयो । जिल्लामा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट मात्रै दैनिक ३० युनिट रगतको माग हुने गरेको उहाँको भनाइ छ । यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो ।

गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार सरकारले एक स्थानीय तह एक आइसोलेशन सेण्टर निर्माण गर्ने गरी प्रति स्थानीय तह १० लाख रुपियाँ बजेट विनियोजन गरेपनि पर्वतका स्थानीय तहमा आइसोलेशन सेन्टर बन्न सकेका छैनन् । तीन महिनाभित्र कार्य शुभारम्भ गर्ने गरी भदौ महिनामा नै निर्देशिका जारी गरेपनि कात्तिकको अन्तिमसम्म पर्वतमा बन्न नसकेका हुन् । दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात स्थानीय तह रहेको पर्वतमा कुश्मा नगरपालिकास्थित साविकको जिल्ला सदरमुकाम कुश्माबजारमा कोभिड–१९ महामारीको प्रारम्भमानै अस्थायी कोभिड अस्पताल बनाइएको भएपनि अन्य स्थानीय तहहरूमा सुरू हुन सकेको छैन । जिल्लाको पैयँु गाउँपालिकामा कात्तिक २५ गते मात्रै कर्मचारी पदपुर्ति भएपछि कात्तिक २६ गतेदेखि सेवा प्रारम्भ हुने भएको छ । जिल्लाका अन्य स्थानीय तहमा भने स्वास्थ्यकर्मी व्यवस्थापनमा नै समस्या देखिएको छ । सङ्क्रमितको दर बढ्दै गएपछि ग्रामीण क्षेत्रमा देखिएका सङ्क्रमितहरूलाई स्थानीय तहले निर्माण गरेको आइसोलेशन सेण्टरमा राख्ने प्रावधान सहित आइसोलेशन स्थापना गर्न लागिएको भएपनि समयमा बन्न नसक्दा लामो दुरीबाट सदरमुकाममा नै रहेको आइसोलेशनमा ल्याउनुपर्ने अवस्था रहेको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्ला भित्र समुदाय स्तरमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको अवस्थामा यसको नियन्त्रण र रोकथामका लागि तत्काल प्रभावकारी कदम चाल्न इन्सेक लगायत सामाजिक सङ्घसंस्थाले माग गरेका छन् । प्रभावकारी कदम नचाले स्थिती अझै भयावय हुनसक्ने भन्दै जिल्लामा यसअघि स्थापना भएका मास क्वारेण्टिन, आइसोलेशन, होल्डिङ् सेण्टर, हेल्थ डेस्कलाई प्रमावकारी बनाएर निरन्तरता दिन नागरिक सङ्घसंस्थाले माग गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठन गरिएको मानव अधिकार सञ्जाल र नागरिक साझा सवालले संयुक्त रुपमा कात्तिक २७ गते सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई ज्ञापनपत्र बुझाउँदै होम आइसोलेशन, क्वारेण्टिनमा बसेका र पीसीआर परीक्षणका लागि स्वाब दिएका साथै कन्ट्याक्ट टे«सिङ्मा परेका नागरिकहरूलाई कडाईका साथ सुरक्षा मापदण्डभित्र राख्ने वातावरण सिर्जना गर्न माग गरेको हो । पीसीआर परीक्षण गरी रिपोर्ट नआएको अवधि तथा होम आइसोलेशनमा बसेकाहरू पनि स्वास्थ्य मापदण्ड पुरा गरी बस्ने वातावरण सिर्जना गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरूको पहिचान र परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ । अधिकारकर्मीको मागको विषयमा आवश्यक छलफल र पहल गर्ने सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश
बझाङ प्रतिनिधि रमेश केसीका अनुसार जिल्ला कारागार बझाङको आइसोलेशनबाट एक जना थुनुवा भागेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता प्रविन्द्र धामी बझाङ कारागारको पुरानो भवन भित्रको आइसोलेसन कक्षबाट भागेका प्रहरीले जनाएको छ । कात्तिक २६ गते बिहान ६ बजेदेखि ६ः१५ बजेबिचको समयमा सुरक्षाकर्मीले ड्युटी परिवर्तन गरिरहेको समयमा भागेको हुन सक्ने जेलर झलक रोकायाले बताउनु भयो । धामीलाई कोभिड पोजेटिभ देखिएपछि कारागारको आइसोलेशनमा एक्लै राखिएको थियो ।
कात्तिक १५ गते धनगाढीबाट सार्वजनिक सम्पदा तथा चन्दा असुल उपरको आरोपमा गिरफ्तार पक्राउ परेका थिए । कात्तिक १७ गते उनमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । साथै जिल्ला अदालत बझाङले ०७७ साल कात्तिक १८ गते थुनछेकका लागि कारागार चलान गरेको थियो । कारागारको आइसोलेशन कक्षबाट धामी भागेपछि खोजी कार्यलाइ समेत तीव्र पारिएको र छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीको संयोजकत्वमा छानविन टोली समेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनु भयो । केही महिनादेखि कारागारको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिएको थियो ।


अनलाइन डेस्क