कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ६ गते)

कात्तिक ६ गते ४ सय ३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक ६ गते परीक्षण गरिएकामध्ये नौ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार ९ सय ७२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ८६ हजार ६ सय ३० जना निको भएका छन् । कात्तिक ६ गते ८ सय १७ जना निको भएका छन् भने निको हुनेको दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक ६ गतेसम्म ११ हजार ३ सय ४५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक ६ गते आठ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५ सय ५९ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक ६ गते १ हजार ९ सय ५९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ७५ जनालाई कोभिड पुष्टि भएको छ ।  कात्तिक ६ गतेसम्म एण्टिजेन परीक्षणबाट ९३ हजार ९ सय ८० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक ६ गतेसम्म ६५ लाख ९८ हजार ५ सय ३० जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-07-06

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङमा जारी रहेको निषेध आदेश कात्तिक ३० गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले कात्तिक ५ गते सूचना जारी गर्दै जिल्लामा जारी रहेको निषेध आदेश कात्तिक ३० गतेसम्म थप भएको जानकारी दिएको हो ।


अनलाइन डेस्क