कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ३१ गते)

असोज ३१ गते ३ सय ८५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ५ हजार ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज ३१ गते परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ९ सय ६६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ८१ हजार ४ सय ५६ जना निको भएका छन् । असोज ३१ गते ६ सय ८० जना निको भएका छन् भने निको हुनेको दर ९७.०७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज ३१ गतेसम्म ११ हजार २ सय ८४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज ३१ गते ६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २ सय ९७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज ३१ गते १ हजार १ सय ११ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज ३१ गतेसम्म एण्टिजेन परीक्षणबाट ९३ हजार ३ सय ६२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज २८ गतेसम्म ६४ लाख ६९ हजार १ सय ५९ जनाले पूर्ण खोप पाइसकेका छन् । असोज २९, ३० र ३१ गते कसैलाई पनि खोप नलगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क