कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २६ गते)

असोज २६ गते ६ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३ हजार ५ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असोज २६ गते परीक्षण गरिएकामध्ये १० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ६० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ७७ हजार ७ सय ४१ जना निको भएका छन् । असोज २६ गते ९ सय १० जना निको भएका छन् भने निको हुनेको दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असोज २६ गतेसम्म ११ हजार २ सय ५७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असोज २६ गते १४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ५ सय ५४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार असोज २६ गते २ हजार ५ सय ५९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय १ जनालाई कोभिड पुष्टि भएको छ ।  असोज २६ गतेसम्म एण्टिजेन परीक्षणबाट ९३ हजार २ सय १७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार असोज २६ गतेसम्म ६४ लाख ६८ हजार ७ सय ७५ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-06-26


अनलाइन डेस्क