कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३१ गते)

भदौ ३१ गते १ हजार १ सय ६५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८१ हजार ९ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ ३१ गते परीक्षण गरिएकामध्ये १० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार २ सय ८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ४५ हजार २ सय १५ जना निको भएका छन् । भदौ ३१ गते १ हजार ६ सय ८९ जना निको भएका छन् भने निको हुनेको दर ९५.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ ३१ गतेसम्म ११ हजार २ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ३१ गते ११ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ७ सय ७२ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ३१ गते ३ हजार ९ सय ७१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ४६ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ ३१ गतेसम्म एण्टिजेन परीक्षणबाट ८८ हजार १ सय ८७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ ३१ गतेसम्म ५४ लाख ७३ हजार १ सय ५१ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-05-31

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ ३१ गते एक सूचना जारी गरी निषेध आदेश लम्ब्याइएको जनाएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको भदौ ३१ गते बसेको बैठकबाट भएको सिफारिस अनुसार रौतहट जिल्लामा कोभिड १९ सङ्क्रमणको जोखिम कायमै रहेकाले थप सतर्कता अपनाउन हाल जारी रहेको निषेध आदेशलाई अर्को निर्णयबाट अन्य व्यवस्था नभएसम्मको लागि निरन्तरता दिइएको कुरा निमित्त प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिनु भयो ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार जिल्लामा जारी रहेको निषेध आदेश थप भएको छ । तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भदौ ३१ गते सूचना प्रकाशन गरेर जिल्लामा जारी रहेको निषेध आदेश असोज १ गतेदेखि असोज १२ गतेसम्म थप भएको जानकारी दिनु भएको हो ।


अनलाइन डेस्क