कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २३ गते)

भदौ २३ गते १ हजार ३ सय ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७३ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ २३ गते परीक्षण गरिएकामध्ये १४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ७ सय ६७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ३३ हजार १ सय ६१ जना निको भएका छन् । भदौ २३ गते २ हजार ७२ जना निको भएका छन् भने निको हुनेको दर ९४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ २३ गतेसम्म १० हजार ८ सय ८९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २३ गते १० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४ सय ७९ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २३ गते ३ हजार ६ सय ८८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ९३ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ २३ गतेसम्म एण्टिजेन परीक्षणबाट ८६ हजार ६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ २३ गतेसम्म ५० लाख ५६ हजार ८ सय ३ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-05-23

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङ जिल्लामा जारी निषेध आदेश असोज ५ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले भदौ २२ गते सूचना जारी गर्दै जिल्लामा जारी रहेको निषेध आदेश भदौ २२ गते राति १२ बजेदेखि असोज ५ गते राति १२ बजेसम्म थप गरिएको जनाएको छ ।


अनलाइन डेस्क