कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २२ गते)

भदौ २२ गते १ हजार ४ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७२ हजार १ सय ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ २२ गते परीक्षण गरिएकामध्ये १३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार १ सय ११ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ३१ हजार जना निको भएका छन् । भदौ २२ गते २ हजार ७२ जना निको भएका छन् भने निको हुनेको दर ९४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ २२ गतेसम्म १० हजार ८ सय ७९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २२ गते २१ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ३ सय ३ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २२ गते ३ हजार ९ सय २३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ५४ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ २२ गतेसम्म एण्टिजेन परीक्षणबाट ८५ हजार ७ सय १३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ २२ गतेसम्म ५० लाख १२ हजार ८ सय २१ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-05-22

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय भदौ ३१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको भदौ २२ गतेको बैठकको निर्णय बमोजिम निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी नवराज भण्डारीले बताउनु भयो । निषेध आदेशको समयमा स्वास्थ्य मापदण्ड अपनाएर सबै प्रकारका पसलहरू बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ला गर्न पाइने छ । जिल्लाभित्र ठूला जमघट तथा बढी भीडभाड, सभा सम्मेलन सांस्कृतिक कार्यक्रम, जुलुस पूर्ण रुपमा बन्द गरिएको निमित्त प्रजिअ भण्डारीले बताउनु भएको छ ।

रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जिल्लामा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेध आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूले कोभिड व्यवस्थापन केन्द्रको भदौ २२ गतेको बैठकको विश्लेषण तथा सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा भदौ २२ गतेदेखि लागु हुने गरी अर्को आदेश नआएसम्मका लागि यस्तो आदेश जारी गरिएको बताउनुभयो । जारी आदेशमा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले सबै प्रकारका भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सवमा रोक लगाइएको छ । विभिन्न चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पूर्णपालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा मात्रै मनाउन आदेश दिइएको छ । साथै आदेशमा शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गराउँदा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहनु पर्ने भनिएको छ ।


अनलाइन डेस्क