कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २१ गते)

भदौ २१ गते १ हजार ४ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ७० हजार ७ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ २१ गते परीक्षण गरिएकामध्ये १३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ६ सय ९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख २८ हजार ९ सय २८ जना निको भएका छन् । भदौ २१ गते १ हजार ७ सय ४३ जना निको भएका छन् भने निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ २१ गतेसम्म १० हजार ८ सय ५८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ २१ गते २० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ९ सय ७३ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ २१ गते ४ हजार ३ सय ७० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय ९ जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ २१ गतेसम्म एण्टिजेन परीक्षणबाट ८५ हजार ४ सय ५९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ २१ गतेसम्म ४९ लाख ६२ हजार ७ सय ५९ जनाले पूर्ण खोप पाइसकेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-05-21

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय भदौ ३१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्काले बताउनु भएको छ ।

तनहुँ  प्रतिनिधि  प्रकाशचन्द्र भटटराईका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ ३१ गतेसम्म निषेध आदेश थप गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भदौ २१ गते सूचना जारी गरी निषेध आदेश थप गर्नुभएको हो ।  यसअघि भदौ २१ गते बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले निषेध आदेश थप गर्न प्रमुख जिल्ला अधिकारीलाई  सिफारिस गरेको थियो । निषेध  आदेश अनुसार अन्य सबै प्रकारका व्यवसाय साँझ ७ बजेसम्म, पार्टी प्यालेस साँझ ६ बजेसम्म र होटल तथा रेष्टुरेण्ट राति ९ बजेसम्म सञ्चालन गर्न पाइने छ । त्यस्तै विद्यालयहरु पनि कोभिडको अवस्थाको विश्लेषण गरी स्थानीय तहको सिफारिसमा सञ्चालन गर्नपाइने छ । तर सभा जुलुस, मेला र महोत्सव जस्ता कार्यक्रम भने सञ्चालन गर्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।


अनलाइन डेस्क