कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ९ गते)

भदौ ९ गते १ हजार ८ सय ६२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ५२ हजार ८ सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ ९ गते परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ७ सय ११ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ३ हजार ९ सय ६४ जना निको भएका छन् । भदौ ९ गते १ हजार ७ सय ८१ जना निको भएका छन् भने निको हुनेको दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ ९ गतेसम्म १० हजार ६ सय १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ९ गते ४४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २ सय ८७ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ९ गते ५ हजार ५ सय ७९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ सय २० जनालाई कोभिड पुष्टि भएको छ ।  भदौ ९ गतेसम्म एण्टिजेन परीक्षणबाट ८१ हजार ५ सय ८७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ ९ गतेसम्म ३९ लाख ९ हजार ९ सय ४१ जनाले पूर्ण खोप पाइसकेका छन् ।

Corona Infographics 2078-05-09

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार कुश्मा नगरपालिकाका दुई ओटा वडा पूर्ण रुपमा सील गरिएको छ । कुश्मा नगरपालिका–९ कटुवाचौपारी र कुश्मा नगरपालिका–१० पिपलटारी भदौ ६ गते १२ बजेदेखि लागु हुनेगरी भदौ १५ गतेसम्म सील गरिएको छ । नगरपालिकामा भदौ १ गते ६४ जनाको पिसिआर परीक्षण गरिएकोमा दुई वडाका मात्रै २२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको र थप सङ्क्रमण फैलन नदिन वडालाई पूर्ण रुपमा सील गर्ने निर्णय गरिएको पिपलटारीका वडाध्यक्ष सुजन बिक अमरले जानकारी दिनुभयो ।


अनलाइन डेस्क