कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १ गते)
भदौ १ गते २ हजार ४ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३७ हजार २ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भदौ १ गते परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ५ सय ६५ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ८७ हजार ६९ जना निको भएका छन् । भदौ १ गते १ हजार ९ सय २९ जना निको भएका छन् भने निको हुनेको दर ९३.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । भदौ १ गतेसम्म १० हजार ३ सय ५४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १ गते २७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ८ सय ७१ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १ गते ६ हजार १ सय २४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ८ सय १८ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १ गतेसम्म एण्टिजेन परीक्षणबाट ७६ हजार ८ सय ३३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार भदौ १ गतेसम्म ३५ लाख ८६ हजार ६ सय ७३ जनाले पूर्ण खोप पाइसकेका छन् ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोभिड–१९ सङ्क्रम रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा जारी निषेध आदेशको अवधि भदौ १५ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लामा कोभिड–१० सङ्क्रमण दरको प्रभावकारी नियन्त्रण र रोकथामको लागि जिल्ला काभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको ०७८ वैशाख १९ गतेको निर्णय समेतको आधारमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ को उपदफा २ तथा स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि जिल्ला भरि यस अघि लागु गरिएको निषेध आदेशलाई भदौ १५ गतेसम्म निरन्तरता दिएको बताउनु भयो । निषेध आदेशको अवधिमा घरबाहिर जाँदा अनिवार्य मास्क लगाउन र एक अर्काबिच दुई मिटरको भौतिक दुरी कायम गर्न आग्रह गरिएको छ । यस अवधिमा सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, हाट, बजार मनोरञ्जन स्थल, समूहमा खेलिने खेल आदि सञ्चालन नगर्न आदेश गरिएको छ । निषेध आदेशको अवधिभरमा शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, टयुसन सेन्टर लगायतका गतिविधिहरू सञ्चालन गर्न नपाउने र लोक सेवा आयोग र विश्वविद्यालयले लिने परीक्षामा स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरिएको छ । यस अवधिमा नेपाल भारतको सीमानाका पूर्ण रुपमा बन्द राख्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कर्णले साउन ३२ गते जारी गरेको निषेध आदेशमा उल्लेख छ ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले १० दिनको लागि निषेध आदेश थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले साउन ३२ गते जारी गरेको निषेध आदेश भदौ १ गतेदेखि भदौ १० गते राति १२ बजेसम्म रहने छ । सङ्क्रमणमा बढ्दै गएको कारण निषेध आदेश थप गर्नु परेको प्रमुख जिल्ला अधिकारी दुलालले बताउनु भयो । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार भदौ १ गते जिल्लामा ६ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोभिडको कारण हालसम्म जिल्लामा ४३ जनाको ज्यान गइसकेको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार शुक्लगण्डकी नगरपालिकामा कार्यरत केही कर्मचारीमा कोभिड सङ्क्रमण भएपछि नगरपालिकाको सेवा बन्द गरिएको छ । नगरपालिकाले एक सूचना प्रकाशन गरी भदौ १ गते देखि ४ गतेसम्म नगरपालिकाको कार्यालयबाट प्रदान गरिने सेवाहरु बन्द गरिने जनाएको छ । नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले सुचना जारी गर्दै नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीको सङ्क्रमण परीक्षण गर्नुपर्ने भएकोले नगरपालिका कार्यालय उच्च जोखिममा परेको बताउनुभएको छ । यसकारण चार दिन नगरपालिकाको अत्यावश्यक बाहेकको अन्य सेवाहरु बन्द गरिने सूचनामा उल्लेख छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार जिल्लामा जारी रहेको निषेध आदेश भदौ १० गतेसम्म थप भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाले साउन ३२ गते एक सूचना प्रकाशन गरी निषेध आदेश साउन ३२ गते राति १२ बजेदेखि भदौ १० गतेसम्म थप भएको जानकारी दिएको छ ।
गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मी कारागारमा रहेका कैदी÷बन्दीहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । कारागारमा रहेका ८३ जना कैदी/बन्दीहरूलाई खोप लगाइएको हो । विभिन्न चरणमा छुटेका १८ कैदी÷बन्दी र कर्मचारीलाई साउन ३२ गते खोप लगाइएको कारागारका निमित्त प्रमुख रेश्मीराज पन्थीले बताउनु भयो ।
बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको साउन २७ गते बसेको बैठकले कोभिड रोकथाम तथा नियन्त्रण गर्नका लागि १२ बुँदे कार्यविधि तयार पारी भदौ १ गतेबाट लागु हुने गरी पास गरेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनु भयो । कोभिड रोकथाम तथा नियन्त्रणसम्बन्धी बनेको १२ बुँदे कार्यविधिको दफा २ को उपदफा (ख)अनुसार जिल्लाका होटल तथा पसलहरू राति ८ बजेसम्म खुल्ला रहने छन् । यसैगरी, जिल्लामा आवतजावत गर्ने र जिल्ला बाहिरबाट आउने सवारी साधानहरूले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म जिल्लामा प्रवेश गरिसक्नु पर्ने कार्यविधिमा उल्लेख गरिएको छ । एक जना बिरामी र दुई जना कुरुवा बोकेको सानो चार पाङ्ग्रे गाडी, एम्बुलेन्स वा अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिएर सञ्चालन गरिएका सवारी साधनको हकमा सो नियम लागु नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विद्यालयको हकमा भने कोभिड भाइरसको सङ्क्रमण नियन्त्रणको अवस्थामा नरहेसम्म स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालन गरी सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनु भयो । जिल्लामा प्रवेश गर्ने मुख्य चार ओटा नाकाहरू क्रमशः इकडी गाड, कोल्टी विमानस्थल, जुड्डी र धुलाचौरमा हेल्थ डेस्क स्थापना गरिएको छ ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको साउन ३२ गते बसेको बैठकले जिल्लामा जारी गरिएको निषेध आदेश भदौ १० गतेसम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । विभिन्न बैठक, तालिम, गोष्ठी, सेमिनार सञ्चालन गर्दा २५ जना भन्दा बढी नराखिकन स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने र कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने अन्यथा मास्कको प्रयोग नगर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम कारबाही गर्ने जारी आदेशमा उल्लेख गरिएको सूचना अधिकारी जोशीले बताउनु भयो ।
कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको साउन ३२ गते बसेको बैठकले जिल्लामा जारी गरिएको निषेध आदेश भदौ १० गते सम्मका लागि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताउनु भयो । थप गरिएको अवधिमा विभिन्न तालिम, गोष्ठी, सभा÷सम्मेलन, शैक्षिक संस्थाको पठनपाठन भौतिक रूपमा गर्न नपाइने, भिडभाड हुने स्थानमा जम्मा हुन नपाइने, अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, उद्योग कलकारखानाहरू स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्न सकिने र उल्लिखित आदेशको अवज्ञा गर्नेलाई कोभिड—१९ सङ्कट व्यस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने जारी आदेशमा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…