कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३२ गते)
साउन ३२ गते २ हजार ५ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन ३२ गते परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ९३ ओटा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ८५ हजार १ सय ४० जना निको भएका छन् । साउन ३२ गते २ हजार ४ सय ५८ जना निको भएका छन् भने निको हुनेको दर ९३.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन ३२ गतेसम्म १० हजार ३ सय २७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ३२ गते ३५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३ सय ७१ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार साउन ३२ गते ५ हजार ५ सय १८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ८ सय ८५ जनालाई कोभिड पुष्टि भएको छ । साउन ३२ गतेसम्म एण्टिजेन परीक्षणबाट ७६ हजार १५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमित तथा सक्रिय सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार साउन ३२ गतेसम्म ३४ लाख ९० हजार ६५ जनाले पूर्ण खोप पाइसकेका छन् ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा जारी निषेध आदेश केही खुकुलो गरी भदौ १० गते सम्म कायम रहने गरी समय थप गरिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा निषेध आदेशले जनजीवन प्रभावित हुन थालेपछि खुकुलो गरी निषेध आदेशको समय थप गर्ने निर्णय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको साउन ३२ गतेको बैठकबाट गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भयो । बैठकले बिहान ६ बजेदेखि १० बजेसम्म खाद्यान्नलगायतका पसल र १० बजेदेखि साँझ ६ बजेसम्म हार्डवेयरलगायतका पसल सञ्चालनका लागि अनुमति दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताउनु भएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयाँलका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेकाले जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेदेखि १० गतेसम्म लकडाउनको घोषणा गरेको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको साउन ३२ गतेको बैठकले भदौ १० गते सम्मका लागि कडा रूपमा लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनु भयो । खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले सर्वसाधारणलाई १० दिनका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गर्न समय दिएर लकडाउन गर्ने निर्णय सर्वपक्षीय रूपमा गरिएको बताउनु भयो ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय भदौ १० गते सम्मका लागि थप गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको साउन ३२ गतेको बैठकले भदौ १० गते सम्मका लागि निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णराज पन्तले बताउनु भएको छ ।
भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार मध्यपुरथिमि नगरपालिकाबाट ‘मास्क लगाऔँ एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ गरिएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले साउन ३२ गते एकैसाथ स्वयम्सेवक र स्थानीयलाई मास्क वितरण गर्दै राष्ट्रव्यापी मास्क अभियान सुरु गरिएको हो । कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सबैसँग मास्क भए पनि कसैको मास्क हातमा, कसैको चिउँडोमा र कसैले खल्तीमा राखेर हिड्ने गरेकाले प्रभावकारी नभएको बताउनुभयो । उहाँले मास्क कसरी लगाउने र कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भनेर घरघरमा गएर जनचेतना फैलाउनु पर्ने औल्याउनुभयो ।
यसैगरी, मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले कोरोना भाइरस दिनदिनै बढ्दै गएको र तेस्रो लहरको जोखिम बढेको अवस्थामा नेपाल मास्क अभियान मध्यपुरबाट सुरु गरिएको बताउनुभयो । कोभिड सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को तथ्याङ्क अनुसार भक्तपुरमा सबैभन्दा बढी सङ्क्रमित नगरपालिका मध्यपुर रहको र त्यसमा पनि सबैभन्दा बढी वडा नम्बर ४ मा देखिएकाले ४ वडाबाट मास्क वितरण सुरु गरेको बताउनुभयो । कोरोनाबाट बच्ने सजिलो र सस्तो तरिका मास्कको सही प्रयोग नै भएको बताउदै उहाँले सबै नागरिकसम्म भ्याक्सिन नपुगेसम्म मास्क अभियानले कोरोना सङ्क्रमण कम हुन्छ भन्ने विश्वास राख्नुभयो ।
बङ्गलादेशबाट आएको ५ लाख मास्क वितरण गर्ने भन्दै उहाँले उपत्यका मेयर फोरम मार्फत उपत्यकाका सबै पालिकामा नगर प्रमुखहरूको नेतृत्वमा अभियान चलाइने बताउनुभयो । अमेरिकाबाट ३ करोड मास्क ल्याउने तयारी भइरहेको भन्दै उहाँले देशभरका पालिकामा यो अभियान सञ्चालन गरिने बताउनुभयो । घरघरमा मास्क वितरण गर्न नगरपालिकाले १५ जन स्वयमसेवक परिचालन गरेको छ । उनीहरूले एउटा घरमा तीन जना वा कम सदस्य भए २५ ओटा मास्क र तीन जनाभन्दा बढी सदस्य भए १ प्याकेट (५०) ओटा मास्क निःशुल्क वितरण गर्नेछन् ।
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जिल्लामा भदौ १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी साउन ३२ गते राति १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो । जिल्ला स्तरिय कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूले जानकारी दिनुभयो । जिल्लामा भेला, महोत्सव, जात्रा, पर्व, भोजभतेर गर्न रोक लगाएको छ । शैक्षिक संस्थाहरू बन्द गरिएको छ । अति आवश्यक बाहेक तालिम गोष्ठी गर्न रोक लगाएको छ । होटल तथा पसलहरू बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार भरतपुर अस्पतालले भिडभाडले कोभिड–१९ को जोखिम बढेको भन्दै आवश्यकता परेमात्र अस्पताल आउन सर्वसाधारणमा अनुरोध गरेको छ । अस्पतालले साउन ३२ गते सर्वसाधारणमा अपिल गर्दै डेल्टा भेरियन्टको सङ्क्रमण चितवनका साथै आसपासका जिल्लामा तीव्र गतिमा फैलिएको भन्दै सो अनुरोध गरेको हो । त्यस्तै जिल्ला प्रशासन कार्यालयले पनि कोभिड–१९ सङ्क्रमण बढेको भन्दै भदौ १ गतेदेखि लागु हुने गरी १० दिनका लागि जिल्लास्थित सरकारी कार्यालयहरू जिल्ला प्रशासन, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयको काम रोकिने जनाएको छ । अन्य व्यवस्थाहरूलाई भने यथावत राखिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।
नवलपरासी (बर्दाघाट सूस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लामा भदौ १० गतेसम्म निषेध आदेश थप भएको छ । साउन ३२ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस अनुसार निषेध आदेश भदौ १ गते देखि भदौ १० गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सुचना अधिकारी आनन्द भुसालले जानकारी दिनुभयो । थप गरिएको निषेध आदेशमा यस अघि जारी गरिएको आदेशहरुलाई निरन्तरता दिइएको भुसालले बताउनुभयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्लामा भदौ ७ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले साउन ३२ गते सूचना प्रकाशन गरी भदौ ७ गतेसम्म निषेध आदेश लम्ब्याउनुभएको हो । यसअघि साउन ३१ गते जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसिसी) को बैठकले तनहुँमा कोभिडको जोखिम अझै कम नभएको र पछिल्लो दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको तथा छिमेकी जिल्लाहरुमा नयाँ डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको हुँदा जारी निषेध आदेशलाई निरन्तरता दिन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो । सोही अनुसार प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको हो । तनहुँ कोभिडको जोखिम अझै कम नभएको र सक्रिय सङ्क्रमितको सङ्ख्या पनि धेरै नै भएको तथा छिमेकी जिल्लाहरुमा नयाँ डेल्टा भेरियन्टको संक्रमण देखिएको हुँदा जारी निषेध आदेशलाई निरन्तरता दिनु पर्ने देखिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङद बरालले बताउनु भयो । कोभिड–१९ को जोखिमबाट बच्न भन्दै गत बैशाख २२ गतेबाट जारी भएको निषेध आदेश पटक पटक थप गर्दै पछिल्लो पटक साउन ३२ गतेसम्मका लागि लम्ब्याईएको थियो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…