कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ३ हजार १ सय ९४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख २० हजार ६ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन २६ गते परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १३ हजार २ सय १७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ७३ हजार १ सय ९८ जना निको भएका छन् । साउन २६ गते २ हजार १ सय १५ जना निको भएका छन् भने निको हुनेको दर ९३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन २६ गतेसम्म १० हजार १ सय ५० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २६ गते ३५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ३ सय ३२ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कोभिड–१९ को सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले ०७८ भदौ १ गतेसम्मका लागि निषेध आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को साउन २४ गते बसेको बैठकले जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै जिल्लाभर लागु हुने गरी सो आदेश थप गरिएको हो । निषेध आदेशको अवधिमा अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेरलगायतका भिडभाड नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्ने जनाइएको छ ।
काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार भुम्लु गाउँपालिकामा कोभिड–१९ सङ्क्रमण बढेपछि खुलेका विद्यालयहरू साउन २६ गतेबाट बन्द गरिएको छ । दुलालेश्वर मावि दोलालघाटका १० वर्षीय बालक र ४ वर्षीया बलिकामा कोभिड सङ्क्रमण देखिएपछि गाउँपालिका भित्रका सबै विद्यालय बन्द गरिएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताउनु भयो । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका विद्यार्थीहरूको सङ्ख्या बढ्न थालेपछि खुलेका विद्यालय फेरि बन्द गरिएको भुम्लु गाउँपालिका–६ स्थित जनता माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्रान्ति लामाले बताउनु भयो । उहाँले साउन २६ गते गाउँपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरिसकेको बताउनु भयो । बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण अध्यापन गराउँदा सङ्क्रमण बढ्न सक्ने भएकोले सञ्चालित शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरिएको सेतीदेवी मावि चौवासका प्रधानाध्यापक विमल बुडामगरले बताउनु भयो । पछिल्लो समय कोभिड–१९ को दोस्रो लहरपछि भुम्लु गाउँपालिकाले असारको पहलो हप्तादेखि पालिकाका सम्पूर्ण विद्यालयमा भौतिक उपस्थितिमै शिक्षण सिकाइको कार्य सञ्चालन गरेको थियो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार पछिल्ला दिनमा देवघाटमा कोभिड सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि देवघाट जान थप कडाई गरिएको छ । देवघाटमा साउन महिनामा मनाइने बोलबम मेलामा भएको भीडका कारण कोभिड सङ्क्रमितको सङ्ख्या बढेपछि देवघाट गाउँपालिकाको अनुरोधमा चितवन प्रशासनले देवघाट जान कडाइ गरेको छ । केही दिन अघिसम्म सङ्क्रमितको सङ्ख्या शुन्य भएको देवघाटमा सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । ०७८ साउन २५ गते बोमबम मेलामा स्नान गर्न जान चितवनको आँपटारीमा प्रशासनले कडाइ गरेको थियो । आँपटारी देवघाट प्रवेश गर्ने मुख्य नाका हो । यहाँबाट चितवन र नवलपरासी सहित अन्य जिल्लाका भक्तजन देवघाट जाने आउने गर्छन् । आँपटारीमा प्रशासनले सावरी साधनको नरिक्षण गरि मास्क नलगाएका सर्वसाधरणलाई देवघाट जान रोक लगाएको थियो । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले बोलवम मेलाको कारण पछिल्लो दिनमा कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको बताउनुभयो । सापकोटाले यस्तै अवस्था हुने हो भने सङ्क्रमितको सङ्ख्या अझ बढ्न सक्ने हुँदा निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । देवघाट, च्येवनधाम र दमौलीघाट लगायतका क्षेत्रमा साउनको सोमबार पुजा लगायतका कार्यमा सर्वसाधरणको भिडभाड हुने गरेको भन्दै जोखिमबाट बच्दै घरमै बसेर चाडपर्व मनाउन र आफ्ना दैनिक कार्य गर्न जिल्ला प्रशासन कार्यालय तनहँुले अनुरोध गरेको थियो । तर उक्त अनुरोधलाई वेवास्ता गर्दै देवघाटमा सयौंको सङ्ख्यामा भक्तजन स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगरिकन आउने गरेका छन् । तनहँु जिल्लाभर साउन ३२ गतेसम्म निषेध आदेश भएको कारण नित्य पुजा बाहेक धार्मिक कार्य, पुजा पाठ र स्नानमा समेत रोक लगाइएको छ । तर पनि निषेध आदेशको उल्लङ्घन गर्दै भक्तजनहरु निर्वाधरुपमा पुजामा सहभागी हुँदै आएका छन् । र्
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा कोभिड सङ्क्रमण दर बढेकाले निषेध आदेशलाई कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा साउन २६ गते बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेध आदेश जारी रहने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभयो । बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेध आदेश थप कडाइका साथ लागूगर्ने निर्णय गरेको हो । निषेध आदेशको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु, बैङ्क, सहकारी, विमा तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरू र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ । बैठकले अत्यावश्यक खाद्यान्न, फलफूल, माछामासु तथा दूधका पसल आइतबार, बुधबार र शुक्रबार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । जिल्लामा ६ सय ३ जना संक्रिय सङ्क्रमित रहेका छन् भने ६३ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देश प्रकाश घिमिरेले जानकारी दिनुभयो । बागलुङ नगरपालिकाले १० दिन कडा निषेध आदेश गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिलाई साउन २५ गते सिफारिस गरेको थियो । सक्रिय सङक्रमितको आधा सङ्क्रमित बागलुङ नगरपालिकामा मात्रै छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता गरेको छ । पीडितका बुबाले…
बलात्कार घटनाको कसुरमा सात वर्ष कैद
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको…
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् । संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप…