कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)

साउन २२ गते २ हजार ४ सय ३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख १० हजार ५ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन २२ गते परीक्षण गरिएकामध्ये २६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ४ सय ९३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ६५ हजार ५ सय ४८ जना निको भएका छन् । साउन २२ गते १ हजार ८ सय ८५ जना निको भएका छन् भने निको हुनेको दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन २२ गतेसम्म १० हजार १९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २२ गते २५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार ९ सय ४२ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, बागलुङ, कास्की, गोरखा, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-04-22

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय भदौ ९ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको साउन २२ गतेको बैठकले भदौ ९ गतेसम्मका लागि निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो । निषेध आदेशको समयमा स्वास्थ्य मापदण्ड अपनाउँदै जिल्ला भित्र सार्वजनिक सवारी साधन सञ्चालनको अनुमति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सवारी साधन सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, सवारी साधनमा सेनिटाइजर व्यवस्था गर्नु पर्ने, सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने र मास्क नभएका यात्रुलाई चालक दलले बढीमा १० रुपियाँ लिएर मास्क उपलब्ध गराउनु पर्ने शर्त तोकिएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन ३२ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको साउन २२ गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भएको छ । जिल्लामा दैनिक २ सय जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि हुँदै आएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशसम्बन्धी सूचनामा उल्लेख छ ।

लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार मनाङमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार जिल्लाका ४  हजार १ सय ९८ जना नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जसमध्ये ४ हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् । जिल्लामा कोभिसिल्डको दोस्रो मात्राको खोप लगाउन १ सय ६५ जना मात्रै बाँकी रहेको प्रमुख आचार्यले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । मनाङमा कोभिसिल्डको पूर्ण खोप लगाउने नागरिक २ हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक २ हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५ सय रहेको प्रक्षेपण गरेको थियो । जिल्लाका अन्य नागरिकहरु विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउने नागरिकको सङ्ख्या ४ हजार १ सय ९८ रहेको बताउदै आचार्यले  जिल्लाका सबै नागरिकलाई खोप लगाउने अभियान भएकोले जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । आचार्यका अनुसार वर्षायामले सबै ठाउँको बाटो अवरुद्ध हुँदाहुदै जिल्लाका राजनितिज्ञ,कर्मचारी, नागरिक समाज, प्रहरी प्रशासन , नेपाली सेना एवमं सशस्त्र प्रहरी सबैको सहयोगले जिल्लामा पूर्ण खोप सम्भव भएको बताउनुभयो ।

स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार जिल्लामा निषेध आदेशको अवधि थप भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाले साउन २१ गते एक सूचना मार्फत जिल्लामा जारी रहेको निषेध आदेश साउन ३२ गतेसम्म लम्बिएको छ । गत वैशाख २१ गते देखि सुरु भएको निषेध आदेश कोभिड १९ को जोखिम जिल्लामा बढ्दै गएकोले निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी गरिएको आदेशमा भनिएको छ ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लामा जारी रहेको निषेध आदेश थप भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले साउन २२ गते सूचना जारी गर्दै जिल्लामा जारी रहेको निषेध आदेश साउन २४ गते राति १२ बजे देखि साउन ३२ गते राति १२ बजेसम्म निरन्तर रहेको जानकारी दिएको छ ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको साउन २१ गते बसेको बैठकले साउन ३२ गते राति १२ बजेसम्म निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । निषेध आदेश अवधिभर सभा, सम्मेलन गोष्ठी, मन्दिरमा भीडभाड, विद्यालय तथा शैक्षिक कार्यक्रमलाई समेत रोक लगाइएको छ । विश्व विद्यालयका तोकिएका परीक्षाहरू भने नियमित रूपमा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।

अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोभिड–१९ विरुद्ध नेपाल सरकारले  २०७७ माघ १४ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन गरेको पहिलो चरणको कोभिसिल्ड खोप अभियानमा २० हजार ५ सय ७५ जनाले खोप लगाएको भएपनि दोस्रो चरणको खोप अभियानमा ३ हजार २ सय ८ जनाले मात्रै खोप पाएका छन् । पहिलो चरणमा खोप लगाएका व्यक्तिहरू मध्ये अहिले पनि १७ हजार ३ सय ६७ जनाले कोभिसिल्ड खोप पाउन सकेका छैनन् ।  कोभिसिल्ड र भेरोसिल गरेर हालसम्म ३२ हजार ४६ जनाले मात्रै कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । भेरोसिलको पहिलो खोप ०७८ जेठ २५ गतेदेखि साउन २२ गतेसम्म ७ हजार २ सय ८१ जना र दोस्रो खोप ९ सय ८३ जनाले लगाएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत शम्भुनारायण पन्तले बताउनु भयो । १० स्थानीय तहमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिएको र कोभिसिल्ड खोप नआएका कारण पहिलो खोप लगाइसकेका व्यक्तिहरूले दोस्रो खोप पाउन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले बताउनु भयो ।


अनलाइन डेस्क