कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)

साउन २१ गते ३ हजार ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ८ हजार ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन २१ गते परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ८ सय ७० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ६३ हजार ६ सय ६३ जना निको भएका छन् । साउन २१ गते २ हजार १२ जना निको भएका छन् भने निको हुनेको दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन २१ गतेसम्म ९ हजार ९ सय ९४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २१ गते ३७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ हजार ४ सय २२ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, बागलुङ, कास्की, गोरखा, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-04-21

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार नगरपालिकाभित्र कोभिड–१९ को सङ्क्रमण बढेकाले पाँचखपन नगरपालिकाले साउन २१ गतेदेखि साउन ३२ गतेसम्म नगरपालिका सील गर्ने निर्णय गरेको छ । साउन २१ गतेको बैठकले नगरपालिका सील गर्ने निर्णय गरेको हो । सील गरिएको समयमा नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै किसिमका सेवासहित नगरपालिकाको कार्यालय बन्द गर्ने निर्णय गरिएको प्रशासकीय अधिृकत मानबहादुर बरालले बताउनु भएको छ । खाद्यान्न पसल बधुबार र शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन अनुमति रहेको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा जारी निषेध आदेशको अवधि साउन ३२ गतेसम्म निरन्तरता दिएको छ । कोभिड सङ्क्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार साउन ३२ गतेसम्म निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरिएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कर्णले बताउनु भयो । निषेध आदेशको अवधिमा घरबाहिर निस्किदा अनिवार्य मास्क लगाउन र व्यक्तिव्यक्ति बिच दुई मिटरको भौतिक दुरी कायम गर्न आग्रह गरिएको छ । यस अवधिमा सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिग पुल, हाटबजार मनोरञ्जन स्थल, समूहमा खेलिने खेललगायत सञ्चालन नगर्न आदेश गरिएको छ । निषेध आदेशको अवधिमा शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, टयुसन सेन्टर लगायतका गतिविधीहरु संचालन गर्न नपाउने र लोक सेवा आयोग र विश्व विद्यालयले लिने परिक्षामा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ । यस अवधिमा नेपाल भारतको सीमा नाका पूर्ण रुपमा बन्द राख्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कर्णले जारी गरेको निषेध आदेशमा उल्लेख छ ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार भिमसेन थापा गाउँपालिकाको वडा नम्बर २ सील गरिएको छ । वडामा साउन १६ गते ४६ जनाको पिसिआर परीक्षण गर्दा १४ जना तथा साउन ९, १२ र २० गते गरिएको एण्टिजेन परीक्षणमा ५३ जना गरी हाल सम्म ६७ जनालाई कोभिड–१९ सङ्क्रमण देखिएको कारण उक्त वडा सील गरिएको गाउँपालिकाले साउन २१ गते जारी गरेको सूचनामा उल्लेख छ । सील गरिएको वडामा अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन गाउँपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ । सो स्थानबाट सञ्चालन हुने सवारी साधनले यात्रु चढाउने तथा झार्न पनि नपाइने गाउँपालिकाको सूचनामा उल्लेख छ । त्यस्तै औषधि तथा खाद्यान्न बाहेक अन्य सबै पसलहरू पूर्ण रूपले बन्द गरिने प्रमुख प्रशासकीय अधिकृत विजयराज वाग्लेद्वारा जारी सूचनमा उल्लेख छ ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङमा १८ वर्ष माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीका अनुसार जिल्ला भित्रका १८ वर्ष पुरा गरेका सबै नागरिकले कोभिड–१९ विरुद्धका खोप लगाएका हुन् । ‘अहिले सम्म ९ हजार ५ सय ८ जना नागरिकले पुरा डोज खोप लगाइसकेका छन् ।’–भण्डारीले भन्नु भयो–‘जिल्ला भित्रका लक्षित वर्ग हेर्दा सबैलाई खोप लगाइ सकिएको छ । कहिँ कतै न्यून मात्रामा छुटेका हुन सक्लान् । नलगाएकाहरू भएमा सम्पर्कमा आए भने हामीले तिनीहरूलाई पनि छिट्टै खोप लगाउँछौं ।’ १८ वर्ष माथिका नागरिकहरु खोप लगाउन नछुटेको र खोप मौज्दात पनि रहेकाले सबै नागरिकले खोप पाउने उहाँले जानकारी दिनुभयो । जिल्ला खोप अनुगमन तथा समन्वय समितिको बैठकको निर्णय बमोजिम नै खोप लगाइएको भण्डारीले बताउनुभयो । भेरोसेल खोप पहिलो डोज लगाएका २ सय ४२ जनाले दोश्रो डोज लगाउन बाँकी भए पनि लक्षित वर्ग सबै खोपको दायरामा आइसकेका छन् । मुस्ताङमा हालसम्म ५ सय १८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकोमा अहिले २० जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये एक जना छोसेर कोभिड अस्पतालमा उपचाररत रहेका छन् भने अन्य सबै सक्रिय सङ्क्रमितहरू होम आइसोलेशनमा रहेका छन् । मुस्ताङ जिल्लामा कोभिड–१९ को सङ्क्रमणबाट अहिले सम्म १५ जनाको मृत्यु भएको छ । हालसम्म मुस्ताङ जिल्ला भित्र पिसिआर बिधिबाट २ सय २३ जनाको परीक्षण गर्दा १ सय १२ जनामा र एण्टीजेन विधिबाट २ हजार ७ सय १७ जनाको परीक्षण गर्दा ४ सय ६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ नगरपालिका–१४ नारायणस्थान १० दिनको लागि सील गरिएको छ । बागलुङ नगरपालिकाको सिफारिसमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले साउन २१ गते राति १२ बजेदेखि लागु हुने गरी साउन ३१ गतेसम्मलाई कडाईका साथ निषेध आदेश जारी गरेको हो । कोभिड–१९ को महामारी फैलिएसँगै निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । नगर कार्यपालिकाको कार्यालयको पत्रानुसार डिसिएमसिको बैठकको सिफारिस, सङ्क्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३), कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ एवम् सुरक्षा समितिको बैठकले निषेध आदेश जारी गरेको हो ।

स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार चापाकोट नगरपालिकाले साउन २० गते एक विज्ञप्ती जारी गर्दै नगरपालिकामा स्वास्थ्य सङ्कट घोषणा गरेको छ । नगरपालिकाभित्र कोभिड सङ्क्रमणको जोखिम बढेकोले स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरू साउन २० गते देखि साउन २९ गतेसम्मका लागि बन्द गरिएको नगरप्रमुख शिवकुमार गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको साउन २१ गते बसेको बैठकले जिल्लामा जारी गरिएको निषेध आदेश साउन ३२ गतेसम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो । विभिन्न बैठक, तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन गर्दा २५ जना भन्दा बढी सहभागी नगराउने गरी स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्रै सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी जोशीले बताउनु भयो ।


अनलाइन डेस्क