कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २० गते)
साउन २० गते २ हजार ९ सय ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७ लाख ५ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन २० गते परीक्षण गरिएकामध्ये २६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ३ सय ५४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ६१ हजार १ सय ५१ जना निको भएका छन् । साउन २० गते १ हजार ५ सय ३५ जना निको भएका छन् भने निको हुनेको दर ९३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन २० गतेसम्म ९ हजार ९ सय ५७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन २० गते ३५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ४ सय ६४ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, बागलुङ, कास्की, बागलुङ, गोरखा, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तरी जिल्लाभरी लागु गरिएको निषेध आदेश साउन २० गतेदेखि साउन २६ गतेसम्मका लागि थप गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कोरोना सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएको निषेध आदेशको अवधि एक साताका लागि थप गर्दै साउन २६ गते सम्मका लागि निषेध आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाई स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाईका साथ पालना गरी गराई निषेध आदेशको अवधि थप गरिएको सिडिओ जयनारायण आचार्यले बताउनु भयो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले साउन ३२ गतेसम्मको लागि निषेध आदेशको अवधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले साउन २० गते जारी गरेको सूचनामा जारी निषेध आदेश साउन ३२ गते गते राति १२ बजेसम्म रहने छ । जिल्लामा कोभिड–१९ सङ्क्रमणमा कमि नआएको कारण निषेधाज्ञ थप गर्नु परेको प्रमुख जिल्ला अधिकारी दुलालले बताउनु भयो । निषेध आदेश जारी रहे पनि जिल्लाका प्रायः सबै क्षेत्र खुलेका छन् । सार्वजनिक यातायातमा मास्क समेत अनिवार्य नगरी कोचाकोच यात्रु राखेर सञ्चालन भइरहेको छ । पछिल्ला दिनहरूका सङ्क्रमणको दर पनि बढ्न थालेको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार साउन २० गते जिल्लामा ५ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको कारण हालसम्म जिल्लामा ४१ जनाको ज्यान गइसकेको छ । जिल्लामा गएको वैशाख २१ गतेबाट निषेध आदेश सुरु भएको हो ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा जारी निषेध आदेश कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको साउन २० गतेको बैठकले साउन ३२ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । बैठकले निषेध आदेश पूर्ववत आदेशहरू कायमै रहने गरी जारी गरिएको जनाएको छ । देशभर कोभिडको सङ्क्रमण बढेपछि जिल्लामा वैशाख २१ गतेदेखि निषेध आदेश जारी छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँमा जारी रहेको निषेध आदेश आगामी साउन ३२ गतेसम्म थप भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले साउन २० गते सूचना जारी गर्दै हाल कायम रहेको निषेध आदेश साउन ३२ गतेसम्म लम्ब्याउनुभएको हो । यसअघि साउन २० गतेसम्म निषेध आदेश थियो । जिल्लामा कोभिडको जोखिम अझै कम नभएको र सक्रिय सङ्क्रमितको सङ्ख्या पनि धेरै नै भएको तथा छिमेकी जिल्लाहरुमा नयाँ डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको हुँदा जारी निषेध आदेशलाई निरन्तरता दिनुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जारी गरेको सूचनामा उल्लेख छ । कोभिड–१९ को जोखिमबाट बच्न भन्दै गत वैशाख २२ गतेबाट जारी भएको निषेध आदेश पटक पटक थप गर्दै पछिल्लो पटक साउन २० गतेसम्मका लागि लम्ब्याइएको थियो ।
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्लामा जारी रहेको निषेध आदेश साउन २७ गतेसम्म थप भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले साउन १७ गते सूचना जारी गर्दै जिल्लामा जारी रहेको निषेध आदेश साउन १७ गतेबाट साउन २७ गतेसम्म लम्ब्याइएको जानकारी दिएको छ ।
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरिएका छन् । केही कर्मचारीहरूमा रुघाखोकी, ज्वरोको लक्षण देखिएपछि साउन १९ गते नौ जना कर्मचारीहरूको एन्टिजेन परीक्षण गर्दा पाँच जनाको रिर्पोट पोजेटिभ आएको थियो । अन्य कर्मचारीहरूलाई पनि कोभिड हुन सक्ने र सेवाग्राहीहरूलाई पनि जोखिम हुने भएकाले साउन २० गतेदेखि साउन २९ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्दा तथा ठाडो उजुरी बाहेकका अन्य सबै सेवा बन्द रहने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार पछिल्लो केही दिनयता जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर बढेपछि साउन २० गते वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खै ?’ भन्दै नागरिकहरूलाई मास्क वितरण गरिएको छ । प्रहरीले ‘तपाईंको मास्क खै ?’ भन्ने अभियान सञ्चालन गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासङ्घ, इन्सेक र रेडक्रस लगायतका सङ्घ–संस्थाहरूको संयोजनमा मास्क वितरण गरिएको हो । निषेधाज्ञा खुकुलो बनाएसँगै प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा मानिसको आवत–जावत बाक्लिएको र नागरिकहरूले जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नेतर्फ हेलचेक्राई गर्दै आएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरण गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । वीरेन्द्रनगरबाट सुरु गरिएको अभियान जिल्लाभर सञ्चालन गर्ने, प्रहरीको नियमित कार्य अन्तर्गत यस अभियानलाई सफल बनाउन सबैको सहयोग र समन्वयको खाँचो रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले बताउनु भयो । प्रहरीले यस अभियान अन्र्तगत वीरेन्द्रनगरका चोक–चोकमा बसेर मास्क वितरण गर्नुको साथै मास्क नलगाउने मानिसहरूलाई सचेत पार्न जनही १ सय रुपियाँ जरिबाना गर्ने गरेको डीएसपी घर्तीले जानकारी दिनु भयो । वीरेन्द्रनगरको क्याम्पस रोडबाट सुरु गरिएको मास्क वितरण कार्यक्रम धमलाचौकमा पुगेर टुङ्गिएको थियो । ५ सय भन्दा बढी नागरिकलाई मास्क वितरण गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, रेडक्रस सुर्खेतका सभापति रामप्रसाद आचार्य, इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, गैसस महासङ्घ सुर्खेतका अध्यक्ष घनश्याम केसी, सुरक्षा निकायका प्रमुख र नागरिक सङ्घ–संस्थाहरूका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…