कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १६ गते)

साउन १६ गते २ हजार २ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ९५ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन १६ गते परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार २ सय ६३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ५४ हजार १ सय ७७ जना निको भएका छन् । साउन १६ गते १ हजार ९ सय १६ जना निको भएका छन् भने निको हुनेको दर ९४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १६ गतेसम्म ९ हजार ८ सय ५७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १६ गते २३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार ३ सय ५५ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-04-16

बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकोले जिल्लामा जारी गरिएको निषेध आदेश साउन मसान्तसम्म थप गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताउनु भयो ।  वैशाख २० गतेदेखि जिल्लामा जारी गरिएको निषेध आदेश खुकुलो पार्दै साउन १ गतेदेखि १६ गतेसम्म छैटौँ पटक थप गरिएको र साउन १६ गते रातिदेखि लागु हुने गरी सातौं पटक निषेध आदेश थपिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताउनु भयो । निषेध आदेशका क्रममा पसलहरू बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा गर्न सकिने र विवाह, ब्रतबन्ध तथा धार्मिक कार्यक्रमहरूमा बढीमा २५ जना सहभागी हुने गरी कार्य सम्पादन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


अनलाइन डेस्क