कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १३ गते)

  ०७८ साउन १३ गते

साउन १३ गते २ हजार ६ सय ३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ८८ हजार ३ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन १३ गते परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ८ सय ८६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । साउन १३ गते १ हजार ९ सय ९३ जना निको भएका छन् भने निको हुनेको दर ९४.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १३ गतेसम्म ९ हजार ७ सय ९१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १३ गते ३३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४ सय ४४ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-04-13

coviddata20780413death

झापा प्रतिनिधि नरेश खातीका अनुसार मेचीनगर नगरपालिकाले साउन १३ गतेदेखि साउन १९ गतेसम्मका लागि नगरपालिका सील गर्ने निर्णय गरेको छ । नगरस्तरीय कोभिड–१९ रोकथाम नियन्त्रण तथा व्यवस्थापन समितिको साउन १३ गतेको बैठकले नगर क्षेत्र सील गर्ने निर्णय गरिएको नगरपालिकाकी निमित्त प्रमुख मीना पोखरेल उप्रेतीले बताउनु भयो । सील अवधिमा अस्पताल, स्वास्थ्य चौकी, एम्बुलेन्स, बारुणयन्त्र, औषधि पसल, खोप सेवा, फोहोरमैला सङ्कलन तथा व्यवस्थापन, विद्युत, टेलिफोन, खानेपानी र इन्टरनेट सेवा प्रदायक संस्थाका अत्यावश्यक कार्यहरू खुला रहने, दुध, अण्डा, फलफूल तरकारीका पसलमात्र बिहान ६बजे देखि ८ बजेसम्म खुला रहने निमित्त प्रमुख उप्रेतीले बताउनु भएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन २४ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको साउन १३ गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भएको छ । निषेध आदेशका समयमा स्वास्थ्य मापदण्डसहित सेवा प्रभाव गर्नुपर्ने र भौतिक दूरी अनिवार्य पालना गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशसम्बन्धी सूचनामा उल्लेख छ ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार कोभिड–१९ सङ्क्रमण जोखिम वढेपछि पालुङटार नगरपालिकाको वडा नम्बर ७ सील गरिएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेकाले कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन १३ गतेबाट साउन १९ गते राति १२ बजेसम्म वडा सील गरिएको पालुङटार नगरपालिका-७ कार्यालयले साउन १३ गते निकालेको सूचनामा उल्लेख छ । वडा सील गरिएको बेला निजी तथा सार्वजनिक यातायातका साधान, होटल, व्यापार, व्यवसाय, बैङ्क र सहकारी संस्था पुर्ण रूपमा बन्द गरिने वडा अध्यक्ष वसन्त श्रेष्ठले बताउनुभयो । अत्यावश्यक सेवा बाहेक वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द गरिएको छ । साउन १० गते ४५ जनाको कोभिड परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएपछि जोखिम बढेको वडा कार्यालयले जनाएको छ ।

स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार कोभिड सङ्क्रमण फैलिरहेको कारण भीरकोट नगरपालिकाले साउन १२ गते सूचना प्रकाशन गर्दै नगरपालिकाका विद्यालयहरूमा भौतिक उपस्थितिमा भइरहेको पठनपाठनलाई साउन १३ गतेदेखि साउन १९ गतेसम्म निषेध गरेको छ । भीरकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाद्वारा हस्ताक्षर गरिएको सूचनामा निषेध गरिएको उल्लेख छ ।


अनलाइन डेस्क