कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १२ गते)
साउन १२ गते २ हजार ७ सय २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ८५ हजार ६ सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन १२ गते परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार ६ सय ५५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् । साउन १२ गते १ हजार ७ सय ७८ जना निको भएका छन् भने निको हुनेको दर ९४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १२ गतेसम्म ९ हजार ७ सय ५८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १२ गते २० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार ८ सय ३६ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेकोले उर्लावारी नगरपालिकामा साउन १९ गते सम्म लकडाउनको घोषणा गरिएको छ । कोभिड–१९ को सङ्क्रमण बढेकाले लकडाउनको गर्ने निर्णय गरिएको उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनु भएको छ । लकडाउनका समयमा अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द हुने नगरपालिकाद्वारा जारी लकडाउनसम्बन्धी सूचनामा उल्लेख छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेकोले अर्जुनधारा नगरपालिका साउन १९ गते सम्म सील गरिने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढेकाले नगरपालिकाले सील गर्ने निर्णय गरेको नगरपालिकाका मेयर हरिकुमार रानाले बताउनु भएको छ । सीलका समयमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द हुने नगरपालिकाले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सञ्चालित कोभिड परीक्षण मेशिनमा समस्या आउँदा साउन १२ गतेदेखि पीसीआर परीक्षण बन्द भएको छ । कोभिड–१९ परीक्षणका लागि जिल्लामा रहेको एक मात्र मेशिनमा प्राविधिक समस्या आएपछि साउन १२ गतेदेखि पीसीआर परीक्षण सेवा बन्द भएको अस्पतालले जनाएको छ । कोभिड सङ्क्रमणको सङ्ख्या पुनः बढेको बेला पीसीआर परीक्षण सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । साउन १० गते ४० जनाको पीसीआर परीक्षण गराउँदा २५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको थियोे ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखामा हालसम्म ५६ हजार जनाले कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने ७ हजार १ सय ३९ जनाले दोस्रो डोज पनि लगाएको स्वास्थ्य कार्यालय गोरखाका खोप कोल्डचेन निरिक्षक ऋषि खत्रीले बताउनुभयो । जिल्लामा खोप लगाएका मध्ये ९ हजार ९ सय ६ जनाले जोन्सन खोप लगाएका छन् । हिमाली चुमनुव्री गाउँपालिकामा भने १८ देखि ५४ वर्ष उमेर समुहका २९ सय ४७ जनाले भेरोसिल खोप लगाइ सकेका छन् । अहिले खोप लगाउन छुटेका ५५ वर्ष माथिकाहरुका लागि पनि खोप कार्यक्रम चलिरहेको छ । गोरखा नगरपालिका, अजिरकोट, सिरानचोक, शहिद लखन गर भिमसेन थापा गाउँपालिकामा ५५ वर्ष माथि छुट भएकाहरुलाई खोप लगाउने काम सकिएको भने अन्य गाउँपालिकामा ५५ वर्ष माथि छुट भएकालाई खोप लगाउने काम जारी रहेको खत्रीले बताउनुभयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार कोभिड १९ विरुद्धको खोप बागलुङका ५१ हजार नागरिकले लगाइ सकिएको छ । पछिल्लो समय खोपको आयात बढे सगै चरणबद्ध रुपमा खोप लगाउने कार्य तीव्र बनाइएको छ । जिल्लामा ६० हजार डोज कोभिड–१९ विरुद्धको खोप भित्रिसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । जसमध्ये ५१ हजार ४ सय ८७ जना नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार, कोभिसिल्ड खोप दुई डोजनै लगाएका १८ हजार ९ सय ८७ रहेका छन् भने पहिलो मात्रै लगाएका १४ हजार ५ सय ४० जनालाई दोस्रो डोज खोप लगाउन बाँकी छ । जिल्लामा पूर्ण खोप लगाउने नागरिक भने ३३ हजार २ सय ७७ छन् । पछिल्लो समय आएको अमेरिकन खोप जोन्सन एण्ड जोन्सन एक डोज लगाएकालाई पूर्ण खोप मान्दै आइएको छ । कोभिडशिल्ड खोप पछिल्लो समय आयात नुहँदा ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो डोज लगाउन बाँकी छ । उक्त खोप केही मात्रमा भित्रिने र एस्टाजेनेका खोपलाई दोस्रो डोजको रुपमा लगाउने तयारी रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।
‘सुरुमै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई दुई डोजनै कोभिडशिल्ड लगाइए पनि ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप नआउँदा दोस्रो डोज लगाउनै बाँकी छ ।” –उहाँले भन्नुभयो –‘ अहिले केही मात्रमा कोभिडशिल्ड खोप आयात गर्ने र नपुगेकालाई सोही फर्मूलाबाट बनेको एस्टाजेनेका खोप लगाउने तयारी छ, असोज महिनासम्म सबै नागरिकलाई खोप लगाउने गरी तयारी थालिएको स्वास्थ्य मन्त्रालयबाट जानकारी आएको छ ।” जिल्लामा खोप केन्द्र व्यवस्थित नभएको र लक्षित वर्ग भन्दा बाहिरकालाई समेत खोप लगाइएको गुनासोमा कार्यालय प्रमुख गुरौंले असोज भित्र सबैलाई खोप लगाउने भएकाले अबदेखि उमेर समूहका आधारमा खोप लगाउने तयारी गरिएको बताउनुभयो । अहिले लक्षित वर्ग भन्दा साथ खोपमा अनावश्यक दबाब, दुरुपयोग र तनाव भएकाले यसमा केही व्यवस्थित विकल्पमा लागिएको उहाँको भनाइ छ ।
६५ वर्ष माथिका १४ हजार ५ सय ४० जना कोभिडशिल्ड खोप लगाएकालाई सोही खोप आउन ढिला गरेकाले अब अर्को खोप दोस्रो डोजको रुपमा लगाइनेछ । सबैलाई खोप लगाइने भएकाले खोप केन्द्रमा अनावश्यक भिडभाड नगर्न नागरिकलाई स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । खोप सुपरभाइजर खत्रीका अनुसार जिल्लामा भेरोसेल खोपको पहिलो डोज २२ हजार २ जनालाई लगाइएको र दोस्रो डोज भने १८ हजार १२ जनालाई लगाउन बाँकी छ । यस्तै, १२ हजार ६० डोज जोनसेन एण्ड जोनसेन खोप आएकोमा १० हजार ३ सय नागरिकलाई लगाइएको छ । बागलुङमा १८ वर्ष माथिका १ लाख १ सय ८१ जनालाई खोप लगाउनुपर्ने तथ्याङ्क सङ्कलन गरिएको छ । आगामी दिनमा ४० वर्ष देखि माथिका सबैलाई अथवा १८ वर्ष देखि माथिका सबैलाई खोप लगाउने नीति बनाउने सरकारको तयारी छ । जिल्लामा अहिले स्वास्थ्य चौकी, स्वास्थ्य शाखा र स्वास्थ्य केन्द्र गरी ७० ओटा खोप केन्द्र छन् । स्वास्थ्य कार्यालयले निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा समेत सबै खोप केन्द्रमा खोप पु¥याउँदै आएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंका अनुसार तापक्रम मिलाउनुपर्ने भएकाले खोप सप्लाई गर्ने काम समेत निकै चुनौतिपूर्ण रहेको बताउनुभयो । स्वास्थ्य कार्यालय सहित गलकोट, बडिगाड, बुर्तिबाङ र बरेङमा तापक्रम व्यवस्थापन गर्ने औजार व्यवस्थापन गरेकाले केही सहज भएको छ । “तापक्रम व्यवस्थापनका लागि जिल्ला सदरमुकाम बाहेक पाँच स्थानमा रेफ्रिजेनेटर राखिएको छ, त्यस स्थानबाट खोप केन्द्रमा बोकेर समेत खोप पुर्याउँदै आएका छौ ।”–गुरौंले भन्नुभयो–‘सवारी साधन बन्द भएको स्थानमा तीन-चार दिन अगावै खोप पठाएर सुरक्षित भण्डारण गरिदै आएका कारण हालसम्म समस्या परेको छैन ।’
पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले जारी निषेध आदेशलाई खुकुलो बनाउँदै थप गर्ने निर्णय गरेको छ । समितिको साउन १० गते बसेको बैठकले यसअघि ५ बजेसम्म सञ्चालन हुने सबै किसिमका पसलहरू साँझ ७ बजेसम्म खोल्ने, यातायातमा जोरबिजोर प्रणाली हटाउँदै स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । ०७८ वैशाख १७ गतेदेखि जारी निषेध आदेश पटक पटक थप हुदै आएको थियो । निषेध आदेश अवधिभर १५ जनाभन्दा बढी भेला हुन नपाउने जनाइएको छ ।
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्लामा अर्को आदेश नहुँदा सम्मका लागि शिक्षण संस्था तथा तथा सभा सम्मेलन सञ्चालन नहुने गरी निषेध आदेश खुकुलो पारिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको साउन १० गते बसेको बैठकले अर्को आदेश नभए सम्मकालागि उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । जिल्लामा ०७८ वैशाख १८ गतेदेखि जारी निषेध आदेश पटकपटक थप गरिएको थियो । हाल जिल्लामा १ सय ७५ जना सक्रिय सङक्रमित रहेका छन् ।
बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको साउन १० गतेको बैठकले साउन २५ गतेसम्म निषेध आदेश थप गरेको छ । यस अवधिमा होटेल, विद्यालय, पार्लर, सैलुन, रेष्टुरेन्ट, जिमखाना, मठ मन्दिर, पार्टी प्यालेस, खेलकुद तथा मनोरञ्जनात्मक स्थल सहितका भिडभाड हुने पसलहरू सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनु भयो । स्वास्थ्य मापदण्द अपनाएर दैनिक उपभोग्य बस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ बजेदेखि साझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । यस्तै लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरू स्वास्थ मापदण्डको पालना गरि बिहान ७ बजेदेखि साझ ६ बजेसम्म सञ्चलान गर्न पाइने छ । जिल्लामा पहिलो पटक ०७८ वैशाख १३ गतेदेखि जारी निषेध आदेश पटकपटक थप गरिदै आएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…