कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १० गते)

साउन १० गते १ हजार ५ सय ३९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ८० हजार ५ सय ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन १० गते परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ५ सय ६९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ४३ हजार ६ सय १५ जना निको भएका छन् । साउन १० गते २ हजार ५० जना निको भएका छन् भने निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १० गतेसम्म ९ हजार ७ सय १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १० गते १८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार २ सय २८ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-04-10

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १, सरकारले कोभिड–१९ विरूद्धको खोप साउन ९ गतेदेखि प्रदेशभर वितरण शुरू गरेको छ । १४ ओटै जिल्लामा खोप वितरण शुरू गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट साउन ८ गते प्राप्त भएको खोप वितरण शुरू गरिएको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले बताउनु भएको छ । प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भाइल (२ लाख ४० हजार डोज) जोनसन एण्ड जोनसन खोप आएको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले बताउनु भयो । भेरोसेल खोप लगाइसकेपछि मात्र जोनसन खोप वितरण शुरू गरिने शाहको भनाइ छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या बढेकोले दमक नगरपालिकाले साउन १२ गतेदेखि साउन १७ गते सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । साउन १० गतेको कोभिड–१९ प्रतिकार्य बैठकले लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाका मेयर रोमनाथ ओलीले बताउनु भएको छ । लकडाउनका समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने नगरपालिकाद्घारा साउन १० गते जारी सूचनामा उल्लेख छ । लकडाउनको पूर्ण परिलानाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने दमक नगरपालिकाले जनाएको छ ।

इलाममा कोभिड–१९ को सङ्क्रमण बढेकोले जिल्ला प्रशासन कार्यालयले साउन १५ गते सम्मका लागि लकडाउन हुने सूचना सार्वजनिक गरेको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्रको साउन ७ गतेको बैठकले साउन १५ गते सम्म जिल्लामा लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भएको छ । लकडाउनका समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालयद्घारा साउन १० गते लकडाउनसम्बन्धी सूचनामा उल्लेख छ ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साउन ११ गतेदेखि साउन २० गतेसम्म १० दिन निषेध आदेशको अवधि थप्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको साउन ९ गतेको बैठकले थप १० दिन निषेध आदेश थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञा थप भए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको जानकारी दिनुभयो । थप भएको निषेध आदेशमा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन । यसअघि जिल्ला प्रशासन कार्यालयले लामो दुरीका सवारीसाधनहरू चल्न अनुमति दिएको थिएन । तर, गृहमन्त्रालयबाटै पत्राचार भएपछि साउन ८ गते सूचना जारी गर्दै लामो तथा मध्यम दूरीका सवारीसाधन चल्न दिने अनुमति दिएको थियो ।

रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नआएपछि जिल्लामा निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय सङ्कट व्यवस्थपन केन्द्र र जिल्ला सुरक्षा समितिको साउन ९ गतेको बैठकको निर्णय अनुसार साउन १७ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङले जानकारी दिनुभयो । जारी निषेधाज्ञामा सार्वजनिक स्थलमा मानिसलाई जम्मा हुन, सभा, जुलुस तथा भेला गर्न रोक लगाइएको छ । जिल्लामा सञ्चालित पसल तथा होटल बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म मात्र खुल्न पाउने छन् । अति आवश्यक बाहेक तालिम, गोष्ठि सञ्चालन गर्न पाइने छैन । हाटबजार, मेला, जात्रा गर्न रोक लगाइएको छ । नियमित दैनिक पूजा बाहेक अन्य धार्मीक कार्यक्रममा रोक लगाइएको छ । विद्यालय, पुस्तकालय, पार्टी प्यालेस, जिमखाना लगायतका स्थान समेत सञ्चालनमा रोक लगाइएको छ ।


अनलाइन डेस्क