कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ८ गते)
साउन ८ गते १ हजार ९ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ७६ हजार ७ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साउन ८ गते परीक्षण गरिएकामध्ये १४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १३ हजार ६ सय ९८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख ३९ हजार ३ सय ६८ जना निको भएका छन् । साउन ८ गते १ हजार ६ सय ७८ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन ८ गतेसम्म ९ हजार ६ सय ७९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ८ गते १८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ६ सय ६१ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन १४ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको साउन ८ गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भएको छ । निषेध आदेशको समयमा बजार तथा पसल साँझ ७ बजेसम्म पसल सञ्चालन गर्न पाउने, लामो तथा छोटो दूरीको सवारीसाधन सञ्चालनका लागि अनुमति रहेको जिल्ला प्रशासन कार्यालयद्घारा निषेध आदेश सम्बन्धी सूचनामा उल्लेख छ । कोभिड–१९ को सङ्क्रमण बढेकोले अर्जुनधारा नगरपालिकाले साउन ८ गतेदेखि साउन १५ गते सम्मका लागि वडामा सील गरेको छ । साउन ८ गतेको बैठकले वडामा सील गर्ने निर्णय गरिएको अर्जुनधारा नगरपालिका–८ का वडाध्यक्ष गोपीचन्द्र गौतमले बताउनु भएको छ । कोभिड–१९ सङ्क्रमण बढेकाले कन्काइ नगरपालिकाले साउन ८ गतेदेखि साउन १६ गतेसम्मका लागि सील गरेको छ । नगरस्तरीय कोभिड–१९ प्रतिकार्य समितिको साउन ८ गतेको बैठकले नगरपालिकाका सबै वडा सील गर्ने निर्णय गरिए बमोजिम नगरपालिका सील गरिएको नगरपालिकाद्घारा जारी सूचनामा उल्लेख छ । सील अवधिभर नगरपालिका कार्यालय तथा वडा कार्यालयवाट प्रवाह हुने सेवा बन्द रहने नगरपालिकाले जनाएको छ । सीलको उल्लङ्घन गरेकामा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कोभिड–१९ का कारण निषेधाज्ञा कायमै रहेको अवस्थामा पनि जिल्लाबाट छुट्ने लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीका साधान सआउन ८ गतेबाट चल्ने भएका छन् । त्रिभुवन विश्व विद्यायल, लोक सेवा आयोग लगायतले भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी परीक्षा कार्यक्रम सार्वजनिक गरेकोले त्यसलाई मध्यनजर गरी जनस्वास्थ्यको मापदण्ड पुरा गरेर मध्यम तथा लामो दुरीको सवारीका साधन सञ्चालन गर्न सम्बन्धमा नेपाल सरकार मन्त्री स्तरको निर्णय अनुसार अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले बताउनुभयो ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार नीलकण्ठ नगरपालिका–६ का एक वृद्धको कोरोना विरुद्धको खोप लगाएको एक घण्टामा मृत्यु भएको छ । हिँडेर खोप केन्द्र गएका नीलकण्ठ नगरपालिका–६ सुनौलाबजार ७८ वर्षीय पुरुषको खोप लगाएको एक घण्टा भित्रै मृत्यु भएको हो । जोनसेन खोप लगाएर घर फर्किएपछि बेहोस भएर ढलेको र तत्काल सोही स्वास्थ्य चौकीमा लगिएकोमा उपचार सम्भव नभएपछि बुबाको मृत्यु भएको मृतकका छोराले बताउनु भयो । नियमित सुगरको औषधी सेवन गरिरहने वृद्धको खोपकै कारण मृत्यु भएकोले अनुसन्धान गर्नुपर्ने र त्यसको कारण पत्ता नलाग्दासम्मा खोप कार्यक्रम स्थगित गर्नुपर्ने धादिङ उद्योग वाणिज्य सङ्घका वरिष्ट उपाध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयो । घटना भएकोले मृत्यु बारे अनुसन्धान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी जनार्दन सिलवालले बताउनु भएको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लामा जारी निषेध आदेश १५ दिन थप भएको छ । साउन ८ गते बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले साउन २४ गतेसम्म निषेध आदेश जारी गर्नुभएको हो । यस अघि जारी निषेध आदेश साउन ९ गते राति १२ बजेसम्म भएको थियो । कोभिड –१९ सङ्क्रमणको दर, प्रवृत्ति र मृत्यूदरको विश्लेषणको आधारमा निषेध आदेश थप भएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताउनुभयो । निषेध आदेशको अवधिमा सबै प्रकारका भेला, सभा सम्मेलन, गोष्ठी गर्न रोक लगाइएको छ । दैनिक उपभोग्य सामाग्रीका पसल भने बिहान पाँच बजेदेखि साँझ ७ बजेसम्म खुल्ने छन् । जिल्ला भित्र सार्वजनिक तथा नीजि सवारी सञ्चालन पनि खुल्ला भएको छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार जिल्लामा जारी रहेको निषेध आदेशको अवधि खुकुलो गरी थप भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाले साउन ७ गते सूचना जारी गर्दै निषेध आदेश साउन ७ गते राति १२ बजेदेखि साउन २२ गते राति १२ बजेसम्म जारी रहने जानकारी दिएको छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्लामा जारी निषेध आदेश साउन २० गतेसम्मको लागि थप भएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको साउन ८ गते बसेको बैठकले जारी निषेध आदेशलाई साउन २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । बैठकले बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म रेष्टुरेण्ट तथा खाजा घर सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५…