कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३१ गते)

  ०७८ असार ३१ गते

असार ३१ गते १ हजार ७ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६२ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार ३१ गते परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार ३१ गते २० वर्ष मुनिका २ सय ८ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार २ सय ५६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख २६ हजार ४ सय ६८ जना निको भएका छन् । असार ३१ गते १ हजार ७ सय ५७ जना निको भएका छन् भने निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार ३१ गतेसम्म ९ हजार ४ सय ६३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ३१ गते ३३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ८ सय २२ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की र सुर्खेतमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-03-31

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन ७ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार ३१ गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालयले असार ३१ गते जारी गरेको सूचनामा निषेध आदेशका समयमा सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमित रहेको उल्लेख छ ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले असार ३१ गते एक सूचना जारी गरी साउन मसान्तसम्म निषेध आदेश थप गरिएको जनाएको छ । कोभिड–१९ को स्वास्थ्य मापदण्ड पालना गरी साउन मसान्तसम्म गर्न पाइने र गर्न नपाइने कार्यको सूचीका आधारमा निषेध आदेश थप गरिएको हो । हाटबजार, मेला, भेला, सामूहिक भोज, नाचगान, जुलुस, र्‍याली नगर्ने नगराउने तर निधो भैसकेको विवाह र धार्मिक सांस्कृतिक नृत्य स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रूपमा अवलम्बन गर्ने शर्तमा नगरपालिका तथा गाउँपालिकाको कार्यालयको अनिवार्य लिखित स्वीकृतिमा मात्र १० जनामा नबढ्ने गरी घरमै विधि पुर्‍याई सम्पन्न गर्ने, डिजे बाजा नबजाउने र ध्वनी प्रदुषण नगर्ने र भौतिक उपस्थितिमा शिक्षण कक्षा वा परिक्षा संचालनमा रोक लगाएकोमा त्यसलाई निरन्तरता दिने र पछि छुट्टै निर्देशन प्राप्त भएमा सोही अनुसार गर्ने विषयमा सूचना प्रकाशन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । स्वास्थ्य मापदण्डलाई प्रथमिकतामा राख्न सबैमा सूचनामार्फत अनुरोध गरिएको छ । सो अनुरुप नभएमा सङ्क्रमण रोग ऐन, २०२० एवम् कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०२८ बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।

कोभिड–१९ को सङ्क्रमण कम नभएको भन्दै काठमाडौँ उपत्यकामा साउन १० गतेसम्म निषेध आदेश थप गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले व्यापार व्यवसाय गर्ने अवधि थप गर्दै बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनु भयो । साथै म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार जिल्लामा जारी रहेको निषेध आदेश पुनः एक साता थपिएको छ ।  जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको ०७७ असार ३१ गतेको बैठकले साउन ७ गतेसम्मका लागि निषेध आदेश थप गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा जारी निर्देशनमा खाद्यान्न पसल बिहान ११ बजेसम्म र गैर खाद्यान्न पसल ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । सार्वजानिक सवारी साधनमा भने बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । बाँकी अन्य निर्णय भने पुरानै कायम रहने जनाइएको छ । जिल्लामा गत वैशाख १९ गतेदेखि निषेध आदेश जारी छ ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा जारी निषेध आदेशलाई साउन १० गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–९ सङ्कट व्यवस्थापन केन्द्रको असार ३१ गतेको बैठकले निषेध आदेश थप गर्ने निर्णय गरेको हो । देशभर कोभिड–१९ भाइरसको सङ्क्रमण बढेपछि गत वैशाख २१ गतेदेखि निषेध आदेश जारी छ ।

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्लामा जारी निषेध आदेश साउन ७ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले असार ३१ गते आदेश जारी गर्दै साउन निषेध आदेश थप गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा अझै पनि कोभिड–१९ सङ्क्रमण न्यूनीकरण नभएकाले निषेध आदेशको अवधि लम्ब्याइएको बताउनुभयो । जिल्लामा अवदेखि स्वास्थ्य मापदण्ड पुरा गरी ग्राहकले रेष्टुरेन्टमै बसेर खान पाउने भएका छन् ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङमा जारी रहेको निषेध आदेश केही खुकुलो बनाउँदै थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले असार ३१ गते सूचना जारी गर्दै जिल्लामा जारी रहेको निषेध आदेश साउन ७ गतेसम्म थप गरेको जनाएको छ ।

बझाङ प्रतिनिधि रमेश केसीका अनुसार असार ३० गते बसेको डिसीसीएमसीको बैठकले कोभिड सङ्क्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेध आदेश केही लचिलो बनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी महोनप्रसाद अधिकारीले बताउनु भयो । कोभिड सङ्क्रमण घट्दो क्रममा रहेकाले जन स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरी पसल, यातायतका साधान, सरकारी तथा गैरसरकारी कार्यालयहरु सुचारु रहने गरी निषेध आदेशलाई सरलिकरण गरिएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अधिकारीले बताउनु भयो । विद्यालय सञ्चालन गर्ने सम्बन्धमा सङ्घीय सरकारले गर्ने निर्णय अनुसार गरिने र हाललाई भने विद्यालयहरु भने बन्द नै रहने अधिकारीले बताउनु भयो ।

कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार काोभिड सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेध आदेश साउन ७ गतेसम्मका लागि थप गरिएको छ । डिसीसीएमसीको असार ३१ गते बसेको बैठकले निषेध आदेश साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय भएको हो । कोभिड सङ्क्रमण घटदो क्रममा रहेकाले जन स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरी विहान ६ बजेदेखि साँझ ६ बजेसम्म पसलहरु खोल्न पाउने, सार्वजनिक सवारी साधनहरु  बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मको अवधिमा सेवा सुचारु गर्न सकिने गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताउनु भयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार ३१ गतेसम्म १७ हजार १ सय ७७ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोभिड १९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार ३१ गते)


अनलाइन डेस्क