कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २६ गते)

असार २६ गते १ हजार ३ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५४ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार २६ गते परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार २६ गते २० वर्ष मुनिका १ सय ८२ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ५ सय ३० ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख १८ हजार ३ सय ६१ जना निको भएका छन् । असार २६ गते १ हजार ४ सय ३२ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार २६ गतेसम्म ९ हजार ३ सय ६२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २६ गते २२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६४ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-03-26

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय साउन ३ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार २६ गतेको बैठकले केही खुकुलो गरी निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो । निषेध आदेशमा जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालनका अनुमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सवारी साधन स्वास्थ्य मापदण्डसहित सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खाद्यान्न, तरकारी र फलफुलका पसलहरू बिहान ६ बजे देखि साँझ ६ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ । त्यस्तै सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्थाहरु र सहकारी संस्था जनस्वास्थ्यका मापदण्ड पालना गर्दे सुचारू गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ ।

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा एक साताका लागि निषेध आदेशको अवधि थप गरेको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको असार २५ गतेको बैठकले निषेध आदेशलाई अझ खुकुलो बनाउँदै साउन १ गतेसम्मका लागि अवधि थप गरेको हो । कोभिड-१९ सङ्क्रमित र मृत्यु दरको सङ्ख्या क्रमिकरूपमा कम भएपनि पछिल्लो तथ्याङ्कले जोखिम उस्तै भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै थप खुकुलो बनाउँदै एक साताका लागि निषेध आदेश थपिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार २६ गतेसम्म १६ हजार ६ सय ४९ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोभिड १९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार २६ गते)


अनलाइन डेस्क