कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १५ गते)

कात्तिक १५ गते २ हजार ५ सय ८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९ हजार २ सय ७९ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक १५ गतेसम्म ९ सय ३७ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कात्तिक १५ गते थप १७ जना सङ्क्रमितको मृत्यु भएको हो । सङ्क्रमितमध्ये १ लाख ३१ हजार २ सय २२ जना निको भएका छन् । कात्तिक १५ गते २ हजार २ सय ६४ जना निको भएका छन् भने निको हुनेको दर ७६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ३८ हजार ५ सय ८४ जनाको उपचार भइरहेको छ । ३१ हजार ८ जना होम आइसोलेशनमा छन् भने २ सय ९६ जनाको उपचार आइसीयूमा र ६९ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।

कर्णाली प्रदेश
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार तातोपानी गाउँपालिकामा एक जना स्वास्थ्यकर्मीलाई कोभिड–१९ को सङ्क्रमण देखिएपछि स्वास्थ्य चौकी सील गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा कात्तिक १३ गते स्वास्थ्य कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको हो । तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण देखिएपछि कात्तिक १३ गतेदेखि तीन दिनका लागि स्वास्थ्य चौकी सील गरिएको हो ।


अनलाइन डेस्क