कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २४ गते)

असार २४ गते १ हजार २ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार २४ गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार २४ गते २० वर्ष मुनिका १ सय ३३ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ३ सय ७४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ लाख १५ हजार ६ सय १३ जना निको भएका छन् । असार २४ गते १ हजार २ सय ८६ जना निको भएका छन् भने निको हुनेको दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार २४ गतेसम्म ९ हजार ३ सय २० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २४ गते २९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या २६ हजार ६ सय २२ रहेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँमा जारी निषेध आदेश असार २४ गतेदेखि असार ३१ गतेसम्म जारी रहने भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा असार २३ गते विहान बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोभिड–१९ को जोखिम अझै कम नभएको र समुदाय स्तरमा व्यापक फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङद बरालले बताउनु भयो ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार २२ गते बसेको बैठकले असार ३१ गतेसम्म निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । दोस्रो लहरको सङ्क्रमणबाट जिल्लामा ९१ जनाको मृत्यु भएको छ । हाल जिल्लामा ५ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

रुकुम (पश्चिम) प्रतिनिधि मनिषा केसीका अनुसार कोभिड–१९ को सङ्क्रमण नघटेपछि जिल्ला प्रशासन कार्यालयले असार २५ गतेदेखि साउन १ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनु भयो । उहाँका अनुसार बैङ्क तथा वित्तीय संस्था बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्नेछन् । त्यसैगरी पसल व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ला रहने छन् ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार २४ गतेसम्म १६ हजार ४ सय २३ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोभिड १९ को सड्ङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार २४ गते)

 


अनलाइन डेस्क