कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १४ गते)

असार १४ गते १ हजार ५ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३५ हजार १ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १४ गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार १४ गते २० वर्ष मुनिका १ सय ७० जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ६ सय ४८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ८८ हजार १ सय ८७ जना निको भएका छन् । असार १४ गते ३ हजार ८ सय ५३ जना निको भएका छन् भने निको हुनेको दर ९२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार १४ गतेसम्म ९ हजार ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १४ गते ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ३७ हजार ९ सय ५० देखाइएको छ ।

Corona Infographics 2078-03-14

data20210628covid

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार २१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गतेको बैठकको निर्णय अनुसार निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनु भयो । निषेध आदेशको समयमा बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म बजार पसल सञ्चालन गर्न पाइने भएको छ । सार्वजनिक यातायातका साधन सञ्चालनमा भने रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार २१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गतेको बैठकले निषेध आदेशको समय असार २१ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भयो । निषेध आदेशको समयमा अत्यावश्यक सेवा बाहेकका पसलहरू बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताउनु भएको छ । निजी सवारीसाधन, सिटीसफारी, अटो रिक्सा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी जोरबिजोर प्रणालीका आधारमा जिल्लाभर सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार २२ गतेसम्मका लागि थप गरिएको छ । कोभिड–१९ को सङ्क्रमण तथा जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले जारी राखेको निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भयो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गतेको बैठकले निषेध आदेशको समय थप गरेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भयो । निषेध आदेशको समयमा नागरिकता फाँट, मालपोत, नापी कार्यालयको सेवा प्रवाह आलोपालो प्रणालीबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख  छ । खाद्यान्न, तरकारी, विद्युतीय सामग्री, कपडालगायतका पसललाई नेपाल सरकारले तोकेको मापदण्ड पालना गरी साँझ ५ बजेसम्म सञ्चालन गर्न दिइने पनि सूचनामा उल्लेख छ ।

पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार जिल्लामा असार २१ गतेसम्म निषेध आदेशको समय थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गतेको बैठकले असार २१ गतेसम्म निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनु भयो । निषेध आदेशको अवधिमा सवारी साधन, पसल सञ्चालन तथा मानिस आवागमन, खेलकुद, मनोरञ्जन स्थल, होटल रेष्टुरेण्टलाई रोक लगाइएको छ । यसैगरी सहकारीहरूलाई बचत सङ्कलनमा रोक लगाइएको छ । अत्यावश्यक पसलहरू बिहान ५ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो । जिल्लामा कोभिड–१९ को सङ्क्रमण नरोकिएको भन्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दको कार्यसम्पादन माथि स्थानीयले असन्तुष्टी जनाएका छन् । कोभिड– १९ द्रुत कार्य समूहका अध्यक्ष नन्द नेम्वाङले निषेध आदेश लागू गरिएको ४५ दिन पुग्दा समेत दिनानुदिन सङ्क्रमित बढेकाले र सो निकायले प्रभावकारी कदम चाल्न नसकेको नेम्वाङको आरोप छ । मानव अधिकारकर्मी प्रेम ओझालस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न गराउन नसकिएकाले महामारी नियन्त्रण हुन नसकेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गिरिराज बाँस्कोटाले स्थानीय प्रशासनद्वारा जारी आदेश पालना गर्न गराउन नसक्दा समस्या भएको बताउनु भएको छ ।

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार २१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गतेको बैठकले निषेध आदेशको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भएको छ । निषेध आदेशको समयमा स्वास्थ्य मापदण्डसहित बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म बजार तथा पसल सञ्चालनका लागि अनुमति दिइएको छ । बैङ्क तथा वित्तीय संस्थाले नियमित सेवा प्रवाह गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार २१ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गतेको बैठकले असार २१ गतेसम्मका लागि निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनु भएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै गत वैशाख २६ गतेबाट निषेध आदेश जारी छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा जारी निषेध आदेशको समय असार २२ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गतेको बैठकले निषेध आदेशको समय थप गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भएको छ । निषेध आदेशको समयमा जिल्लाभर ट्याम्पो, सिटी सफारी र निजी सवारी साधनहरू भने जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । खाद्यान्न, बिउबिजन र औषधि पसल सञ्चालन गर्न पाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भएको छ ।

प्रदेश २

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोभिड–१९ सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख २१ गतेदेखि जारी गरेको निषेध आदेशलाई असार २१ गते राति १२ बजेसम्म निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोेलाले बताउनु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गते बसेको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमण दरमा सुधार भएको समीक्षा गर्दै थप एक साता निषेध आदेश लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनु भएको हो । असार २१ गतेसम्म धनुषा जिल्लाबाट अन्य जिल्लामा लामो तथा छोटो दुरीका सार्वजानिक सवारीसाधन सञ्चालन नगर्ने, भारतको सीमानाका पूर्णरुपमा बन्द गर्ने लगायतका १२ बुँदे निर्णय गरेको पनि उहाँले जानकारी दिनु भयो ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गते बसेको बैठकले असार २१ गते राति १२ बजेसम्म लागु हुने गरी निषेध आदेशको अवधि थप गरेको छ । यसअघि असार १४ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरिएको थियो । कोभिड सङ्क्रमणको मृत्युदर कम भएपनि जोखिमको अवस्था अहिले पनि कायमै रहेकाले निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनु भयो । स्थानीय प्रशासन ऐ्न २०२८ को दफा ६ को उपदफा (३), सङ्क्रमण रोग ऐन, २०२० को दफा (२) र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको अध्यादेश, २०७८ को दफा ५ (२) बमोजिमको जिल्लाभर निषेध आदेशको अवधि थप गरिएको तामाङले जानकारी दिनु भयो ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साको असार १४ गते बसेको बैठकले असार २० गतेसम्म निषेध आदेशलाई निरन्तरता दिने सिफारिश गरेबमोजिम प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले वैशाख १६ गतेदेखि जारी निषेध आदेशलाई नवौँ पटक थप गर्दै असार २० गतेसम्म लम्ब्याउनु भएको छ । निषेध आदेश एक साताको लागि थप गरिएपनि यसअघि बजार बिहान १० बजेदेखि ५ बजेसम्म खुला गर्ने भनिएकोमा अब पूर्ववत रूपमा सञ्चालनमा आउन दिने निर्णय गरिएको छ । आदेशमा बजार सञ्चालनको लागि समयावधि हटाइएको छ । यसैगरी, जोरबिजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनको अनुमति दिइएकोमा सो पनि हटाइएको छ । नारायणी अस्पतालमा बन्द रहेको बहिरङ्ग (ओपिडी) सेवा सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । ओपिडी सेवालाई असार १४ गतेदेखि सञ्चालनमा ल्याउन भनिए पनि एक/दुई दिन समयावधि लम्बिन सक्ने मेडिकल सुपरिटेण्डेण्ट डाक्टर वीरेन्द्र प्रधानले बताउनु भयो ।

बागमती प्रदेश

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार भरतपुर कारागारमा रहेका २४ वर्षीय थुनुवाको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि नवलपरासीको कारागारमा रहेका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि अदालतको अनुमतिमा भरतपुर कारागार पठाइएको थियो । असार ४ गते भरतपुर कारागार ल्याइएका उनको स्वास्थ्य अवस्था झनै जटिल बनेपछि असार ९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको कारागारका प्रमुख कमलप्रसाद काफ्लेले बताउनु भयो । उनलाइ असार १० गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । भरतपुर कारागारमा अहिले ६ सय ७७ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ५१ जना महिला, तीन जना आश्रित बालिका र ६ सय २३ जना पुरुष रहेका छन् ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्लामा कोभिड सङ्क्रमणको जाखिम कायमै रहेको भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले असार २१ गतेसम्मका लागि निशेध आदेश थप गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गते बसेको बैठकले केही मात्रामा खुकुलो बनाउँदै निशेध आदेश एक साता थप गर्नका लागि स्थानीय प्रशासनलाई सिफारिस गरे अनुसार एक सातासम्म लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो । थप गरिएको अवधिमा नेपाल सरकारले तोकेको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी होटलहरू साँझ ६ बजेसम्म सञ्चालन गर्न पाउने छन् भने सबै किसिमका सवारी साधानहरू जोरबिजार प्रणालीमा सञ्चालन गर्न पाउने भएका छन् । तर, सवारी साधन जिल्ला बाहिर जान र अन्यत्रबाट जिल्ला भित्रिन भने रोक लगाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गते बसेको बैठकको निर्णय अनुसार असार २१ गते राति १२ बजेसम्मको लागि निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनु भयो । थपिउको अवधिमा सार्वजनिक यातायात सञ्चालनमा रोक लागाइएको छ भने तोकिएको दु्ई समय बिहान र बेलुका खाद्यान्न र अन्य व्यवसाय दिउँसो ११ बजेदेखि साँझ ७ बजेसम्म खोल्न अनुमित दिइएको छ ।

गण्डकी प्रदेश

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेध आदेशलाई केही खुकुलो बनाउँदै असार १५ गते राति १२ बजेदेखि असार २५ गते राति १२ बजेसम्म थप गरेको छ । जिल्ला प्रशासन कार्यालयले असार १४ गते आदेश जारी गर्दै निजी तथा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागु गरिने जनाएको छ । निषेध आदेशको अवधिभर जिल्ला भित्र चल्ने सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागु भएपनि लामो दुरिका सवारीसाधन भने चल्न पाउने छैनन् । डिपार्टमेण्टल स्टोर, सुनचाँदी, स्टेशनरी, खेलकुद, भाँडा, अटो मोबाइल्स, कपडा तथा फेन्सी पसल र निर्माणजन्य सामग्रीका पसलहरू स्वास्थ्य मापदण्ड पालना गरी बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने आदेशमा उल्लेख छ ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले पर्वतमा असार १४ गते राति १२ बजेदेखि लागु हुने गरी १० दिनको लागि निषेध आदेशको अवधि थप गरेको छ । समितिले जिल्लामा कोभिडका सङ्क्रमित २ सय ३५ पुगेपछि निषेध आदेशलाई पुनः कडाई गर्ने गरी असार २४ गते राति १२ बजेसम्म लागु हुने गरी निषेध आदेशको अवधि बढाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार जिल्लामा निषेध आदेशको अवधि असार २३ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गते बसेको बैठकले असार २३ गतेसम्म निषेध आदेशको अवधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले एक सूचनामार्फत जानकारी दिनुभएको छ ।

लुम्बिनी प्रदेश

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको असार १४ गते बसेको बैठकले असार २१ गते राति १२ बजेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो । यस अवधिमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसलहरू सञ्चालन गर्न पाइने छ । जिल्ला भित्र निजी सवारी साधनहरू सञ्चालन गर्न र सार्वजनिक याताययातका साधनहरू सिट क्षमता भन्दा बढी यात्रु नराख्ने गरी बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

सुदूरपश्चिम प्रदेश

अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको असार १४ गते बसेको बैठकले असार २१ गतेसम्मका लागि निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताउनु भयो । यस अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ्ग पुल, मनोरञ्जनस्थल, पार्क, सैलुन, व्यूटीपार्लर, मदिरा पसल, होटल, लज, रेष्टुरेन्ट, बार, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय र शैक्षिक संस्था बन्द रहने र स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर पसलहरू बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न सकिने, जिल्ला बाहिर चल्ने निजी तथा सार्वजनिक सवारी साधनमा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्र राखेर पास लिएर सञ्चालन गर्न पाउने, सेवा प्रदायक सरकारी कार्यालयहरूले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आन्तरिक कार्यतालिका  बनाएर सेवा प्रवाह गर्न सकिने प्रमुख जिल्ला अधिकारी मल्लले बताउनु भयो । उपभोग्य वस्तुको कृतिम अभाव देखाएर मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने र अपूर्तिमा अवरोध सिर्जना गर्नेलाई कानुन बमोजिम कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार १४ गतेसम्म १२ हजार ७ सय ७२ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार १४ गते)


अनलाइन डेस्क