कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ८ गते)
असार ८ गते ३ हजार ७ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख २६ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार ८ गते परीक्षण गरिएकामध्ये ३० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार ८ गते १९ वर्ष मुनिका ४ सय ५९ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार २ सय ४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ६४ हजार ८ सय ८२ जना निको भएका छन् । असार ८ गते ४ हजार ९ सय ५४ जना निको भएका छन् भने निको हुनेको दर ९०.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार ८ गतेसम्म ८ हजार ८ सय १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ८ गते ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ५२ हजार ६ सय ४८ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, बारा, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, कास्की, गोरखा, नवलपरासी पूर्व, म्याग्दी, बागलुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
बागमती प्रदेश
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले असार ९ गतेदेखि लागु हुने गरी सातौँ पटक जिल्लामा निषेध आदेशको अवधि थप गरेको छ । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को असार ७ गते बसेको बैठकले असार १५ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेध आदेशको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रणमा नआएको कारण निषेध आदेशलाई निरन्तरता दिनु परेको प्रमुख जिल्ला अधिकारी दुलालले बताउनुभयो । जिल्लामा गत वैशाख २१ गतेबाट निषेध आदेश जारी छ । असार ८ गतेको तथ्याङ्क अनुसार जिल्लामा ९ सय ६३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
काठमाडौँ जिल्ला प्रतिनिधि विमला पौडेलका अनुसार कोभिशिल्डको पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सर्वोच्च अदालतले सरकारको नाममा असार ८ गते अन्तरिम आदेश जारी गरेको छ । सरकारले ज्येष्ठ नागरिकलाई खोप उपलब्ध नगराएको भन्दै तत्काल खोप लगाउने व्यवस्था गराउन सरकारका नाममा अर्जुनराज गिरी समेतले सर्वोच्च अदालतमा दिनुभएको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज दिन ढिला भइरहेको भन्दै खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतकाका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनले कोभिशिल्ड खोपको पहिलो डोज लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लगाउन सकिने सिफारिस गरेको थियो । यद्यपी, नेपालमा ६५ वर्षमाथिका करिब १३ लाख ५० हजार ज्येष्ठ नागरिकले पहिलो मात्रा लगाएको १२ हप्ता नाघिसक्दा पनि दोस्रो डोज लगाउन पाएका छैनन् ।
काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार जिल्लामा जारी निषेधाज्ञा असार ८ गते राती १२ बजेदेखि असार १४ गते राती १२ बजेसम्म थप गरिएको छ । जिल्ला सुरक्षा समितिको असार ७ गतेको बैठकले निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । काठमाडौँ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय भएसँगै जिल्लामा पनि खुकुलो हुने उहाँले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार भिडभाड नहुने खालका ब्यापार ब्यवसाय र कार्यलयहरू सिमित कर्मचारीको उपस्थीतिमा स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर सञ्चालन गर्ने दिने निर्णय भएको छ ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार शुक्लागण्डकी नगरपालिकामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले चार जना कर्मचारीलाई बर्खास्त गरेको छ । पोखराको निजी ल्याबसँगको सहकार्यमा अस्पताल परिसरमै सेवाग्राहीसँग चर्को शुल्क असुलेर पिसिआर परीक्षण गराउने र निजी फार्मेसीमा औषधि खरिद गर्न बाध्य पारेको आरोपमा चार जना कर्मचारीलाई अस्पताल प्रशासनले असार ८ गते बर्खास्त गरेको हो । अस्पतालमा कार्यरत फार्मासिष्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुङ्गाना, रेडियोग्राफर विधान तिमिल्सिना र सुरक्षागार्ड मदन श्रेष्ठलाई अस्पताल प्रशासनले बर्खास्त गरेको हो । उनीहरु चार जनाविरुद्ध सर्वसाधरणले जेठ १२ गते उजुरी गरेका थिए । उजुरी परेपछि पहिलो पटक दुई दिने र दोस्रो पटक २४ घण्टे समय तोकेर अस्पताल प्रशासनले स्पष्टीकरण मागेको थियो । उनीहरुले दुवै पटक दिएको स्पष्टीकरणले प्रशासन सन्तुष्ट नभएपछि १७ जेठमा निलम्बन गरी छानबिन थालिएकोमा असार ८ गते बर्खास्त गरिएको हो । छानबिनमा अस्पतालको नियम विपरीत कार्य गरेकाले करार सम्झौता भङ्ग गरी बर्खास्त गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार जिल्लामा निषेध आदेशको अवधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी)को असार ७ गते बसेको बैठकले असार ७ गते राति १२ बजेदेखि लागु हुने गरी असार १४ गतेसम्म निषेध आदेशको अवधि थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
लुम्बनी प्रदेश
अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द (डिसीएमसी)को असार ७ गते बसेको बैठकले असार १५ गते राति १२ बजेसम्म निषेध आदेशको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ घण्टा सञ्चालन रहने र नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न वस्तु तथा सेवाको खरिद तथा विक्री गर्ने पसलहरू बिहान ५ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनु भयो । शिक्षण संस्था, तालिम, सेमिनार, होटल, रेष्टुरेन्ट, सैलुन लगायत जमघट हुने कार्यमा रोक लगाएको छ । धार्मिक स्थलहरूमा नित्य पूजा बाहेक सम्पूर्ण गतिविधिमा रोक लगाइएको छ ।
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको असार ७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेध आदेश केही खुकुलो हुनेगरी असार १४ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको छ । आदेशको पालना नगर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा (४) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेश
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको असार ७ गते बसेको बैठकले असार १४ गतेसम्म निषेध आदेशको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनु भयो । कोभिङ सङ्क्रमित बिरामीलाई अस्पतालसम्म ल्याउन लैजानका लागि प्रयोग गर्दै आएका दुई ओटा एम्बुलेन्समध्ये उद्योग वाणिज्य सङ्घ जुम्लाबाट सञ्चालित एम्बुलेन्सको सम्झौता सकिएको छ । बैठकले संसद विकास कोषबाट सञ्चालित एम्बुलेन्सबाट कोभिड बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजानको लागि समस्या हुने भएकाले उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित कोभिडको एम्बुलेन्सको सम्झौता थप गर्न अनुरोध गरेको पनि प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लको अध्यक्षतामा असार ७ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोभिड–१९ सङ्क्रमण दरमा कमी आउन नसकेको भन्दै असार ८ गतेदेखि लागु हुने गरी असार १४ गतेसम्मका लागि निषेध आदेश थप गरेको छ । निषेध आदेशका क्रममा स्वास्थ्य तथा उपचार सेवा, एम्बुलेन्स, अत्यावश्यक सेवा बाहेक सवारी साधन, भेला, बैठक, मेला, पर्व, होटल, रेष्टुरेन्ट, पुस्तकालय, मनोरञ्जन स्थल, खेलकुद, सैलुन, ब्यूटिपार्लर लगायतका क्षेत्र बन्द रहने र स्वास्थ्य मापदण्डको पूर्ण पालना नगरी निषेध आदेश उल्लङ्घन गरिएको खण्डमा सङ्क्रमण रोग ऐन २०२० र प्रचलित कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार ८ गतेसम्म ९ हजार ५ सय ६१ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार ८ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…