कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ६ गते)
असार ६ गते १ हजार ४ सय २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख २१ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार ६ गते परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार ६ गते १९ वर्ष मुनिका २ सय ९ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ६ सय ७७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ५६ हजार ७ सय ८९ जना निको भएका छन् । असार ६ गते ३ हजार ४ सय ५६ जना निको भएका छन् भने निको हुनेको दर ८९.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार ६ गतेसम्म ८ हजार ७ सय २६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार ६ गते ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ५५ हजार ५ सय ३२ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, बागलुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्ला स्तरीय कोभिड–१९ व्यवस्थापन सिमितिको असार ६ गते बसेको बैठकले जिल्लामा जारी निषेध आदेश असार ६ गते राति १२ बजेदेखि अर्को आदेश नभएसम्म निरन्तरता दिएको छ । बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनिश्चितकालीन निषेध आदेश थप गर्नु भएको हो । निषेध आदेशको अवधिमा सबै प्रकारका पेशा व्यवसाय स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी भौतिक दुरी कायम गर्दै बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म सञ्चालन गर्न, असार ८ गतेदेखि कार्यालयले दिन बार तोकी टोकन प्रणाली लागु गरी दिनको ३ बजेसम्म सेवा प्रवाह गर्न, जिल्लाभर मात्र जोरबिजोर प्रणली लागु गरी निजी यातायात सञ्चालन गर्न र सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन सिमितिको असार ६ गतेको बैठकले असार १३ गते राती १२ बजेसम्म निषेध आदेश थप गर्ने गरि प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको बैठकका सहभागि नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिनु भयो । व्यक्ति व्यक्ति बीच कम्तीमा दुई मिटरको दुरी कायम गर्ने, भिडभाडजन्य कार्य नगर्न तथा भिड भाड नहुने गरी सरकारी, सार्वजनिक, नीजि कार्यालय र निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गराउने निर्णय समेत बैठकले गरेको छ ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसर गत वैशाख १६ गतेबाट एक साताका लागि काठमाडौँ उपत्यकामा जारी निषेध अदेश असार ७ गते रातिबाट एक साता थप गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको असार ६ गते बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो । अब थप गरिएको निषेध आदेशमा बैङ्क, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत भीडभाड नहुने थप व्यवसाय समय तोकेर चलाउन दिने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले टेलिफोनमार्फत जानकारी दिनुभयो । निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा चलाउन दिने पनि बैठकले निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने निषेध आदेश अवधिमा चल्न नपाउने भए पनि ट्याक्सी भने सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिइने उहाँले बताउनु भयो । यसभन्दा अगाडिकै निर्णय अनुसार किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दुध, मासु र ग्यासका पसल बिहान खुल्दै आएका छन् ।
यसैबिच पत्रकारहरूलाई कोभिडविरूद्ध खोप लगाउने व्यवस्था मिलाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले असार ६ गते पत्रकारहरूको 'पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपङ्क्तिमा रही समाचार सङ्कल गर्ने पत्ररकारहरूलाई प्राथमिकता प्रदान गरी कोभिड विरूद्धको पहिलो खोप लगाएकालाई दोश्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिड विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन' अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्लामा जारी निषेध आदेश असार १६ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले असार ६ गते सूचना प्रकाशन गरी निषेध आदेशको अवधि असार ७ गतेदेखि असार १६ गतेसम्म लम्ब्याउनु भएको हो । कोभिड–१९ को जोखिमबाट बच्न भन्दै गत वैशाख २२ गतेबाट जारी निषेध आदेश पटकपटक थप गर्दै पछिल्लो पटक असार १६ गतेसम्मकोलागि लम्ब्याइएको हो । यसअघि थप गरिएको निषेध आदेश असार ७ गते राति सकिँदै थियो । असार ६ गते बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोभिड १९ को जोखिम अझै कम नभएको र समुदाय स्तरमा व्यापक फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै निषेध आदेशलाई निरन्तरता दिने निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी आचार्यले निषेध आदेशको अवधि थप गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङद बरालले बताउनुभयो ।
नवलपरासी बर्दाघाट सुस्ता पूर्व प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लामा निषेध आदेश असार ११ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले असार ६ गते सूचना जारी गर्दै जिल्ला भरी असार ७ गतेदेखि असार ११ गतेसम्म निषेध आदेश थप गरेको जानकारी दिएको छ ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यलय कास्कीले असार ६ गते साँझ आदेश जारी गर्दै असार १८ गतेसम्म निषेध आदेश थप गरेको हो । निषेध आदेशको अवधिमा सार्वजनिक सवारी साधन चल्न पाउने छैनन् भने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । त्यस्तै दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने खाद्यन्न पसल भने विहान ५ बजेदेखि मध्यान्न १२ बजेसम्म खोल्न पाइने छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार ६ गतेसम्म ८ हजार ६ सय ५ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार ६ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…