कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २ गते)

  ०७८ असार २ गते

असार २ गते २ हजार १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख १४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार २ गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार २ गते १९ वर्ष मुनिका २ सय ३७ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ६ सय ८७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ४३ हजार ५ सय २१ जना निको भएका छन् । असार २ गते ३ हजार ८२ जना निको भएका छन् भने निको हुनेको दर ८८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार २ गतेसम्म ८ हजार ५ सय ५८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार २ गते ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ६२ हजार १ सय ३७ देखाइएको छ ।

Corona Infographics 2078-03-02

मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ३१ गते साँझसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । असार १ गते र २ गते गृह मन्त्रालयले यससम्बन्धमा सूचना जारी गरेको छैन ।

लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्ला कोभिड व्यवस्थापन केन्द्रको असार २ गते बसेको बैठकले जिल्लामा एक साताको लागि निषेध आदेशको अवधि थप गरेको छ । बैठकले असार ३ गते राति १२ बजेदेखि असार १० गते राति १२ बजेसम्मको लागि निषेध आदेशको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड व्यवस्थापन समितिका जिल्ला संयोजक होमप्रसाद लुईटेलले जानकारी दिनुभयो । 

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि कोभिड–१९ नियन्त्रण गर्न ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेश सभामा आर्थिक वर्ष ०७८/७९ का लागि असार १ गते बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेका हुन् । प्रदेश सरकारले कोभिड नियन्त्रण गर्न विनियोजित रकमबाट प्रदेश अस्पताल सुर्खेतमा ५ सय, डोल्पा, हुम्ला, कालिकोट र मुगु जिल्ला अस्पतालमा ५०/५० तथा दैलेख, जाजरकोट, रूकुम पश्चिम र सल्यान अस्पतालमा १ सय/ १ सय शैया थप गरी स्तरोन्नती गरिने मन्त्री शर्माले बताउनु भयो । कोभिड नियन्त्रणका लागि विनियोजित रकमबाटै कर्णाली प्रदेशका सबै नागरिकहरूलाई निःशुल्क कोभिड विरुद्धको खोप लगाउने र प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबइमा सेन्सर सहितको हेल्प डेस्क स्थापना गरिने जानकारी पनि मन्त्री शर्माले दिनु भयो । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ३६ अरब ५४ करोड ९९ लाख ३६ हजार बजेट पारित गरेकोमा कर्णालीको समग्र स्वास्थ्य सेवा सुदृढीकरणका लागि २ अरब ९१ करोड वजेट  विनियोजन गरिएको छ ।

हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार हेलिकोप्टर नआउदा कोभिड सङ्क्रमित ५२ वर्षीय पुरुषको असार १ गते मृत्यु भएको छ । तीन दिन अघि सङ्क्रमित भएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने भनेर हेलिकोप्टर कुर्दाकुर्दै ज्यान गएको जिल्ला अस्पताल हुम्लाका प्रमुख प्रेम सिंहले बताउनु भयो । कोभिड पोजेटिभ भएर तीन दिनदेखि इलाका स्वास्थ्य कार्यालय मिमिमा उपचार गराइरहेका उनको अक्सिजन लेभल ६० मा झरेर श्वास फेर्न गाह्रो भई तत्काल उद्धारको लागि हेलिकोप्टरको व्यवस्था गरिए पनि खराब मौसमका कारण काठमाडौँबाट हेलिकोप्टर उड्न नसक्दा असार १ गते मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनु भयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार २ गतेसम्म ६ हजार ५ सय ९१ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार २ गते) 


अनलाइन डेस्क