कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १ गते)

असार १ गते १ हजार ६ सय ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख १२ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार १ गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । असार १ गते १९ वर्ष मुनिका २ सय ७ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ४ सय ४९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ४० हजार ४ सय ३९ जना निको भएका छन् । असार १ गते ४ हजार १ सय ८७ जना निको भएका छन् भने निको हुनेको दर ८८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । असार १ गतेसम्म ८ हजार ५ सय ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । असार १ गते ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ६३ हजार २ सय ५७ देखाइएको छ ।

Corona Infographics 2078-03-01

मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ३१ गते साँझसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । असार १ गते गृह मन्त्रालयले यससम्बन्धमा सूचना जारी गरेको छैन ।

प्रदेश १

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा जारी निषेध आदेशको समय थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गतेसम्मका लागि निषेध आदेशको समय थप गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भयो ।  निषेध आदेशको समय थप गरिएसँगै पसल सञ्चालनको समयसीमा भने हेरफेर गरिएको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खाद्यान्न, फलफूल, तरकारी तथा स्टेशनरीजस्ता पसल सञ्चालनको अनुमति दिएकोमा अब बिहान ५ बजेदेखि ११ बजेसम्म पसल सञ्चालनको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

बागमती प्रदेश

रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जिल्लास्तरीय कोडिभ–१९ सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको असार १ गते बसेको बैठकले जिल्लामा जारी निषेध आदेश असार ९ गतेसम्म थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जानकारी दिनुभयो । जिल्लामा कोभिड सङ्क्रमण जोखिम अझै कायम रहेकाले निषेध आदेश थप गरिएको उहाँले बताउनुभयो । जिल्लामा पुस्तक पसलसहित अत्यावश्यक सामग्री पाइने पसल स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णपालना गरी बिहान ५ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी नेपालको समुदायस्तरमा समेत फैलिँदै जाँदा अपाङ्गता भएका व्यक्ति, आप्रवासी नेपाली श्रमिकलगायतको स्वास्थ्य उपचार पहुँच सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आदिवासी जनजाति, आर्थिकरुपमा गरीब, विपन्न तथा असहाय व्यक्तिले समयमै स्वास्थ्य उपचार प्राप्त गर्न नसकेको साथै अन्य आधारभूत मानव अधिकारको उपभोगबाट वञ्चित हुन पुगेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगद्वारा असार १ गते जारी विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपश्चात अपाङ्गता भएका व्यत्ति,m आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकहरु लगायतको मानव अधिकार उपभोगको अवस्था सम्बन्धमा आयोगको उच्चस्तरीय, केन्द्रीय तथा प्रदेश कार्यालयहरूबाट नियमित अनुगमन गरिरहेको आयोगले जनाएको छ ।

नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले छैठौँ पटक जिल्लामा निषेध आदेश जारी गरेको छ । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को जेठ ३१ गते बसेको बैठकले असार ८ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । नुवाकोटमा वैशाख २१ गतेबाट निषेध आदेश जारी छ । यस अघिको निषेध आदेश असार १ गते रातिदेखि सकिँदै छ ।

गण्डकी प्रदेश

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा एक साता निषेध आदेश थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको जेठ ३१ गते बसेको बैठकले जेठ ३१ गते राति १२ बजेदेखि असार ७ गते राति १२ बजेसम्म लागु हुने गरी निषेध आदेश थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोभिडको जोखिम अझै कायम रहेकाले निषेध आदेशको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङमा निषेध आदेशको अवधि एक साता थप गरिएको छ । जेठ ३० गते बसेको बैठकले जिल्लाका तीन स्थानीय तहमा जारी गरेको निषेध आदेश जेठ ३१ गते राति १२ बजेदेखि असार ७ गते राति १२ बजेसम्म थप गरेको छ ।

लुम्बिनी प्रदेश

बाँके जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको जेठ ३१ गते बसेको बैठकको निर्णयले असार ७ गतेसम्म निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा कोभिड सङ्क्रमणको दर घटेपनि अझै जोखिम कायम रहेकाले निषेध आदेश थप गर्ने निर्णय गरेको हो । यसैगरी,  दैनिक उपभोग्य वस्तुलगायत पसल व्यवसाय सञ्चालनका लागि बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म समयावधि तोकिएको छ ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार बुद्धभुमि नगरपालिकाले कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च बापत  २० हजार रुपियाँका दरले सहयोग प्रदान गरेको छ । मृतकका परिवारलाई वडाको सिफारिसको आधारमा सहयोग प्रदान गरिएको बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले बताउनु भयो । नगरपालिकामा कोभिडबाट ३१ जनाको मृत्यु भएको छ ।  नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग गर्ने कार्यपालिकाको निर्णयको आधारमा जेठ ३१ गतेसम्म ६ जना मृतकका परिवारले नगरपालिकाबाट सहयोग रकम बुझेको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनु भयो ।

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको असार १ गतेको बैठकले निषेध आदेशको अवधि असार ८ गतेसम्म थप गरेको छ । बैठकले व्यवसाय सञ्चालनका लागि  बिहान ६ बजेदेखि १० बजेसम्म, सरकारी कार्यालय बिहान १० देखि दिउँसो १ बजेसम्म आंशिकरूपमा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो ।

कर्णाली प्रदेश

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३१ गते बसेको बैठकले असार १० गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । प्रजिअ रिजालका अनुसार होटेल, रेष्टुरेण्ट तथा खाजा घर बाहेक सबै पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म खुला गर्ने र अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा भने पूर्ववत रूपमा झैँ रोक लगाइएको छ ।

रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार जिल्ला कोभिड–१९ को सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले ०७८ असार १ गतेदेखि असार १० गते राति १२ बजे सम्मका लागि निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी गैह्रेले बताउनु भयो ।

हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता गाउँमा ज्वरो र रूघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको स्थानीय अकविर टमटाले गुनासो गर्नु भयो । सिटामोल समेत समयमै नपाउनुका साथै ज्येष्ठ नागरिक बिरामी हुँदा थप समस्या भएको र उपचार गर्न लैजान पनि गाह्रो भएको उहाँको भनाइ छ । ३० घरधुरी रहेको गाउँमा हाल करिब २५ जना स्थानीय बिरामी परेको टमटाले बताउनु भयो । गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले गल्फागाड गाउँमा बिरामी भएको खबरबारे जानकारी नआएको र खबर आएको खण्डमा स्वास्थ्यकर्मी पठाउने बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

डोटी प्रतिनिधि वाशुदेव जोशीका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३१ गते बसेको बैठकले निषेध आदेश खुकुलो गरेर असार १० गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनु भयो  । निषेध आदेशका क्रममा होटेल, लज र रेष्टुरेन्ट बाहेकका सबै पसलहरू बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने, बैङ्कहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्न सकिने, दुई पाङ्ग्रे सवारी साधनहरू जिल्ला भरी चलाउन सकिने र  अन्य नियमहरू प्हिला अनुसार नै लागु गर्ने प्रमुख जिल्ला अधिकारी खनालले बताउनु भयो ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ असार १ गतेसम्म ६ हजार २ सय ११ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ असार १ गते) 


अनलाइन डेस्क