कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३१ गते)

  ०७८ जेठ ३१ गते

जेठ ३१ गते २ हजार ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख १० हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ३१ गते परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ ३१ गते १९ वर्ष मुनिका २ सय ७२ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ४ सय ३८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ३६ हजार २ सय ५२ जना निको भएका छन् । जेठ ३१ गते ५ हजार १ सय ४७ जना निको भएका छन् भने निको हुनेको दर ८७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ ३१ गतेसम्म ८ हजार ४ सय ६५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ३१ गते ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ६५ हजार ८ सय ४ देखाइएको छ ।

Corona Infographics 2078-02-31

मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, दाङ, बाँके, रुपन्देही, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ३१ गते साँझसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका जिल्लामा जारी निषेध आदेशको समय असार ७ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३० गतेको बैठकले केही खुकुलो बनाउने निर्णय गरी निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी बताउनु भयो । असार १ गतेबाट बिहान ११ बजेसम्म बजार तथा पसल सञ्चालनका लागि समय तोकिएको छ । पुस्तक पसल र हार्डवेयर पसललाई पनि खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो । जिल्लामा गत वैशाख १८ गतेदेखि पटकपटक निषेध आदेश जारी हुँदै आएको छ ।

सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय थप गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम न्यूनीकरणका लागि कोभिड सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३१ गतेको बैठकले असार ७ गतेसम्मका लागि निषेध आदेशको समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले बताउनु भयो । जिल्लामा वैशाख २६ गतेदेखि निषेध आदेश जारी हुँदै आएको छ । निषेध आदेशको समयमा बिहान ९ बजेसम्म खाद्यान्नका पसलहरू सञ्चालन गर्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा जारी निषेध आदेशको समय थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३१ गतेको बैठकले असार ८ गतेसम्म निषेध आदेशको समय थप गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो । जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेकाले गत वैशाख २६ गते निषेध आदेशलाई निरन्तरता दिइँदै आइएको छ । निषेध आदेशको समयमा अत्यावश्यक सेवाबाहेकका अन्य सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरिएको छ । खाद्यान्न तथा तरकारी पसलहरू बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय थप गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जारी निषेध आदेशको समय असार ७ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनु भयो । कोभिड सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३१ गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राईले बताउनु भयो । बैठकले खाद्यान्नलगायतका पसलहरू बिहान ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार जिल्लामा जारी निषेध आदेशको समय थप गरिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि असार ७ गतेसम्म निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनु भयो । कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्थाको विश्लेषण गरी बैङ्क तथा वित्तीय संस्थाहरूलाई हप्ताको चार दिन र खाद्यान्नलगायतका पसलहरू बिहान ५ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जारी निषेध आदेशको समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड व्यवस्थापन समितिको जेठ ३१ गतेको बैठकले असार ७ गतेसम्म निषेध आदेशको समय थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भयो । निषेध आदेशको समयमा बिहान ६ बजेदेखि १० बजेसम्म कृषि, खाद्यान्न, हार्डवेयर, बीउविजन, वर्कशपलाई सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताउनु भयो ।

प्रदेश २

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार डिसिएमसी सिरहाको जेठ ३० गते बसेको बैठकले जेठ ३१ गते राति १२ बजेदेखि असार १५ गते राति १२ बजेसम्म १५ दिनका लागि निषेध आदेश थप गरेको छ । कोभिड–१९ को लहर सुरु भएपछि वैशाख ३१ गतेदेखि जेठ ३१ गतेसम्म लागु हुने गरी निषेध आदेश लागु भएको थियो । जिल्लामा कोभिड सङ्क्रमितको सङ्ख्या थपिँदै आएको र मृत्यु दर पनि बढेकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला भर निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गते एक सूचना जारी गरी निषेध आदेशको अवधि थप गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जेठ ३१ गते राति १२ बजेदेखि लागु हुने गरी असार ७ गते राति १२ बजेसम्मका लागि  जिल्लाभर निषेध आदेश थप गरीएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकले जेठ ३१ गते राती १२ बजे देखि असार ७ गते राती १२ बजे सम्म लागु हुने गरी निषेध आदेश थप गरेको छ । कोभिड सङ्क्रमण र मृत्युदर बढ्दो क्रममा रहेकोले निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनु भयो ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३१ गते बसेको बैठकले आगामी असार ७ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको दर कम भएपनि जोखिमको अवस्थामा अहिले रहेको कारण निषेध आदेशलाई निरन्तरता दिने निर्णय भएको निमित प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनु भयो । सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लाभर निषेध आदेशको समय अवधि थपिएको न्यौपानेले जानकारी दिनु भयो ।

धनुषा जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३१ गते बसेको बैठकले आगामी असार ७ गते राति १२ बजेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरेको छ । कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ को उपदफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लाभर यसअघि लागु गरिएको निषेध आदेश थप गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

बागमती प्रदेश

ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार स्वास्थ्य परीक्षणको दायरामा कमी आएको एवम् नागरिकको स्वास्थ्य जोखिममा पर्न गएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले गत वर्षदेखि नै कोभिड–१९ तथा यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गर्दै आएको प्रयासका सन्दर्भमा मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरी नेपाल सरकारलाई सिफारिस गर्दै आइरहेको जेठ ३१ गते जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, हाल नेपाल सरकारले प्रदान गर्दै आएको कोभिड–१९ विरुद्धको खोप लगाउने क्रममा खोप केन्द्रहरुको व्यवस्थापन हुन नसक्दा सङ्क्रमण झनै फैलिने सम्भावना देखिएको आयोगले जनाएको छ ।  यसै सन्दर्भमा आयोगले कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापनका लागि ध्यानाकर्षण गराउँदै जेठ ३१ गते नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको आयोगले जनाएको छ ।

काभ्रेपलाञ्चोक प्रतिनिधि हिरामान लामाका अनुसार काभ्रे जिल्लामा जारी रहेको निषेध आदेशको अवधि एक साताका लागि थप गरिएको छ । काभ्रेमा जेठ ३१ गते राति १२ बजेदेखि असार ७ गते राति १२ बजेसम्म निषेध आदेशको अवधि थप गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८, सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी जिल्लामा निषेध आदेशको अवधि थप गरिएको यो छैठौं पटक हो ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, दोलखाको जेठ ३१ गते बसेको बैठकले जेठ ३१ गते राति १२ बजेदेखि असार ७ गते राति १२ बजेसम्म जिल्ला भर निषेध आदेशको अवधि थप गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले बैठकको निर्णय सार्वजनिक गर्दै अति आवश्यकीय खाद्यान्न लगायतका पसल बिहान ९ बजेसम्म, निर्माण सामग्रीका पसल बिहान १० बजेदेखि १ बजे सम्म खुल्ला गर्ने निर्णय गरिएको छ ।

रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दैनिक रूपमा बढ्दै आएकाले निषेध आदेशलाई एक साताका लागि निरन्तरता दिने निर्णय गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सिफरिसमा यसअघि जारी गरेको निषेध आदेशको समय जेठ ३१ गतेबाट सकिँदै छ । जिल्लाभर लागु हुने गरी निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले बताउनुभयो ।

धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार कोभिड महामारी नियन्त्रण गर्नका लागि जारी निषेध आदेशको समय थप गरि असार ८ गतेसम्मलाई बढाइएको छ । जिल्ला प्रशाशन कार्यालयले पछिल्लो पटक जेठ २१ गतेदेखि जेठ मसान्तसम्मका लागि निषेध आदेश जारी गरेको थियो । कोभिड–१९ को सङ्क्रमण नियन्त्रण र रोकथामका लागि जेठ ३१ गते बसेको कोभिड व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राति १२ बजे देखि असार ८ गते राति १२ बजेसम्म निषेध आदेश कायम राख्ने निर्णय गरेको हो । खाद्यान्न, तरकारी, फलफुल, दुधजन्य पदार्थ र फ्रेस हाउसहरु, निर्माण सामाग्रीका पसलहरु, विद्युतका सामाग्रि पसलहरु, पाठ्यपुस्तक तथा स्टेशनरी पसलहरु  बिहान ६ बजेदेखि ११ बजेसम्म  सञ्चालन गर्ने गरी निषेध आदेश आदेशलाई खुकुलो बनाइएको छ । वैशाख २१ गतेबाट धादिङमा निषेध आदेश जारी छ ।

गण्डकी प्रदेश

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले असार ७ गतेसम्म निषेध आदेशको अवधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को जेठ ३० गतेको निर्णयका आधारमा सङ्क्रामक रोग ऐन बमोजिम निषेध आदेश जेठ ३१ गते राति १२ बजेदेखि असार ७ गते राति १२ बजेसम्म थप गर्नुभएको हो ।

स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार स्याङ्जामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको जेठ ३० गते बसेको बैठकले निषेध आदेश जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेठ ३१ गते राति १२ बजेदेखि असार ७ गतेसम्म जिल्लाभर निषेध आदेश थप गरेको छ ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार जिल्लामा थप सात दिन निषेध आदेशको अवधि थप भएको छ । जेठ ३१ गते भर्चुअल माध्यमबाट बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आउँदो असार ७ गतेसम्म निषेध आदेशको अवधि थप गर्ने निर्णय गरेको हो । यसअघि लगाइएको निषेध आदेश जेठ ३१ गते राति १२ बजेसम्म रहेकोले निषेध आदेशको अवधि थप गर्ने डिसिसिएमीको बैठकमा निर्णय भएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश

अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३१ गते बसेको बैठकले असार ७ गते राति १२ बजेसम्मलाई निषेध आदेश थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैठकले अत्यावश्यक काम बाहेकका कामका लागि बाहिर निस्कन रोक लगाएको छ । विद्यालय, क्याम्पस, तालिम, सेमिनार, गोष्ठी, होटल रेष्टुरेण्ट, सैलुन, जिम, व्युटीपार्लर, महोत्सव, खेलकुद सञ्चालनमा रोक लगाएको छ । बैङ्क तथा वित्तीय संस्था स्वास्थ्य मापदण्ड अपनाएर न्यूनतम कर्मचारीको उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्यूठान प्रतिनिधि रबिन्द्र पाण्डेका अनुसार जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३१ गते बसेको बैठकले असार १० गतेसम्म निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो ।स्थानीय तहहरूमा विकास निर्माणका काम, किसानहरूले खेतीको काम गर्दा स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न समेत बैठकले आग्रह गरेको छ । बिहान ७ बजेदेखि १० बजे र दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म पसलहरू सञ्चालनमा आउने र बैङ्क तथा वित्तीय संस्था दैनिक सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

कर्णाली प्रदेश

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन समितिको जेठ ३१ गतेको बैठकले असार ७ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो । यस्तै जिल्ला बाहिरका व्यक्तिको सङ्क्रमणका कारण मृत्यु भएमा दानसाँघुमा दाहसंस्कार गर्ने र गुठीचौर, पातारासी, हिमा, कनकासुन्दरी, सिंजा गाउँपालिकाका व्यक्तिको सङ्क्रमणबाट मृत्यु भएमा चन्दननाथ नगरपालिकाको दानसाँघुदेखि तिला गाउँपालिकाको रारालिहीसम्म दाहसंस्कार गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थापाले बताउन भयो ।

दैलेख प्रतिनिधि अमर सुनारका अनुसार जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन समितिको जेठ ३१ गतेको बैठकले असार १ गतेदेखि असार १० गतेसम्मका लागि तोकिएको निषेध आदेशमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरू किनबेच गर्न दिउँसो साढे १२ बजेसम्म सञ्चालन गर्ने, बैङ्क वित्तीय संस्थाहरू र गैससहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताउनु भयो । निषेध आदेशको अवधिमा अत्यावश्यक कामले हिड्नु पर्नेहरूको औचित्य पुष्टि गरेर सार्वजनिक यातायात साधनहरूलाई आवागमन गर्न दिने र निश्चित स्थानमा गरिने सार्वजनिक निर्माणका कामहरू सुचारू गर्न दिने सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा जेठ ३० गते बसेको बैठकले असार १ गतेदेखि  असार ७ गते  राति १२ बजेसम्मका लागि निषेध आदेश थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो  । थप गरिएको निषेध आदेशका क्रममा अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, संस्थान बाहेक अन्य सरकारी कार्यालय र सार्वजनिक निकायको सेवा बन्द रहने, बिमा, बैंक तथा वित्तीय संस्थाको सेवा बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाइने, खाद्य सामग्रीका पसलहरू, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स, भाडा वर्तनका पसल, पुस्तक पसल, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टर बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने र सभा, सम्मेलन, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्विमिङ पुल, पार्क, सैलुन, जिमखाना भने सञ्चालन गर्न नपाइने सूचना अधिकारी जोशीले बताउनु भयो  ।

बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन समितिको जेठ ३१ गते बसेको बैठकले निषेध आदेशलाई केही खुकुलो बनाएर असार ७ गतेसम्मका लागि थप गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो । जिल्लामा पछिल्लो समय कोभिड सङ्क्रमितहरूको सङ्ख्या न्यून हुँदै आएकाले निषेध आदेश खुकुलो पार्दै जाने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो । निषेध आदेशका क्रममा अत्यावश्यक सामग्रीको बिक्री, तरकारी, खाद्यान्न लगायतका पसलहरू बिहान ६ बजेदेखि १२ बजेसम्म खोल्न पाइने, बैङ्क तथा वित्तिय संस्था खुला रहने अधिकारीले जानकारी दिनु भयो । जिल्लामा हालसम्म ७ सय ९१ जना कोभिड सङ्क्रमित भएकोमा १० जनाको मृत्यु भएको छ भने ५ सय २ जना निको भएका छन् ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ ३१ गतेसम्म ५ हजार ३ सय ३५ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३१ गते)
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३२ गते)

अनलाइन डेस्क