कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३० गते)
जेठ ३० गते १ हजार ६ सय ९४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ८ हजार ४ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ३० गते परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ ३० गते १९ वर्ष मुनिका २ सय १९ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ५ सय १७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ३१ हजार १ सय ५ जना निको भएका छन् । जेठ ३० गते ३ हजार ९ सय ९४ जना निको भएका छन् भने निको हुनेको दर ८७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ ३० गतेसम्म ८ हजार ४ सय १२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ ३० गते ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ६८ हजार ९ सय ५५ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ ३० गते बिहानसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
प्रदेश १
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासनले जारी गरेको निषेध आदेशको समय थप गरिएको छ । जेठ ३१ गतेदेखि असार ७ गतेसम्मका लागि निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भएको छ । निषेध आदेशको समयमा सामाजिक दुरी कायम गरी बिहान ६ बजेदेखि १२ बजेसम्म पसल, दिउँसो २ बजेदेखि बैङ्क सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भएको छ । कोभिड–१९ को जोखिम बढेकाले जिल्ला प्रशासन कार्यालयले वैशाख २० गतेदेखि निषेध आदेश जारी गर्दै आएको छ ।
इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार जिल्लामा असार ७ गते सम्मका लागि निषेध आदेशको समय थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको जेठ ३० गतेको बैठकले निषेध आदेशको समय थप गर्ने निर्णय गरेको हो । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले वैशाख २८ गतेदेखि निषेध आदेश जारी गर्दै आएको छ ।
प्रदेश २
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को जेठ ३० गते बसेको बैठकले असार ६ गतेसम्मका लागि निषेध आदेश अवधि थप गरेको छ । वैशाख १६ गतेदेखि जिल्लामा निषेध आदेश जारी छ । छैठौँ पटक निषेध आदेशको अवधि थप गर्नका लागि प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिश गरिएको डिसिसिएमसीका सदस्य एवम् नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिनु भयो । कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशको दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकार प्रयोग गरी जिल्लाभर जेठ ३० गते राति १२ बजेदेखि असार ६ गते राति १२ बजेसम्म लागु हुने गरी निषेध आदेशलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जारी गर्नु भएको आदेशमा उल्लेख छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकले जिल्लामा निषेध आदेश थप गर्ने निर्णय गरेको छ । कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० साथै स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी जेठ ३० गते राति १२ बजेदेखि असार ६ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी यसअघि जारी निषेध आदेशलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।
बागमती प्रदेश
काठमाडौँ प्रतिनिधि बिमला पौडेलका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेध आदेश एक साता थप्ने निर्णय गरेको छ । जेठ ३० गते बसेको बैठकले कोभिडको सङ्क्रमण दर घटेपनि जोखिम कायमै रहेको भन्दै निषेध आदेशको अवधि एक साता थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले इन्सेक प्रतिनीधिलाई टेलिफोनमार्फत जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेध आदेश थप गर्ने निर्णय गर्दै ढाँचा पनि परिवर्तन गरेका छन् । नयाँ निर्णय अनुसार होटल रेष्टुरेण्टले अब ‘टेक अवे’ सेवा सुरू गर्न पाउने भएका छन् । अनलाइनमार्फत अर्डर लिएर बिहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । वैशाख १६ गतेबाट जारी निषेध आदेशलाई निरन्तरता दिँदै जेठ १४ गतेबाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ गतेबाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोर जेठ २१ गतेबाट पुनः खोल्न दिइएको थियो । पछिल्लोपटक थप गरिएको निषेध आदेशको अवधि जेठ ३१ गते राति १२ पछि सकिँदैछ ।
भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक साता निषेध आदेश लम्ब्याउने निर्णय गरेको छ । कोभिड–१९ को महामारी नियन्त्रण गर्न वैशाख १६ गतेदेखि जारी गरिएको निषेध आदेश आगामी एक साताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले जानकारी दिनुभयो । कोभिडको सङ्क्रमण दर घट्दै आएकाले निषेध आदेशमा प्रतिबन्ध गरिएका क्षेत्रहरू विस्तारै खुलाउने नीति लिएको बताउदै उहाँले तरकारी तथा खाद्यान्न पसलहरू अबदेखि बिहान ११ बजेसम्म खोल्न दिने, शैक्षिक सत्रलाई मध्यनजर गर्दै पुस्तक पसलहरू खोल्न दिने, विकास निर्माणका काममा हुने सामग्री ढुवानीलाई सहज बनाउने, अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने, कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने, विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्कने व्यक्तिलाई सहजीकरण गर्ने निर्णय गरिएको प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार मकवानपुरमा वैशाख १९ गतेदेखि जारी गरिएको निषेध आदेश असार ७ गते सम्मलाई लम्बिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको जेठ ३० गते बसेको बैठकले एक साता केही सहजताका साथ निषेध आदेश थप गर्ने निणर्य गरेको हो । पछिल्लो समय जेठ ३१ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार असार १ गतेबाट खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसलहरू बिहान १० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङमा एक साता निषेध आदेश थपिएको छ । कोभिड सङ्क्रमणको दर नघटेपछि कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएसी)को जेठ ३० गते बसेको बैठकले जेठ ३१ गतेदेखि असार ७ गतेसम्म निषेध आदेश थप्ने निर्णय गरेको हो । यस अवधिमा बैङ्क तथा वित्तीय संस्था सातामा चार दिन बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने जनाइएको छ । कोभिड सङ्क्रमण तीव्र रुपमा बढेपछि गत वैशाख २१ गतेदेखि निषेध आदेश जारी भएको हो । पछिल्लो पटक जेठ २२ गतेदेखि थपिएको निषेध आदेश जेठ ३१ गते राति १२ बजे सकिँदै छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार जिल्लामा जारी निषेध आदेश असार ७ गतेसम्म थप भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३० गते बसेको बैठकले निषेध आदेश असार ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्द बरालले बताउनुभयो । पछिल्लो पटक थप भएको निषेध आदेश जेठ ३१ गते राती १२ बजे सकिँदै छ । तनहुँमा वैशाख २२ गतेबाट निषेध आदेश जारी गरिएको थियो । यसअघि खाद्यान्न र तरकारी पसल खोल्ने अवधि बिहान ९ बजेसम्म रहेकोमा अब भने बिहान १० बजेसम्म र बैङ्क तथा वित्तीय संस्था दिउँसो १ बजेसम्म खोल्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।
लुम्बिनी प्रदेश
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको जेठ ३० गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेध आदेशलाई केही खुकुलो हुने गरी असार ७ गते राति १२ बजेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छ । निषेध आदेशको पालना नगर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा (४) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३० गते बसेको बैठकले असार १० गतेसम्म निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो । निषेध आदेशका क्रममा बजार बिहान ६ बजेदेखि १० बजेसम्म, बैंक तथा वित्तीय संस्थाहरू बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म र खाद्यान्न लगायतका सम्पूर्ण पसलहरू बिहान १० बजेसम्म जनस्वास्थ्यका मापदण्डहरू पालना गरी सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । हालसम्म जिल्लामा कोभिड सङ्क्रमणका कारण तीन जना महिला सहित ११ जनाको मृत्यु भएको छ । त्यसैगरी, भेरोसेल खोप लगाउन छुटेका ५५ वर्ष माथिका नागरिकहरूको तीन दिन भित्र तथ्याङ्क सङ्कलन गरी स्वास्थ्य कार्यालयलाई बुझाउन कोभिड सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहलाई निर्देशन दिएको र भेरोसेल खोप लगाउन छुटेका व्यक्तिहरूलाई पुनः खोप लगाइने जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो ।
बैतडी प्रतिनिधि नरिदत्त बडुका अनुसार जिल्ला कोडिभ–१९ सङ्कट व्यवस्थापन केन्द्रको जेठ ३० गते बसेको बैठकले कोभिड सङ्क्रमण दर नियन्त्रण नभएको भन्दै निषेध आदेश असार १५ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनु भयो । निषेध आदेशका क्रममा बैंक तथा वित्तीय संस्थाहरू दिउँसो १ बजेसम्म, खाद्यान्न, फलफुल तथा तरकारी, निर्माण सामग्रीका पसल, कपडा लगायतका पसलहरू व्यापारीको एन्टिजीन विधिबाट परीक्षण गरेपछि मात्रै दिउँसो १२ बजेसम्म खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोभिड सङ्क्रमण दर नघटेको भन्दै जिल्ला प्रशासन कार्यालय, अछामले असार ७ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताउनु भयो । स्वास्थ्य तथा उपचार सेवा, एम्बुलेन्स, अत्यावश्यक सेवा बाहेकका सार्वजनिक सेवा सञ्चालनमा बन्देज गरिएको, खाद्यान्नका पसल बिहान ५ बजेबाट बिहान १० बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न सकिने र निषेध आदेश उल्लङ्घन गर्ने, तोकिएका अत्यावश्यक सेवा लिने क्रममा स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएमा सङ्क्रमण रोग ऐन २०२० र प्रचलित अन्य कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मल्ले बताउनु भयो । जिल्लामा हालसम्म कोभिड सङ्क्रमण पुष्टि भएका ४ हजार १ सय ५८ जना मध्येमा २३ जनाको मृत्यु भएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ ३० गतेसम्म ५ हजार ६२ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ ३० गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती
सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन…
बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद…