कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २७ गते)
जेठ २७ गते २ हजार ८ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख १ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ २७ गते परीक्षण गरिएकामध्ये २९ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ २७ गते १९ वर्ष मुनिका ३ सय ६६ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ९ सय १ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख १५ हजार ५ सय ९१ जना निको भएका छन् । जेठ २७ गते ५ हजार २ सय ९३ जना निको भएका छन् भने निको हुनेको दर ८५.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ २७ गतेसम्म ८ हजार २ सय ३८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २७ गते ५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ७७ हजार ८ सय ५८ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, स्याङ्जा, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ २६ गते साँझसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ । जेठ २७ गते यससम्बन्धमा गृह मन्त्रालयले कुनै सूचना जारी गरेको छैन ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोभिड–१९ को सङक्रमण नियन्त्रणमा नआएपछि वैशाख ३१ गतेदेखि सील गरिएको कञ्चनरूप नगरपालिका क्षेत्रमा जेठ २७ गतेदेखि पुनः जेठ ३१ गतेसम्मका लागि सील गरिएको छ । जिल्लाका स्थानीय तहमध्ये कोभिड–१९ को दोस्रो लहरमा सबैभन्दा बढी सङ्क्रमित र मृत्यु भएको कञ्चनरूप नगरपालिकामा सङ्क्रमणको दरमा कमी नआएकोले सीलको अवधि थप गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले जानकारी दिनु भयो । नगर प्रमुख बसन्तकुमार मिश्रका अनुसार सर्वपक्षीय भेलाको निर्णय अनुसार नगरपालिका र वडा कार्यालयबाट सेवा प्रदान हुने स्वास्थ्य सेवाको अति आवश्यक सेवा बाहेकका सेवा बन्द गरिएको छ ।
गण्डकी प्रदेश
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिको जेठ २७ गतेको बैठकले एक साताका लागि निषेध आदेशको समय थप गर्ने निर्णय गरेको छ । निर्णय अनुसार जेठ २७ गते राति १२ बजेदेखि असार ३ गते राति १२ बजेसम्मको लागि निषेध आदेशको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी एवम् कोभिड व्यवस्थापन समितिका जिल्ला संयोजक होमप्रसाद लुईटेलले बताउनुभयो ।
लुम्बिनी प्रदेश
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार कोभिड–१९ विरूद्धको भेरोसेल खोप लक्षित उमेर समूहभन्दा फरक उमेर समूहलाई लगाइएको गुनासोबारे बुझ्न छानविन समिति गठन गरिएको छ । कोभिड विरूद्धको खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई लगाइने भएपनि लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरूलाई लगाइएको भन्दै जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरेको हो । जेठ २५ र २६ गते दाङका १० ओटै स्थानीय तहमा खोप लगाउने कार्यक्रम अनुसार जिल्लाका घोराही, तुलसीपुर उपमनपा, लमही नपा र राजपुर गाउँपालिकामा लक्षित समूह भन्दा बाहिरका व्यक्तिलाई खोप लगाएको भन्दै सामाजिक सञ्जालमा गुनासो सार्वजनिक भएपछि जिल्लाका दशवटै स्थानीय तहमा खोप अभियान प्रभावकारी भए/नभएको छानवीन गर्न जेठ २७ गते सहायक प्रमुख जिल्ला अधिकारी चिरिञ्जवी रानाको नेतृत्वमा समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी रानाको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाही सहितको टोली १० ओटै स्थानीय तहका खोप केन्द्रमा पुगेर यथार्थ बुझेर दुई दिनभित्र प्रतिवेदन बुझाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । जेठ २७ गते लमही नगरपालिकाको अमेलिया स्वास्थ्य केन्द्रमा बचेको १० भाइल खोप लमही अस्पतालमा फिर्ता पठाएपछि उक्त खोप चिनेजानेका मान्छेहरूलाई लगाइएको थियो ।
यसैगरी, घोराही उपमनपा– १४, १५, १८ मा जेठ २६ गते केही समय खोप कार्यक्रम नै स्थगित भएको तथा तुलसीपुर उपमनपाको राप्ती प्रादेशिक अस्पतालमा चिनजानको आधामा खोप दिइएको तर आफूहरु खोपका लागि सात घण्टा कुर्नु परेको खोप लगाउन राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर आएका तुलसीपुर उपमनपा–३ का ६२ वर्षीय ज्येष्ठ नागरिक शिवलाल न्यौपानेले गुनासो गर्नुभयो । खोपका लागि दबाब आएपनि लक्षित समूहकै नागरिकहरुलाई खोप दिइएको घोराही उपमनपा अन्तर्गत स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले बताउनु भयो । जिल्लाका १० ओटा स्थानीय तहका ८ हजार ज्येष्ठ नागरिकहरुलाई भेरोसेल दिने कार्यक्रम थियो । तर, खोप कार्यक्रम सकिए पनि कति जनाले खोप लगाए भन्ने एकिन तथ्याङ्क आइनसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड फोकल पर्सन कमल चन्दले बताउनु भयो ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ २७ गतेसम्म ४ हजार ८५ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ २७ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…