कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २५ गते)
जेठ २५ गते ३ हजार ८ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ९५ हजार ३ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ २५ गते परीक्षण गरिएकामध्ये ३२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । जेठ २५ गते १९ वर्ष मुनिका ४ सय ४३ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार ६५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ५ लाख ४ हजार ५ सय ३० जना निको भएका छन् । जेठ २५ गते ६ हजार ५ सय ७० जना निको भएका छन् भने निको हुनेको दर ८४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । जेठ २५ गतेसम्म ८ हजार ९८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २५ गते १ सय ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८२ हजार ७ सय ३६ देखाइएको छ ।
मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, कास्की, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाममा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् । गृह मन्त्रालयका अनुसार जेठ २५ गते साँझसम्म ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेध आदेश जारी गरिएको छ ।
प्रदेश २
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमण जिल्लाका विभिन्न स्थानीय तहहरुमा बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मनन् गरी कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्लाभर लागु हुने गरी निषेध आदेश जारी गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को जेठ २५ गते बसेको बैठकको निर्णय अनुसार जेठ २५ गते राति १२ बजेदेखि जेठ ३१ गते राति १२ बजेसम्म लागु हुने गरी निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले बताउनु भयो ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लामा जेठ २५ बाट सुरु भएको कोभिड-१९ विरुद्धको खोप अभियान खोप कम हुँदा प्रभावित बनेको छ । जेठ २५ गते शहिद लखन गाउँपालिकामा मात्र अभियान सञ्चालन भएको छ । ११ स्थानीय तह रहेको गोरखामा अधिकांश स्थानीय तहले खोप नै लगेका छैनन् । खोप कम हुँदा अभियान सञ्चालनमा समस्या परेको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । १ हजार ६ सय ४७ लक्षित समूह रहेको आरुघाट गाउँपालिकामा ३ सय डोज खोप आएको छ । ‘एक तिहाइलाई पनि नपुग्ने भएपछि दुविधामा पर्यौँ ।’–आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले भन्नुभयो–‘खोप थप हुन्छ कि भनेर केही समय पर्खिएका हौँ ।’ खोप कम भएपछि गोरखा नगरपालिकाले पनि अभियान सञ्चालन गर्न नसकेको जनाएको छ । झण्डै १ हजार ५ सयलाई खोप दिनुपर्नेमा ६ सय ७८ डोज खोप मात्र आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताउनुभयो । जेठ २५ गतेसम्म शहिद लखन सहित धार्चे र अजिरकोट गाउँपालिकाले मात्र खोप लागेको स्वास्थ्य कार्यालय गोरखाका खोप कोल्डचेन निरीक्षक ऋषि खत्रीले बताउनुभयो । ‘खोप कम भएपछि कसरी सञ्चालन गर्ने भनेर स्थानीय तहहरू योजना बनाउदैँ छन् ।’– उहाँले भन्नुभयो–‘६४ वर्ष उमेर समूहबाट सुरु गरेर ६३, ६२ उमेर समूहलाई क्रमश दिने गरी योजना अघि बढेको छ ।’ खत्रीका अनुसार गोरखामा ६२ देखि ६४ वर्ष उमेर समूहका ४ हजार ८७ जना छन् । तर ३ हजार ४ सय ६१ डोज खोप मात्र आएको उहाँको भनाइ छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार भीरकोट नगर अस्पतालले जेठ २४ गतेदेखि अक्सिजन सहितको सेवा सुरु गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र भीरकोट नगरपालिकाको साझेदारीमा अक्सिजन प्लान्ट निर्माण गरी जेठ २४ गतेदेखि भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरिएको छ । महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलोपटक मिनि अक्सिजन प्लान्ट निर्माण गरेको हो । भीरकोटले जिल्लामै पहिलो पटक र आविष्कार केन्द्रले नेपालमै पहिलो पटक यो प्रविधिबाट अक्सिजन प्लान्ट स्थापना गरेको हो । कोभिड-१९ को महामारी फैलिएर र अक्सिजनको अभाव भइरहेको बेला आविष्कार केन्द्रले अक्सिजन उत्पादन गरी एकै पटक १२ ओटा बेडमा पुग्ने व्यवस्था मिलाएको नगर प्रमुख छाँयाराम खनालले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश
दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको जेठ २५ गतेको बैठकले असार १ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो । बैठकले निषेध आदेशलाई केही खुकुलो गरेको छ । बैंक तथा वित्तिय संस्थाहरूलाई दैनिक बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ भने होटल, रेष्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेकका अन्य सबै पसलहरू बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कोभिड– १९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको जेठ २४ गते बसेको बैठकले जेठ ३१ गतेसम्मका लागि निषेध आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । निषेध आदेश थप गरिएको अवधिमा विकास निर्माणका कार्यहरूमा खुकुलो बनाउने, सातामा तीन दिन (आइतबार, मङ्गलबार र विहीबार) खाद्यान्न पसल र तरकारी तथा दुधजन्य पसलहरू दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । पछिल्लो समयमा जिल्लामा कोभिडको सङ्क्रमण र मृत्युदर भने घट्दै गएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ जेठ २५ गतेसम्म ३ हजार ४ सय ४८ जनामा कोभिड-१९ पुष्टि भएको जनाएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ जेठ २५ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…